१२ असार २०८१ बुधबार
image/svg+xml
खेल

गल्फ टोली प्रशिक्षणका लागि भारत जाने

१९औँ एसियाली खेलकुद (एसियाड) का लागि ६ सदस्यीय गल्फ टोली भोलि वैदेशिक प्रशिक्षणका लागी भारतको बैंगलुरु जाँदैछ।

प्रोफेसनल गल्फर शुक्रबहादुर राई र एमेच्योर गल्फरहरू सुवास तामाङ, सदभाव आचार्य र युवराज भुजेल तथा महिला गल्फ खेलाडी कश्मिरा शाह र सुष्मा सिग्देल सहित ६ सदस्यीय नेपाली टोली तरुण सरदेसाई गल्फ एकेडेमीमा तीन महिनाको विशेष प्रशिक्षणमा सहभागी हुनेछ।

नेपाल नम्बर १ प्रो राई हाल जर्मनीको ड्रेसडेनमा प्रशिक्षणमा रहेका छन् र उनी एक महिना पश्चात बैंगलुरु पुग्ने नेपाल गल्फ संघका सदस्य तथा युवा विकास निर्देशक दिपक आचार्यले जानकारी दिए। नेपाली टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङ र नेपाल गल्फ संघका अध्यक्ष टासी घलेले आज बिदाइ गरे। गल्फ खेलाडीहरूले प्रशिक्षणको क्रममा फिजिकल फिटनेस, न्युट्रिसन र मनोवैज्ञानिक सत्रका साथ तालिम लिनेछन्।

गल्फ खेलाडीहरू सेप्टेम्बर २० सम्म तरुण सरदेसाई गल्फ एकेडेमीमा रहने छन् र सेप्टेम्बर २३ देखि अक्टोबर ८ सम्म हुने हाङ्झाओ एसियाली खेलकुदमा सहभागी हुनेछन्। एकेडेमीका निर्देशक तथा पूर्व भारतीय प्रोफेसनल गल्फर तरुण सरदेसाईको नेतृत्वमा प्रशिक्षण हुनेछ। प्रशिक्षण दौरान प्रत्येक साता प्रतियोगिता पनि हुनेछ।  

यसैबीच सुवास र सदभावले अर्किड कन्ट्री क्लबमा जुलाई १५ देखि १९ सम्म हुने सिंगापुर एमेच्योर ओपनमा समेत सहभागी हुनेछन्। एनजीएले गल्फ खेलको  विकासमा गरेको कार्य उदाहरणीय रहेको र अन्य राष्ट्रिय संघले पनि यसरी नै काम गर्नुपर्ने सदस्य सचिव घिसिङले बताए। हामी टोलीका लागि हवाई भाडा र प्रशिक्षण लगायत सबै व्यवस्थापन गर्नेछौं र यसको बदलामा खेलाडीहरूबाट नतिजा चाहन्छौं,उनले थपे।

एनजीए अध्यक्ष घलेले बैंगलुरुमा बन्द शिविरको व्यवस्थापनको लागि परिषदलाई धन्यवाद दिए। वर्षाको मौसम र उपकरणको अभावले हामी यहाँ प्रशिक्षण गर्न सक्दैनौं। हामीले दक्षिण एसियाली खेलकुद अघि दुई हप्ताको तालिम लिएका थियौं र त्यो खेलाडीहरूको लागि फलदायी थियो। उनले भने– खेलाडीहरूले आगामी तीन महिना सेनाजस्तै कडा मिहिनेत गर्नुपर्ने छ।  

प्रकाशित: ८ असार २०८० १३:४४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App