२१ आश्विन २०८१ सोमबार
image/svg+xml
खेल

बलिङ आक्रमणमा नयाँ अनुहार

काठमाडौं- इमर्जिङ कप अफ नेसन्सअन्तर्गत सोमबार टेस्ट राष्ट्र पाकिस्तान यु–२३ विरुद्ध खेल्दा नेपालको बलिङ आक्रमणमा नयाँ अनुहार देखिने लगभग पक्का छ। दुई साताअघि कीर्तिपुरस्थित त्रिवि मैदानमा सम्पन्न केन्याविरुद्ध खेल्दाको ब्याटिङ लाइनअपले बंगलादेशमा पनि निरन्तरता पाउने निश्चितप्राय छ। कप्तान ज्ञानेन्द्र मल्लले ओपनिङमा साझेदारीमा देखिने समस्या अझै पूर्ण समाधान नभइसकेको अवस्थामा आफैंले ओपनिङ गर्ने बताए।

‘हाम्रो ओपनिङको समस्या पूर्ण समाधान भइसकेको छैन। हामीलाई स्थायित्व चाहिएको छ। यस्तो अवस्थामा परिवर्तन गरिहाल्दा पछिलाई समस्या हुन सक्छ। त्यसैले हाम्रो ओपनिङ जोडीले निरन्तरता पाउनेछ,’ सुनील र आसिफको ओपनिङ जोडी हुने सम्भावनाबारे ज्ञानेन्द्रले भने, ‘अहिले नै यही हुन्छ भन्ने छैन। तर, अझै केही खेलमा हामीले यसलाई परिवर्तन गर्नु ठीक होइन।’

२०१३ को पहिलो संस्करणमा पनि नेपालले समूहचरणमा पाकिस्तानविरुद्ध खेलेको थियो। उक्त खेलमा नेपाल ९ विकेट पराजित भएको थियो। त्यति बेलाको टोलीमा रहेका ज्ञानेन्द्र, विनोद भण्डारी, शरद भेषावकर, सागर पुन र अविनाश कर्णबाहेक अहिलेको टोलीमा सबै नयाँ अनुहार हुन्।

कप्तान ज्ञानेन्द्र मल्लले पहिलो खेलमा राम्रो नतिजा निकाल्न सकियो भने बाँकी खेलमा टोलीमा मनोबल बढ्ने हुनाले सोमबार सक्दो राम्रो गर्ने बताए।

‘बंगलादेशमा धेरै खेले पनि कक्स बजारमा हामी पहिलो पटक खेल्दै छौं। ’ कप्तान ज्ञानेन्द्रले पाकिस्तानविरुद्धको खेलबारे भने, ‘पाकिस्तानजस्तो टोलीविरुद्ध खेल्नु हाम्रो लागि राम्रो अनुभव हुन्छ। तथापि हामी राम्रोभन्दा राम्रो क्रिकेट खेलेर उनीहरूलाई कडा चुनौती पेस गर्नेछौं।’

अनुभवी स्पिनर वसन्त रेग्मी र शक्ति गौचनका साथै तीव्र गतिका बलर सोमपाल कामी र करण केसी पनि टोलीमा छैनन्। त्यसैले बलिङ आक्रमणमा नयाँ अनुहार देखिने छन्। तथापि नेपालका मुख्य प्रशिक्षक प्रशिक्षक जगट टमाटाले विकेट कन्डिसन हेरर मात्र कसलाई खेलाउने भन्ने निर्णय गर्ने बताए।

‘युवा खेलाडीले आफूलाई एक्स्पोज गर्न पाउने यो राम्रो अवसर हो। हामीले ३ ४ जना युवालाई मौका दिएका छौं। उनीहरूमा पनि यु–१९ विश्वकप खेलिसकेको अनुभव भने छ,’ बंगलादेश प्रस्थान गर्नुअघि टमाटाले भने, ‘स्लो विकेट रहेछ भने हामी ३ स्पिनर पनि खेलाउन सक्छौं होइन भने अर्का अलराउन्डर थपेर खेल्छौं।’

सन्दीप लामिछाने र अलराउन्डर सागर पुनले स्पिन बलिङ गर्ने भएकाले सुसन भारी र भुवन कार्कीमध्ये एकले टोलीमा मौका पाउने सम्भावना छ। मेहबुब आलम र आरिफ शेख अलराउन्डरका रूपमा टोली हुनेछन्। यस्तो अवस्थमा अविनाश कर्ण र दीपेश श्रेष्ठले नयाँ बल लिएर आउने सम्भावना छ।

प्रशिक्षक टमाटाले टोलीमा जित्ने क्षमता भएको भन्दै पहिलो चरण पार गर्नु टोलीका मुख्य कार्य भएको बताएका छन्। ‘पाकिस्तान बलियो टोली हो। एकदिवसीय विश्वकप पनि जितिसकेको छ। तर, हामीले जित्नै नसक्ने भन्ने होइन। हाम्रो टोलीमा क्षमता छ। जसको दिन लाग्यो त्यसले जित्ने हो,’ विपक्षीबारे मुख्य प्रशिक्षक टमाटाले भने, ‘त्यसका लागि सबै पक्षले राम्रो गुर्नपर्‍यो। सबै खेलाडी आआफ्नो भूमिकाबारे स्पष्ट छन्। त्यसै अनुसारको तयारी गरेका छौं। दुई टोलीलाई हरायौं भने दोस्रो चरण पुग्न सक्छौं र त्यो सम्भावना छ।’

प्रकाशित: १४ चैत्र २०७३ ०४:४५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App