१९ वैशाख २०८१ बुधबार
image/svg+xml
खेल

ड्रागन बोटरेसको विजेतालाई ३० लाख !

पोखरामा ड्रागन बोटरेस फेस्टिभलको अभ्यास गरिँदै। तस्बिरः नागरिक

दक्षिण एसियामै पहिलो पटक पोखरामा अर्को साता ‘नेपाल–चीन फ्रेन्डसीप ड्रागन बोट रेस फेस्टिभल’ हुँदैछ। 

फेवातालमा आयोजित यो प्रतियोगितामा नेपाली र चिनियाँबीच बोटरेस प्रतियोगिता हुनेछ। प्रतियोगिताको विजेता टिमले ३० लाख रुपैयाँ नगद पुरस्कार पाउने आयोजकले बताएको छ।

पोखरामा हालसम्म भएका कुनै पनि खेल इभेन्टमा यो नै सर्वाधिक पुरस्कार राशि हो। पोखरा क्षेत्रमा आयोजना हुने फुटबल र म्याराथनपछिको यो सबैभन्दा बढी पुरस्कार राशिको प्रतियोगिता हो।  नेपालका लागि चिनियाँ दूतावासका डेपुटि चिफ अफ मिसन (डिसिएम) वाङ सिनले बोटरेस बारे जानकारी दिन आयोजित पत्रकार भेटघाटमा ड्रागन बोटरेस प्रतियोगिताको विजेता टिमले ३० लाख रुपैयाँ नगद पुरस्कार पाउने बताए।

असार ८ र ९ गते हुने फेवातालमा हुने फेस्टिभलको तयारी स्वरूप चीनबाट डुंगा पोखरा ल्याईसकिएको र अहिले ती डुंगालाई फेवातालमा परीक्षण गरिरहेको आयोजकले बताएको छ। नेपाल पर्यटन बोर्ड, नेपालस्थित चिनियाँ दूतावास र पोखरा महानगरपालिकाको आयोजनामा फेस्टिभल गर्न थालिएको हो। उक्त कार्यक्रममा पोखरा पर्यटन परिषद् (पिटिसी) र चाइना ओभरसीज एसोसिएसन सहआयोजक रहेका छन्।

डिसिएम सिनका अनुसार अनुसार यो फेस्टिभलमा नेपाल र चीनका गरी १२० जना प्रतियोगिहरु सहभागी हुनेछन्। दुई सय र पाँच सय मिटर गरी दुई भागमा आठ वटा बोटमार्फत रेस प्रतियोगिताका हुनेछ। चार चार वटा डुंगामा नेपाली र चिनियाँबीच बोटरेस प्रतियोगिता हुनेछ। यो प्रतियोगिता एसियन गेममा समेत हुने गरेको छ।

चीनले यसअघि यस प्रकारको बोट रेस फेस्टिभल ५० भन्दा बढी देशमा आयोजना गरिसकेको छ। पोखरामा यो गतिविधिलाई हरेक वर्ष आयोजना गर्ने गरि यो पटक कार्यक्रम गर्न थालिएको विज्ञप्तिमा जनाइएको छ। पोखरामा हुने यो प्रतियोगिताका सहभागी हुनका लागि प्रतिस्पर्धी खेलाडी र पाहुना पोखरा आउने तयारीमा रहेको उनले बताए। उनका अनुसार यो प्रतियोगिता हेर्न चीनदेखि नै पाहुना पोखरा आउने तयारीमा छन्। जहाज चार्टर गरेर पाहुनाहरू पोखरा आउने उनले बताए।

सह-आयोजक पोखरा पर्यटन परिषद् (पिटिसी)का अध्यक्ष पोमनारायण श्रेष्ठका अनुसार नेपालस्थित चिनियाँ दूतावासले पुरस्कारका लागि राशि उपलब्ध गराउनेछ। ‘यो इभेन्ट हरेक वर्ष पोखरामा आयोजना गर्ने चिनियाँको तयारी हो। बाहिरबाट झट्ट हेर्दा सामान्य डुंगादौड प्रतियोगिता देखिए पनि चिनियाँबीच यो प्रतियोगिता निकै नै महत्त्वपूर्ण छ,’ श्रेष्ठले भने, ‘बोट रेसका लागि मात्र पोखरामा ठुलो रकम खर्च हूँदैछ।’ यसले पोखरामा चिनियाँ पाहुना भित्र्याउन सघाउने अपेक्षा व्यवसायीको रहेको उनले बताए।

नेपाल ओलम्पिक कमिटीका उपाध्यक्ष तेजबहादुर गुरुङ पनि ३० लाख रुपैयाँ पुरस्कार निकै नै ठुलो राशि भएको बताउँछन्। ‘यो सांस्कृतिक प्रतियोगिता भएकोले चीनले यसलाई लामो समयसम्म आयोजना गर्ने सम्भावना रहेको छ। किनकि जहाज नै चार्टर्ड गरेर खेलाडी र चिनियाँ पाहुना पोखरा उतार्नु आफैमा महत्त्वपूर्ण छ,’ उनले भने, ‘चिनियाँका लागि यो राशिको पुरस्कार आकार सानो लाग्न सक्छ, तर, नेपाली परिवेशमा ठुलो आकारको रकम हो। यस्ता गतिविधि लामो समयसम्म गर्न सक्ने हो भने यसले सांस्कृतिक सम्बन्ध बलियो बनाउन सघाउँछ।’ संस्कार र सद्भाव साट्नका लागि पनि यो महोत्सव महत्त्वपूर्ण भएको बताए।  

प्रकाशित: ३ असार २०८० ११:४० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App