२० आश्विन २०८१ आइतबार
image/svg+xml
खेल

पुलिसको विजयी सुरुआत

काठमाडौं- ओपनर अमित श्रेष्ठ र दिलीप नाथको उत्कृष्ट ब्याटिङको सहयोगमा नेपाल पुलिस क्लबले प्रथम प्रधानमन्त्री कप क्रिकेट प्रतियोगितामा बुधबार विजयी सुरुआत गरेको छ। घरेलु क्रिकेटको सर्वाधिक पुरस्कार राशि रहेको प्रधानमन्त्री कपमा बुधबार नेपाल पुलिसले सुदूरपश्चिमलाई ७ विकेटले हरायो।

अमित, दिलीपसँगै दीपेन्द्रसिंह ऐरीले प्रभावशाली ब्याटिङ गरेपछि पुलिसले सुदूरपश्चिमबाट पाएको १ सय ७१ रनको लक्ष्य २४.३ ओभरमा ३ विकेट गुमाउँदै हासिल गरेको थियो।

प्रतियोगिताको पहिलो दिन त्रिभुवन आर्मी क्लबले पूर्वाञ्चललाई ९ विकेटले पराजित गरेको थियो। सुरुआती खेलमा सफलता हासिल गरेका विभागीय टोली आर्मी र पुलिसले समान २ अंक जोडेका छन्। पुलिसका अमितले ७५ रन बनाए।

बुधबारको खेलमा सर्वाधिक व्यक्तिगत रन बनाएका अमितले ६३ बलको सामना गर्दै ८ चौका र ३ छक्का प्रहार गरेका थिए। २० ओभरमा अमित भीम सार्कीको बलमा किरण ठगुन्नाबाट क्याच भए।

दोस्रो विकेटको रूपमा अमित आउट हुँदा पुलिसले १ सय ३५ रन बनाएको थियो। दिलीपले ४० रन बनाए। २३औं ओभरमा विकास अग्रीबाट बोल्ड भएका दिलीपले ५० बलमा ४ चौका र १ छक्का प्रहार गरे। दीपेन्द्रसिंह ऐरीले अविजित २७ रन बनाउँदै टोलीको जित पक्का गरे। दीपेन्द्रले १९ बलमा ६ चौका प्रहार गर्दै सुदूरपश्चिममाथि जित पक्का गरे।

यसअघि कीर्तिपुर मैदानमा पुलिसका बलर सुशील कँडेल सुदूरपश्चिमका लागि चुनौतीपूर्ण खेलाडी बने। प्लेयर अफ म्याच सुशीलले सर्वाधिक ५ विकेट लिएपछि सुरुआतमा ब्याटिङ गरेको सुदूरपश्चिमले ४८.४ ओभरमा १ सय ७० रन जोड्दा अलआउट भयो। सुशीलले १० ओभरमा २१ रन खर्चे। सुशीलपछि ललित भण्डारीले पुलिसको बलिङलाई मजबुत बनाउने काम गरे। ललितले ८.४ ओभरमा २५ रन मात्र खर्चे। जारी प्रतियोगितामा ५ विकेट लिने सुशील दोस्रो खेलाडी हुन्। पूर्वाञ्चलविरुद्धको खेलमा आर्मीका सागर पुनले पनि ५ विकेट लिएका थिए।

कीर्तिपुर मैदानमा सुदूरपश्चिमको मध्यक्रमका ब्याट्सम्यानले आफ्नो जिम्मेवारी पूरा गरे। तर तल्लो क्रमका खेलाडीले भने टोलीको स्कोर बढाउन साथ दिन सकेनन्।

सुदूरपश्चिमका ओपनर एवं कप्तान सुरेन्द्र चन्द ९ रनमै आउट भएका थिए। सातौं ओभरमा चन्द आउट हुँदा सुदूरपश्चिमले २५ रन बनाएको थियो। अर्का ओपनर रोशन नेपाली पनि २१ रन जोडेर सुशीलको बलमा एलबिडब्लु आउट भए। सुदूरपश्चिमका लागि ज्ञानेन्द्र कुँवरले सर्वाधिक ४९ रन बनाए। ज्ञानेन्द्रले ८८ बलमा ५ चौका प्रहार गरे। भीम सार्कीले २८ र सन्तोष भट्टले २५ रन बनाए।

राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले आयोजना गरेको प्रतियोगितामा पाँच विकास क्षेत्र र तीन विभागीय टोली गरी ८ को सहभागिता  छ। सोमबार फाइनल हुने प्रतियोगिताको विजेताले २० लाख र उपविजेताले १० लाख रुपैयाँ पाउनेछ। राखेपले प्रतियोगितालाई आइसिसी विश्व क्रिकेट लिग च्याम्पियनसिपअन्तर्गत हङकङविरुद्ध हुने खेलका लागि खेलाडी छनोटको रूपमा लिएको बताएको छ।

लिग कम नकआउट प्रणालीमा भइरहेको प्रतियोगिताको समूह ‘ए’ मा एपिएफ, मध्याञ्चल, मध्यपश्चिमाञ्चल र पश्चिमाञ्चल छन्। ‘बी’ मा  आर्मी , पुलिस, पूर्वाञ्चल र सुदूरपश्चिमाञ्चल रहेका छन्।

प्रकाशित: ११ जेष्ठ २०७४ ०३:२२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App