५ आश्विन २०८१ शनिबार
image/svg+xml
खेल

गण्डकीको खेलकुदमा ७ करोड ५५ लाख

गण्डकी प्रदेश सरकारले आर्थिक वर्ष २०८०÷८१ को लागि बजेट सार्वजनिक गर्दै खेलकुदलाई ७ करोड ५५ लाख रूपैयाँ बजेट विनियोजन गरेको छ।  

शुक्रबार बजेट सार्वजनिक गर्दै प्रदेशका अर्थमन्त्री जितप्रकाश आलेले प्रदेशलाई खेलकुद पर्यटन केन्द्रको रूपमा विकास गर्ने लक्ष्यसहित बजेट विनियोजन गरेको स्पष्ट पारे। यद्यपि अघिल्लो वर्ष पनि प्रदेश सरकारले बजेटसहितको योजनालाई कार्यान्वयनमा ल्याउन भने सकेन।  

सरकारले पुरानै योजनालाई दोहोर्याएको छ। अन्तराष्ट्रिय क्रिकेट रंगशाला, अन्तराष्ट्रियस्तरको कभर्डहलको सम्भाव्य अध्ययन, उच्च उचाइ तालिम केन्द्र (हाई अल्टिच्युड टे«निङ सेन्टर), एक स्थानीय तह एक खेलमैदान, जिल्लास्तरीय र विभिन्न खेलमैदान निर्माणको योजनालाई बजेट विनियोजन गरिएको अर्थमन्त्री आलेले सुनाए।  

प्रदेश सरकारले क्रिकेट रंगशाला बजेटमा समेटेको छ। प्रदेश सरकारले आफ्नै भोगााधिकार प्राप्त जग्गामा खेल मैदान निर्माण गर्ने योजना बनाएपछि जग्गा प्राप्ति नहुँदा बजेट बर्सेनि फ्रिज हुँदै आएको छ।  

प्रदेश सरकारले खेल्छ गण्डकी कार्यक्रमलाई निरन्तरता दिएको छ। सबैका लागि खेलकुद भन्ने नारासहित प्रदेश सरकारले विद्यालय तहदेखि नै खेलकुद गतिविधि सञ्चालन गर्दै खेलाडी उत्पादनमा जोड दिएको छ। प्रदेश खेलकुद परिषद्ले नै गत वर्ष एथलेटिक्समा ट्यालेन्ट हन्ट गर्दै १५ लाख रूपैयाँ खर्चिएको थियो। आर्थिक वर्ष सकिनै लाग्दा प्रदेश खेलकुद परिषद्ले झन्डै ३० लाख रूपैयाँ बजेटबाट भलिबल खेलका लागि ट्यालेन्ट हन्ट कार्यक्रम गर्ने योजना अगाडि सारिसकेको छ।  

सरकारले ओलम्पिक खेलमा सहभागिता जनाएका प्रदेशका खेलाडीलाई उच्च सम्मान गर्दै प्रोत्साहन भत्ता उपलब्ध गराउन आवश्यक बजेट विनियोजन गरेको अर्थमन्त्री आलेले सुनाए। खेलाडीको पहिचान र आत्मसम्मानका लागि खेलाडीलाई गण्डकी खेलकुद पदकबाट सम्मानित गरिनेछ। त्यस्तै खेलाडी कल्याणकारी कार्यक्रम र खेलाडी तथा प्रशिक्षकलाई प्रोत्साहन गर्नका लागि आवश्यक बजेट छुट्ट्याइएको अर्थमन्त्री आलेले सुनाए।  

प्रकाशित: २ असार २०८० ००:५९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App