२३ भाद्र २०८१ आइतबार
image/svg+xml
खेल

राष्ट्रिय जुनियर तथा खुल्ला फेन्सिङमा बागमती च्याम्पियन

गण्डकीलाई दुई स्वर्ण

क्याप्शन

पोखरामा आयोजित प्रथम राष्ट्रिय जुनियर तथा खुल्ला फेन्सिङ प्रतियोगितामा बागमती प्रदेश च्याम्पियन बनेको छ। ८ स्वर्ण पदकको लागि भएको टिम तथा व्यक्तिगत प्रतिस्पर्धामा बागमती प्रदेशले ५ स्वर्ण पदकसहित च्याम्पियन बन्यो। गण्डकी प्रदेश दोस्रो स्थानमा रह्यो। गण्डकीले दुई स्वर्ण पदकमा चित्त बुझायो। एपीएफले एक स्वर्ण पदक जितेको छ।  

जुनियर मेन्स ईपीमा गण्डकीका नवराज कार्कीले स्वर्ण पदक जितेका छन्। उनले बागमती प्रदेशका अक्चेत शेरचनलाई पराजित गर्दै स्वर्ण पदक जितेका हुन्। सोही इभेण्टमा कोशी प्रदेशका सन्देश चौधरी र सचिन खत्री (गण्डकी) ले कास्य पदक जित्न सफल भए। महिला जुनियर ईपी तर्फको प्रतिस्पर्धामा बागमतीकी सोफिया चन्दले गण्डकीकी निश्चल पुलामीमगरलाई पराजित गर्दै स्वर्ण जित्न सफल भईन्। कृपा गुरुङ (गण्डकी) र अश्मिता घिसिङ (बागमती) ले काँस्य पदक जिते।  

सिनियर मेन्स फोयल तर्फको प्रतिस्पर्धामा बागमती प्रदेशका सन्जिप लामाले स्वर्ण पदक जिते। उनले नेपाल आर्मीका नरेन्द्रसिंह धामीलाई पराजित गरे। सागर थापा (एपीएफ) र बीरसिंह शाही(आर्मी) भने तेस्रो स्थानमा चित्त बुझाए। सिनियर मेन्स टिम फोयल इभेण्टमा बागमतीले स्वर्ण, शसस्त्र प्रहरी बलले रजत जित्दा गण्डकी तथा नेपाल आर्मी क्लबले काँस्य पदकमा खुम्चिए।  जुनियर महिला टिम ईपी तर्फको प्रतिस्पर्धामा बागमतीले स्वर्ण, गण्डकीले रजत र कोशी प्रदेशले कास्य पदक जितेको छ।  

महिला सियिनर फोयल तर्फको व्यक्तिगत प्रतिस्पर्धामा बागमतीकै गोमा आचार्यले स्वर्ण पदक जितिन्। आर्मीकी मनिषा थापालाई पराजित गर्दै उनले स्वर्ण चुमेकी हुन्। मनिषा राई (एपीएफ) र सुष्मिता तामाङ (आर्मी) ले कास्य पदकमा चित्त बुझाए। जुनियर मेन्स टिम ईपी तर्फ गण्डकीले बागमतीलाई पराजित गर्दै दोस्रो स्वर्ण पदक जित्यो। गण्डकीले फाईनलमा बागमतीलाई ४५–३५ स्कोरले पराजित गर्दै दोस्रो स्वर्ण जित्न सफल भएको हो।  सिनियर टिम महिला फोयल तर्फको प्रतिस्पर्धामा बागमतीलाई पराजित गर्दै एपीएफले पहिलो स्वर्ण आफनो नाममा लेखायो। फाईनल प्रतिस्पर्धामा एपीएफले बागमतीलाई ४५–३१ स्कोरमा पराजित गर्दै एक स्वर्ण जित्दै स्वर्णविहीनको यात्रालाई विट मार्यो।  

प्रदेश खेलकुद परिषद गण्डकीको आयोजना तथा कास्की जिल्ला फेन्सिङ संघको समन्वयमा आयोजित प्रतियोगितामा व्यक्तिगत र टिम इभेन्टमा प्रतिस्पर्धामा दुई विभागिय टिम नेपाल आर्मी र शसस्त्र प्रहरीको एपिएफ क्लबसहित कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र सुदुर पश्चिम प्रदेश गरी ६ टिमको सहभागिता रहेको कास्की जिल्ला फेन्सिङ संघका अध्यक्ष विजय शाहीले बताए।

प्रकाशित: २७ जेष्ठ २०८० १२:१२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App