१८ असार २०८१ मंगलबार
image/svg+xml
खेल

‘टेस्ट राष्ट्रविरुद्धको अनुभव सम्झनलायक’

जिम्बाब्वेको विश्वकप छनोटबाट फर्किएको नेपाली क्रिकेट टोली केही दिन विश्राम गर्न नपाउँदै एसिसी इमर्जिङ टिम्स एसिया कपको तयारीमा जुट्दै छ। आगामी जुलाई १४ मा पाकिस्तान ‘ए’विरुद्धको खेलसँगै नेपालले एसिया कपको यात्रा थाल्नेछ। त्यसका लागि नेपाली टोली २÷३ दिन भित्र नै एसिसी इमर्जिङ टिम्स एसिया कप खेल्न श्रीलंका जाने तयारीमा छ। नेपाल क्रिकेट संघ (क्यान) का क्रिकेटिङ म्यानेजर विनोद दासले केही दिनमा नै नेपाली टोली श्रीलंका जाने जानकारी दिए। ‘उहाँहरू अहिले पनि क्याम्पमै हुनुहुन्छ। लगातार प्रतियोगिता खेलिरहेकाले एसिया कपअगाडि कुनै अभ्यास खेलहरू राखिएको छैन,’ उनले भने।

एसिया कपका लागि शुक्रबार नै क्यानले रोहित पौडेलको कप्तानी १६ सदस्यीय नेपाली टोली घोषणा गरेको छ। उक्त टोलीमा अनुभवी बलर सन्दीप र अलराउन्डर दीपेन्द्रसिंह ऐरी छैनन्। विश्वकप छनोटबाट स्वदेश फर्कने क्रममा शुक्रबार नै कप्तान रोहितले पत्रकारसँगको कुराकानीमा सन्दीप र दीपेन्द्र टोलीमा नहुने बताएका थिए। उनीहरू क्यानडामा जुलाई २० देखि सुरु हुने फ्रेन्चाइज लिग ग्लोबल ट्वान्टी–२० खेल्ने भएकाले टोलीमा समावेश नभएका हुन्। यी अनुभवी खेलाडीबिना नै नेपालले एसिया कपमा भारत ‘ए’ र पाकिस्तान ‘ए’ जस्ता बलिया राष्ट्रसँग खेल्नेछ। नेपालको समूह ‘बी’ मा युएई पनि छ।

विश्वकप छनोटपछि नेपालका लागि यो दोस्रो ठूलो अवसर हो। विश्वकपमा जस्तो सिनियर टोलीसँग खेल्न नपाए पनि एसियाका सहभागी टेस्ट राष्ट्रका ‘ए’टोलीविरुद्ध राम्रो गर्न सकेमा नेपालका लागि धेरै अवसरहरू बाटो खुल्न सक्छन्। नेपाली टोलीका कप्तान रोहितले नै नेपाली टोलीले धेरै म्याच एक्सपोजर पाएमा विश्वकप खेल्ने क्षमता राख्ने उल्लेख गरेका थिए। एसिया कप नेपालका लागि त्यो माध्यम बन्न सक्छ। विश्वकप क्रिकेटमा छनोट हुने महŒवांकाक्षी सपनासहित जिम्बाब्वे गएको नेपालका लागि यादगार बन्न सकेन। नेपालको यात्रा आठौं स्थानमा नै सीमित रह्यो।

दुई पटकको विश्वविजेता वेस्ट इन्डिज, टेस्ट राष्ट्र जिम्बाब्वे र एसोसिएट टोली अमेरिका र नेदरल्यान्ड्स रहेको समूहबाट नेपाल सुपर सिक्सकै यात्रा तय गर्न सफल भएन। त्यो समूहमा अमेरिकाबाहेक टोलीसँग नेपाल निराश बन्न बाध्य भयो। यद्यपि, नेपाली क्रिकेट टोलीका प्रशिक्षक मोन्टी देसाईले विश्वकपमा छनोट हुन नसके पनि केही खेलाडीको प्रदर्शनले सकारात्मक सन्देश दिएको बताएका छन्। छनोट खेलेर शुक्रबार स्वदेश फर्र्किएको टोलीका प्रशिक्षक देसाईले लक्ष्य प्राप्ति नभए पनि केही खेलाडीहरूको प्रदर्शन सम्झनलायक रहेको उल्लेख गरेका हुन्।

‘छनोटका क्रममा केही सम्झनलायक प्रदर्शन भए। जिम्बाब्वेसँग ओपनिङ साझेदारी निकै राम्रो रह्यो। त्यसपछि करण केसीले अमेरिकाविरुद्ध र ललित राजवंशीले वेस्ट इन्डिजविरुद्ध गरेको बलिङलाई हाइलाइटका रूपमा लिन सक्छौं। गुल्सन झा र सन्दीप लामिछानेले पनि आयरल्यान्डविरुद्ध निकै राम्रो प्रदर्शन गरे। त्यो खेलमा सन्दीपले बलिङमा पनि राम्रो प्रदर्शन गरे,’ प्रशिक्षक देसाईले भने, ‘नतिजा सोचेअनुरूप आएन र सुपर सिक्समा पुग्न सकेनौं। यद्यपि, धेरै सकारात्मक पक्षहरू रहे। यसले गर्दा आगामी दिनमा सुखद नतिजा आउने सक्छन्।’

कहिलेकाहीँ योजना बनाइरहँदा सोचेअनुरूप नतिजा नआउने पनि उनको भनाइ थियो। उनले भनेजस्तै ती खेलाडीको प्रदर्शन एसिया कपमा पनि राम्रो हुन सके आइसिसी र एसियाका आगामी प्रतियोगितामा नेपाललाई थप आत्मविश्वासी बनाउनेछ। आइसिसी विश्वकप लिग–२ को अन्तिम १२ खेलमा ११ जित निकाल्दै विश्वकप छनोट यात्रा तय गरेको नेपालको जादु जिम्बाब्वेमा भने चल्न सकेन। भारतमा हुने विश्वकपमा छनोट हुने लक्ष्यसहित जिम्बाब्वे पुगेको नेपाली क्रिकेट टोली दोस्रो चरण (सुपर सिक्स) मा नै स्थान बनाउन असफल रह्यो।

सातौं स्थानका लागि भएको अन्तिम खेलमा पनि नेपाल टेस्ट राष्ट्र आयरल्यान्डसँग साँघुरो अन्तर पराजित हुन पुग्यो। यद्यपि, नेपालले समूहचरणमा अनुभवी राष्ट्र वेस्ट इन्डिज र जिम्बाब्वेसँग गरेको प्रदर्शनले भने तारिफ बटुल्यो। प्रशिक्षक देसाइले पनि फरक कन्डिसनमा ठूलो टोलीविरुद्ध केही खेलाडी प्रदर्शन निकै राम्रो रहेको उल्लेख गरेका छन्। यता, नेपाली क्रिकेट टोलीका कप्तान रोहित पनि छनोटमा आशाअनुरूपको नतिजा नआए पनि टेस्ट खेल्ने राष्ट्रविरुद्ध खेल्दा धेरै कुरा सिक्ने अवसर मिलेको बताउँछन्।  

खेलअगाडि टेस्ट राष्ट्र जिम्बाब्वे र वेस्ट इन्डिजले कस्तो बलिङ र ब्याटिङ गर्छन् भन्ने चासो रहे पनि उनीहरू र आफूहरूबीच अनुभवको मात्र फरक रहेको कप्तान पौडेलको बुझाइ छ। नेदरल्यान्ड्स विश्वकप छनोट हुनुले नेपालजस्तो एसोसिएट राष्ट्रलाई हामी पनि गर्न सक्छौं भन्ने प्रोत्साहन मिलेको उनको विश्वास छ। नेपालका युवा अलराउन्डर गुल्सन झाले टेस्ट राष्ट्र र आफूहरूबीच खासै फरक नरहेको उल्लेख गरे। यद्यपि, उनीहरूको खेलशैली केही अनुशासित र अनुभवी रहेको उनको भनाइ छ।  

उनीहरूसँगको खेलपछि धेरै कुरा सिक्ने अवसर मिलेको गुल्सनको विश्वास छ। विश्वकप छनोटका लागि जिम्बाब्वे पुगेको नेपाली टोलीले कुल ६ खेल खेल्दा दुई नतिजा मात्र आफ्नो पक्षमा पारेको थियो। तीनवटा टेस्ट राष्ट्र जिम्बाब्वे, वेस्ट इन्डिज र आयरल्यान्डसँग नतिजा सुम्पिएको नेपालले विश्वकपमा छनोट भएको एक मात्र एसोसिएट राष्ट्र नेदरल्यान्ड्ससँग पनि हार बेहोरेको थियो। बाँकी दुईवटा एसोसिएट राष्ट्र संयुक्त अरब इमिरेट् (युएई) र अमेरिकासँग भने नेपालले जित निकाल्यो। विश्वकप छनोटमा आशातीत प्रभाव छोड्न असफल नेपाली टोली एसिया कप पनि भने यादगार बनाउन चाहन्छ। 

प्रकाशित: २३ असार २०८० ०२:२५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App