२० आश्विन २०८१ आइतबार
image/svg+xml
खेल

पुलिसले फाइनल खेल्ने पक्का

काठमाडौं- नेपाल पुलिस क्लबले साबिक विजेता हेल्प नेपाल स्पोर्ट्स क्लबलाई हराउँदै आरबिबी एनभिए पुरुष लिग जित्ने सम्भावना बलियो बनाएको छ। जितसँगै पुलिसले सोमबार हुने फाइनलमा स्थान पक्का गरेको छ।

क्लब लिग भनिए पनि आयोजक नेपाल भलिबल संघले तेस्रो संस्करणमा अंकतालिकाको शीर्ष टोली र दोस्रो हुने टोलीलाई पुनः फाइनलमा प्रतिस्पर्धा गर्ने नियम बनाएको छ।

गत वर्ष तेस्रो भएको पुलिसले जारी प्रतियोगितामा लगातार अपराजित यात्रालाई जारी राखेको छ। राष्ट्रिय टोलीका कप्तानसमेत रहेका इम राना र स्पाइकर कुलबहादुर थापाको साथ पाएको पुलिसले लिगमा उत्कृष्ट प्रदर्शन गरिरहेको छ। यसअघिका खेलमा पुलिसले दुवै विभागीय टोली त्रिभुवन आर्मी र एपिएफलाई पाँच सेट खेलेर पराजित गरेको थियो। शनिबार पुलिसले चार भारतीय खेलाडी रहेको हेल्प नेपाललाई २५–२३, १९–२५, २५–१६, ३०–२८ ले हरायो।

अब फाइनल खेल्ने दोस्रो टोलीको टुङ्गो आर्मी र हेल्प नेपालबीचको खेलबाट लाग्नेछ। यसै गरी पुरुषतर्फको अन्य खेलमा  पश्चिमाञ्चलले जाउलाखेललाई २५–१३, २५–१५, २५–१६ ले हरायो। मणिमुकुन्द क्लबले ढोरपाटनलाई २५–१७,२८–२६, २५–१२ ले पराजित गर्‍यो।

यसै गरी महिलातर्फको फाइनलमा भने साबिक विजेता न्यु डायमन्ड एकेडेमी र एपिएफले खेल्ने पक्का भएको छ। दुवै टोलीले एक खेलअगावै फाइनलमा स्थान बनाएका हुन्। गत वर्ष डायमन्डले एपिएफलाई हराउँदै लिग जितेको थियो।

शनिबार डायमन्डले जावलाखेललाई २५–५,२५–८, २५–२ ले हरायो। जावलाखेलविरुद्धको खेलमा डायमन्डका प्रशिक्षक कुमार राईले ११ वर्षीया स्पाइकर प्रेक्षा राईलाई डेब्यु गराएका थिए।

प्रेक्षा ओपन स्पाइकर पनमिका राईको स्थानमा दोस्रो सेटमा कोर्टमा प्रवेश गरेकी थिइन्। प्रशिक्षक राईले ओपन स्पाइकर पोजिसनलाई बलियो बनाउन नयाँ खेलाडीलाई अवसर दिएको बताए। राईले भने, 'सबैलाई थाहा छ हाम्रो दोस्रो ओपन स्पाइकर पोजिसन बलियो छैन। प्रतिभा जत्तिकै अर्को स्पाइकरले खेलमा प्रभाव पार्न सकिरहेको छैन। त्यो कमजोरीलाई कम गर्न हामीले नयाँ स्पाइकरलाई अवसर दिँदै जाने योजना बनाएको छौं।' महिलातर्फको अन्य खेलमा नेपाल पुलिसले पश्चिमाञ्चललाई १७–२५, २५–१८, २५–२१, २५–२० ले  पराजित गर्‍यो।

प्रकाशित: ३ वैशाख २०७४ ०४:२५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App