१५ वैशाख २०८१ शनिबार
image/svg+xml
खेल

युनाइटेडको चिन्ता खेलतालिका र चोट

म्यानचेस्टर – खेलाडीको चोटबाट मिलेको पीडामा व्यस्त खेलतालिकाको तनाव थपिँदा म्यानचेस्टर युनाइटेडको युरोपा लिगमा उपाधिको मुख्य दाबेदार हैसियत धरमराएको छ । 

इङ्ल्यान्डको सबभन्दा सफल क्लब युनाइटेडसँगै सेल्टा भिगो, लियोन र अयाक्स पनि युरोपेली क्लब फुटबलमा दोस्रो दर्जाको युरोपा लिगको सेमिफाइनलमा पुगेका छन् । नयाँ प्रशिक्षक जोजे माउरिन्होको नेतृत्वमा पछिल्लो समय निराशा भोगिरहेको टोलीले बिहीबार स्पेनमा सेल्टाविरुद्ध युरोपा लिग सेमिफाइनलको पहिलो लेग खेल्नेछ । 

 ‘हामी अत्यन्तै थकित र गलित अवस्थामा छौं । हामीसँग २२ जनाको टिम थियो, त्यो पनि घटेर १३ वा १४ मा झरेको छ । लगातार ठूला खेल खेल्नुपर्दा सबै खेलाडी अत्यन्तै थाकेका छन् ।’

आइतबार मात्र माउरिन्होको तनाव थप्दै इरिक बेली र ल्युक शाँ चोटग्रस्त खेलाडीको सूचीमा थपिएका छन् । यसअघि नै ज्लाटान इब्राहिमोभिच, पाउल पोग्बा, मार्कोस रोहो, क्रिस स्मलिङ र फिल जोन्स चोटका कारण आराममा थिए । घाइते खेलाडीमध्ये चार जना सेन्ट्रल रक्षक हुन् । मुख्य चार खेलाडी घाइते भएपछि अब माउरिन्होसँग एक जना पनि सेन्ट्रल रक्षापंक्तिमा परिचित पाको खेलाडीको साथ हुने छैन ।

खेलाडीको चोटसँगै माउरिन्होलाई पीडा थप्ने अर्को कारण व्यस्त खेलतालिका हो । जारी सिजनका ५७ मध्ये युनाइटेडले अप्रिलमा मात्र ९ खेल खेलेको थियो । ‘हामी अत्यन्तै थकित र गलित अवस्थामा छौं,’ आफ्नो टोलीका लागि तय गरिएको खेलतालिकालाई अमानवीय बताएका माउरिन्होले भने, ‘हामीसँग २२ जनाको टिम थियो, त्यो पनि घटेर १३ वा १४ मा झरेको छ । लगातार ठूला खेल खेल्नुपर्दा सबै खेलाडी अत्यन्तै थाकेका छन् ।’

युनाइटेडको टालटुले टोलीले प्रिमियर लिगअन्तर्गत घरेलु मैदानमा स्वान्सीसँग १–१ को बराबरी नतिजा निकालेको थियो । जब कि सेल्टाले घरेलु मैदानमा एथलेटिक बिल्बाउसँग ३–० को पराजय भोगेको स्पेनिस ला लिगाको खेलमा आफ्ना मुख्य खेलाडीहरूलाई आराम दिएको थियो । जसका कारण बिहीबार मैदानमा युनाइटेडको तुलनामा सेल्टाको टोली जुझारु रूपमा प्रस्तुत हुने सम्भावना छ ।

अर्को सेमिफाइनलको पहिलो लेगमा अयाक्सले एम्सटरडमस्थित घरेलु मैदानमा लियोनलाई निम्त्याउनेछ । युनाइटेडजस्तै लियोनका लागि पनि आगामी सिजनको च्याम्पियन्स लिगलाई स्थान पक्का गर्न युरोपा लिगको उपाधि जित्न सके त्यो सबभन्दा सजिलो र सोझो बाटो हुनेछ । 

अयाक्सको चुनौती सामना गर्नुअघि शीर्ष गोलकर्ता एलेक्जेन्डर लाकाजेटेले ह्यामस्ट्रिङको चोटबाट अपेक्षा गरेभन्दा पहिला ठीक भएर लियोनलाई विशेष उत्साह दिएका छन् । बेसिक्टासविरुद्धको क्वार्टरफाइनलमा पेनाल्टी सुटआउटसम्म संघर्ष गर्दै अन्तिम चारको स्थान पक्का गर्ने क्रममा दोस्रो लेगमा लाकाजेटे घाइते भएका थिए । जारी सिजनमा ३१ गोल गरिसकेका लाकाजेटेले बिहीबार एम्सटरडममा पहिलो रोजाइबाट खेल्ने सम्भावना पनि छ । साथमा फ्रेन्च लिगअन्तर्गत शुक्रबार एन्जर्समाथि २–१ को जित हासिल गर्दा घाइते भएका प्रमुख मिडफिल्डर कोरेन्टिन टोलिसो पनि ठीक हुनु लियोनको लागि खुसी हुने अर्को कारण हो । लाकाजेटे र टोलिसोको उपलब्धताले आक्रामक स्वभावको लियोन थप आक्रामक बन्नेछ भने त्यसबाट अयाक्स प्रशिक्षक पिटर बोजलाई रक्षापंक्तिमा विशेष रणनीति बनाउने दबाब हुनेछ । 

चार पटकको युरोपियन च्याम्पियन अयाक्सको टोलीमा बिहीबार प्रतिबन्धमा रहेका दुई मुख्य रक्षक जोइल भेल्टम्यान र निक भियरगेभर हुने छैनन् । अर्का रक्षक डेली सिंकग्राभेन र स्ट्राइकर बर्टरान्ड ट्राओरेको उपस्थिति पनि चोटका कारण दुबिधामा छ । 

डच लिगमा दोस्रो स्थान हासिल गर्दै आगामी सिजनको च्याम्पियन्स लिगलाई छानिने सम्भावना बलियो रहे पनि अयाक्सले जारी सिजनमा जित्ने सम्भावना बाँकी रहेको एक मात्र उपाधि युरोपा लिग हो । १९९७ यता टोली कुनै पनि युरोपेली प्रतियोगिताको सेमिफाइनल पुगेको यो पहिलो पटक हो ।

उता पहिलो पटक युरोपियन प्रतियोगितामा सेमिफाइनल खेल्न लागेको सेल्टा स्पेनबाहिर खास परिचित छैन । तर ला लिगामा सेल्टाले आफूलाई सबभन्दा आकर्षकमध्येको एक टोलीका रूपमा स्थापित गरेको छ । गत वर्ष फरवार्ड नोलिटो म्यानचेस्टर सिटी तथा जनवरीमा मिडफिल्डर फाबियन ओरेलाना भ्यालेन्सियातिर लागे पनि आक्रामक स्वभावका प्रशिक्षक इडुवार्डो बेरिजोले विपक्षी गोलपोस्टमा टोलीलाई निकै खतरनाक रूपमा प्रस्तुत गरिरहेका छन् । आक्रमण र गोल गर्नेमा धेरै ध्यान केन्द्रित गर्दा जारी सिजनमा सेल्टाको रक्षापंक्तिले केही अवसरमा ठूलो मूल्य चुकाएको छ । साथमा केही सनसनीपूर्ण जित पनि हासिल गरेको छ । 

ओरेलानाले छोड्नुअघि सेल्टाले घरेलु मैदानमा बार्सिलोनालाई ४–३ को नतिजामा पराजित गरेको थियो । त्यसपछि रियाल मड्रिडलाई कोपा डेल रेको खेलमा २–१ ले पराजित गरेको थियो । ओरेलानाको अनुपस्थितिमै टोलीले शाख्तर डोनेस्क, क्रास्नोडर र जेन्कलाई युरोपा लिगबाट घर फर्काउँदै सेमिफाइनलको यात्रा तय गरेको थियो । 
लिभरपुलमा खासै प्रभाव जमाउन नसकेपछि आफ्नै बाल्यकालको क्लब फर्किएका इयागो आस्पासले फेरि प्रभाव जमाउन थालेका छन् । युरोपा लिगको जारी सिजनमा आस्पासले पाँच गोल गरिसकेका छन् भने अर्का फरवार्ड जोन गुइडेटीले चार गोलमा नाम लेखाएका छन् । तर पनि टोलीको भाग्य बिहीबार मिडफिल्डमा प्लेमेकरद्वय ड्यानिअल वास र पाब्लो हर्नान्डेजको प्रदर्शनमा निर्भर गर्नेछ । 

 

 

प्रकाशित: २० वैशाख २०७४ ०६:२४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App