नेपाल रग्बी संघले विश्व रग्बीको पूर्ण सदस्यता प्राप्त गरेको छ। नेपाल रग्बी संघले शुक्रबार काठमाडौंमा एक उत्सव कार्यक्रम आयोजना गर्दै विश्व रग्बीबाट पूर्ण सदस्यता प्राप्त गरेको जनाएको हो। संघका महासचिव गोविन्द घिमिरेले बिहीबार विश्व रग्बीबाट नेपाललाई पूर्ण सदस्यता प्राप्त भएको जानकारी दिए। सन् २०१४ मा एसिया रग्बीको एसोसिएट सदस्यता पाएको नेपालले २०१८ मा पूर्ण सदस्यता पाएको थियो। त्यसपछि गेट इन्टु रग्बी कार्यक्रम सञ्चालनसँगै घरेलु गतिविधिमा सक्रियता बढाउँदै गएको नेपालले विश्व रग्बीको पूर्ण सदस्यता पाएको हो। नेपाल रग्बी संघका निवर्तमान अध्यक्षसमेत रहेका राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव टंकलाल घिसिङले निकै ठूलो परिश्रम र संघर्षपछि नेपालले विश्व रग्बीको पूर्ण सदस्यता पाएको बताए।
‘विश्व रग्बीले कुनै देशमा आफ्नो खेल संघ छ भन्दैमा सदस्यता दिन हतार गर्दैन। निश्चित प्रक्रिया पूरा गर्नुपर्छ। त्यसका लागि नियमित रूपमा घरेलु प्रतियोगिता, युथ डेपलभमेन्ट कार्यक्रम र एडेकुसनलगायत गर्नुपर्छ,’ एसिया रग्बीका कार्यकारी सदस्यसमेत रहेका राखेप सदस्यसचिव घिसिङले भने,‘अन्तर्राष्ट्रिय प्रतियोगिता आयोजना, अन्तर्राष्ट्रिय प्रतिस्पर्धा, कार्यालय सञ्चालन र कर्मचारीको अवस्थाका साथै प्राविधिक जनशक्तिको अवस्थालगायत सबै कुरा हेरेर मात्र विश्व रग्बीले पूर्ण सदस्यता दिन्छ।’ उनले विश्व रग्बीको पूर्ण सदस्यता पायौं भन्दै हात बाँधेर नबस्ने र थप सक्रियता बढाउने उद्घोष गरे।
‘पूर्ण सदस्यता पायौं भनेर चुप लागेर बस्न हुँदैन। संघले अब झनै सक्रियता बढाउनुपर्छ,’राखेपका सदस्यसचिव घिसिङले निर्देशन दिए। नेपाल ओलम्पिक कमिटीका महासचिव नीलेन्द्रराज श्रेष्ठले संघको मिहिनेतले गर्दा नेपालले विश्व रग्बीको मान्यता पाएको उल्लेख गर्दै नेपाली रग्बी व्यावसायिकतामा प्रवेश गरेको धारणा राखे। नेपाल रग्बी संघका वरिष्ठ उपाध्यक्ष चेतनराज गिरीले नेपाललाई पूर्ण सदस्यता प्रदान गरेकोमा विश्व रग्बीलाई धन्यवाद दिए। पछिल्ला समय रग्बीको घरेलु प्रतियोगिता फिफ्टिन ‘ए’ साइड र सेभेन ‘ए’ साइड तथा महिलाको रग्बी लिग सम्पन्न गरेपछि मात्र एसिया रग्बीले नेपाललाई पूर्ण सदस्यताकै लागि सिफारिस गरेको हो।
तत्कालीन समयमा एसिया रग्बीका अध्यक्ष कसिस एल धलाईद्वारा नेपालसहित तीन राष्ट्रले विश्व रग्बीको पूर्ण सदस्यताका लागि सबै प्रक्रिया पुर्याएकाले सिफारिस गरिएको उल्लेख गरेका थिए। नेपालले तीन वर्षअगाडि मात्र एसिया रग्बीको पूर्ण सदस्यता पाएको थियो। काजाखस्तानमा सम्पन्न एसिया रग्बीको बैठकले नेपाललाई एसियाको पूर्ण सदस्य राष्ट्र बनाउने निर्णय गरेको हो।
प्रकाशित: ३० वैशाख २०८० ०२:२५ शनिबार