१९ आश्विन २०८१ शनिबार
image/svg+xml
खेल

कोरियामा इन्टरनेसनल ओपन फ्रेन्डसिप तेक्वान्दो हुने

कोरियन मार्सल आर्ट्स तेक्वान्दोको आयोजनामा इन्टरनेसनल ओपन फ्रेन्डसिप तेक्वान्दो च्याम्पियनसिप (आइओएफटिसी) को १४औं संस्करण कोरियाको सोलमा हुने भएको छ।

आइओएफटिसीले बिहीबार राजधानीमा पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको १४औं संस्करण कोरियाको सोलमा आयोजना हुने जनाएको हो। संयोजक राजु क्षेत्रीले प्रतियोगिता आगामी वर्ष आयोजना हुने जानकारी दिएका हुन्। प्रतियोगिताको मिति भने तोकिएको छैन। अमेरिकाको पोर्टल्यान्डस्थित आइओएफटिसीले प्रत्येक दुई वर्षमा आयोजना गर्ने इन्टरनेसनल ओपन फ्रेन्डसिप तेक्वान्दो च्याम्पियनसिपको एक संस्करण अमेरिका र अर्को संस्करण अमेरिकाबाहिर हुँदै आएको छ।

पोर्टल्यान्डमा पाँच , नेपालमा चार तथा भारत, बेलायत, हङकङ र अमेरिकाकै मिचिगनमा समान एक संस्करणको आयोजना भइसकेको क्षेत्रीले जानकारी गराएका छन्। गत मार्चमा आइओएफटिसीका संस्थापक तथा निर्देशक ग्रान्ड मास्टर दिवाकर महर्जन तथा महासचिव करेन ब्लाकलेजले सोललाई आयोजनाको जिम्मेवारीस्वरूप आइओएफटिसी झन्डा हस्तान्तरण गरेका थिए। प्रतियोगितामा नेपाल, दक्षिण कोरिया, अमेरिका, फिलिपिन्स, अस्ट्रेलिया, क्यानाडा, पाकिस्तान, अस्ट्रिया, भारत, हङकङ, चीन, मेक्सिकोलगायतका देशको सहभागिता रहनेछ। आयोजकले प्रतियोगितामा करिब सात सयभन्दा बढी खेलाडीले भाग लिने अपेक्षा गरेको छ।

प्रतियोगितामा सिनियर पुरुष र महिलाको समान आठ तौलसमूहमा प्रतिस्पर्धा हुनेछ। यसै गरी, जुनियरतर्फ महिला र पुरुष तथा क्याडेटतर्फ समान १० तौलसमूह समवेश गरिएको छ। पुम्सेमा सिनियर, जुनियर र क्याडेटतर्फ व्यक्तिगत, जोडी र टिम गरी तीन इभेन्टमा प्रतिस्पर्धा हुनेछ। यसबाहेक प्रतियोगितामा बोर्ड ब्रेकिड इभेन्ट पनि सामेल गरिनेछ। प्रतियोगितामा कुल ६५ स्वर्ण पदक, ६५ रजत पदक र एक सय ३० कांस्य पदकका लागि प्रतिस्पर्धा हुनेछ। यस्तै बोर्ड ब्रेकिङ इभेन्टमा पनि पदकको व्यवस्था गरिएको छ।

प्रकाशित: २९ वैशाख २०८० ०१:३० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App