५ जेष्ठ २०८१ शनिबार
image/svg+xml
खेल

शीर्ष स्थानमा फर्कियो जावलाखेल

एनकोटा मोसाबीको दुई गोलप्रेरित जावलाखेल युथ क्लब बिहीबार फ्रेन्ड्स क्लबमाथि ४–१ को जितसहित सहिद स्मारक ‘ए’डिभिजन लिगको शीर्ष स्थानमा फर्किएको छ।  

च्यासल फुटबल मैदानमा निकालेको जितसँगै जावलाखेल १७ खेलमा ३० अंकसहित शीर्ष स्थानमा फर्किएको हो। दोस्रो स्थानको चर्च ब्वाइज युनाइटेडको पनि ३० अंक छ। यद्यपि चर्च ब्वाइजले जावलाखेलभन्दा एक खेल कम खेलेको छ। तेस्रो स्थानको थ्री स्टार क्लबको २५ र चौथो स्थानको मच्छिन्द्र क्लबको २४ अंक छ। फ्रेन्ड्स भने १७ खेलमा १९ अंकसहित ११औं स्थानमा छ।  

शीर्ष स्थानमा बस्दै पहिलो चरणको खेल अन्त्य गरेको जावलाखेलले दोस्रो चरणको सुरुआती दुई खेलको नतिजा सुम्पिएसँगै शीर्ष स्थान गुमाएको थियो। पछिल्लो खेलमा हिमालयन शेर्पालाई हराउँदै शीर्ष स्थानमा फर्किएको जावलाखेल बुधबार चर्च ब्वाइजले मच्छिन्द्रमाथि २–१ को जित निकालेसँगै दोस्रो स्थानमा झरेको थियो। पहिलो चरणका भेटमा फ्रेन्ड्सलाई नतिजा सुम्पिएको जावलाखेलले सो हारको बदलासमेत लिएको छ।  

२५औं मिनेटमा राहुलले गरेको गोलमा जावलाखेलले अग्रता लिएको थियो। त्यसको ६ मिनेटपछि नै मोसाबीले जावलाखेलको अगता दोब्बर पारेका थिए। ६४औं मिनेटमा मोसाबीले पेनाल्टीको सदुपयोग गर्दै जावलाखेलको अग्रता ३–० मा पुर्याएका थिए।  

८०औं मिनेटमा श्यामबाबुले गरेको गोलमा फ्रेन्ड्सले गोलअन्तर कम गर्ने प्रयास गरेको थियो। इन्जुरी समयको पहिलो मिनेटमा फोडे फफोनाले गरेको गोलमा जावलाखेलको सहज जित पक्का गरेको थियो।

जावलाखेलका मुख्य प्रशिक्षक सुनीलकुमार श्रेष्ठले दोस्रो चरणको सुरुआतमा गुमाएको खेलका कारण टोलीमाथि दबाब थपिए पनि अहिले भने टोली लयमा फर्किएको बताए।  

‘आज हामीले अब्दुलाजिजलाई अवसर दियौं,’ श्रेष्ठले भने, ‘उनी सेटपिसमा अब्बल भएकै कारण टोलीमा राखिएको थियो। उनले अवसरलाई प्रमाणित गरे। टोलीले पछिल्लो दुई खेलमा गरेको प्रदर्शनले मनोबल बढेको छ। टोली लयमा फर्किएको छ। अब यो लय कायम राख्ने चुनौती भने छ।’  

श्रेष्ठले शीर्ष स्थानमा पुनरागमन गरे पनि यस पटकको लिग निकै प्रतिस्पर्धात्मक भएको र अन्य टोलीसँगको अंकदूरी धेरै नभएकाले अहिले नै केही बताउन नसकिने बताए।  

‘हामीले ३० अंक जोडेका छांै। हामीले बल्ल रेलिगेसन जोगाएका छांै। किनभने यस पटक लिगमा अन्य टोलीसँगको दूरी धेरै छैन,’श्रेष्ठले भने, ‘अब हामी उपाधि लक्ष्यका साथ प्रतिस्पर्धा गर्नेछांै। टोलीले अन्य खेलमा पनि यही लय कायम राख्नेमा आशावादी छु।’ 

प्रकाशित: २९ वैशाख २०८० ०१:४० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App