२० आश्विन २०८१ आइतबार
image/svg+xml
खेल

पुलिसमाथि एफिएफको जित

काठमाडौं- एपिएफले प्रथम रेडियो दिदीबहिनी कप राष्ट्रिय खुला महिला भलिबलमा विजयी सुरुआत गर्दा न्यु डायमन्ड र पश्चिमाञ्चलबीचको खेल प्रतिकूल मौसमका कारण स्थगित गरिएको छ। बुधबारदेखि सुरु भएको प्रतियोगिताको उद्घाटन खेलमा एपिएफले नेपाल पुलिस क्लबलाई सोझो सेटमा २५–१४, २५–१६, २५–१७ ले पराजित गर्‍यो।

लिग चरणको अर्को खेलमा न्यु डायमन्डले पश्चिमाञ्चललाई सुरुको दुई सेटमा सहजै हराएको थियो। तेस्रो सेट चलिरहेको बेला हावाहुरी र वर्षाका कारण आयोजकले बुधबार हुने भनिएका अन्य खेल स्थगित गरेको थियो।

न्यु डायमन्डले पहिलो सेट २५–३ र दोस्रो सेट २५–१५ ले जितेको थियो। तेस्रो सेटमा डायमन्डले १९–१४ ले अग्रता लिइरहेको बेला खेल रोकिएको थियो। बिहीबार डायमन्ड र पश्चिमाञ्चलले पुनः सुरुदेखि प्रतिस्पर्धा गर्नेछन्। प्रतियोगिताको समूह 'क' मा एपिएफ, पुलिस र आयोजक रेडियो दिदीबहिनी छन् भने समूह 'ख' मा आर्मी, डायमन्ड र पश्चिमाञ्चल छन्। तीन दिनसम्म चल्ने प्रतियोगिताको विजेताले १ लाख र उपविजेताले ६० हजार पाउनेछन्।

यसै गरी बुधबार आयोजकले राष्ट्रिय महिला भलिबल टोलीकी उपकप्तान मञ्जु गुरुङलाई सम्मान गरेको थियो। मञ्जुले पश्चिमाञ्चलबाट घरेलु प्रतियोगिता खेल्ने गरेकी छिन। नेपालले दक्षिण एसियाली खेलकुद (साग) मा दुई पटक कांस्य र प्रथम दक्षिण एसियाली आमन्त्रण महिला भलिबलमा रजत जित्दा मञ्जु राष्ट्रिय टोलीमा थिइन्।

प्रकाशित: २६ फाल्गुन २०७३ ०४:५५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App