२० आश्विन २०८१ आइतबार
image/svg+xml
खेल

आयोजकलाई हराउँदै पुलिस फाइनलमा

धरान- जुमानु राईले खेलमा लय समातेपछि आयोजक धरान नीलोलाई ३–१ गोलअन्तरले हराउँदै नेपाल पुलिस क्लब १९औं बूढासुब्बा रेडबुल गोल्डकपको फाइनलमा प्रवेश गरेको छ। धरान १७ स्थित एन्फा टेक्निकल सेन्टरमा बिहीबार भएको दोस्रो सेमिफाइनलमा जुमानुले पुलिसका लागि २ गोल गरे भने मनबहादुर परियारले आफ्नो नाममा एक गोल लेखाउँदै फाइनलमा सिएमजी क्लब संकटासँग भेट पक्का गरे। रजिन सुब्बाले एक गोल गरे पनि घरेलु मैदानमा उपाधि जित्ने आयोजकको लक्ष्य यो संस्करणमा पनि पूरा हुन सकेन। जारी सिजनमा ५ वटा नकआउट प्रतियोगिता खेलेको पुलिस फाइनल पुगेको यो पहिलो अवसर हो। बूढा सुब्बा गोल्डकपमा चार पटकको विजेता पुलिस फाइनल पुगेको यो आठौं पटक हो। पुलिसले उपाधिका लागि शनिबार सिमरा गोल्डकप विजेता सिएमजी क्लब संकटासँग फाइनल खेल्नेछ। संकटाले बुधबार अग्नि रूपन्देही ११ लाई हराउँदै फाइनल यात्रा तय गरिसकेको छ।

खेलमा पहिलो हाफको ३१ मिनेटमा मनबहादुर परियारले गोल गर्दै पुलिसलाई अग्रता दिलाएका थिए। बुद्ध लामाको प्रिकिकमा उनले फ्िलक हेडमार्फत बललाई जाली चुमाए। पुलिसको अग्रता लामो समय टिकेन। पहिलो हाफको ३७औं मिनेटमा रजिन सुब्बाले गोल गर्दै खेल बराबरी बनाए। हेम गुरुङको क्रसमा उनले हेडमार्फत गोल गरेका थिए। तर ४०औं मिनेटमा जुमानु राईको लामो भली पोलमा ठोक्किँदै गोलमा परिणत भएपछि पुलिसले पुनः खेलमा अग्रता लियो। दोस्रो हाफको २१औं मिनेटमा हेडमार्फत दोस्रो गोल गर्दै जुमानुले पुलिसको जित पक्का गरे। सुरज घिमिरेको क्रस पासमा धरानका खेलाडीले मार्क नगरेको मौकामा जुमानुले हेडमार्फत सहज गोल गरे। खेलको म्यान अफ दि म्याच घोषित हँुदै जुमानुले नगद ५ हजार हात पारे।

राष्ट्रिय खेलाडी प्रकाश बुढाथोकी, हेमन्त गुरुङ, हेम गुरुङ, रञ्जित श्रेष्ठ र दुई अफ्रिकन मूलका खेलाडीसहित मैदानमा उत्रिए पनि आयोजकले घरेलु दर्शकलाई निराश बनायो। पहिलो हाफको ३ मिनेटमा हेमन्त गुरुङको कर्नरमा पिटर सेगुनको हेडले पोस्टको दिशा लिएन भने पाँचौं मिनेटमा प्रकाश बुढाथोकीको क्रसमा रेजिनको प्रहारलाई पुलिसका गोलकिपर रोशन खड्काले समाते। यस्तै, १४औं मिनेटमा हेम गुरुङको क्रसमा रेजिनको हेड पनि बाहिरियो। दोस्रो हाफमा लगातार पुलिसको पोस्टमा आक्रमण प्रयास गरे पनि धरान सफल भएन। दोस्रो हाफको ४ मिनेटमा मोउसाको प्रहारलाई पुलिसका किपरले पन्च गरेर असफल बनाए भने १५औं मिनेटमा बुद्ध चेम्जोङको प्रहारलाई पनि किपरले बचाए। पुलिसका भोला सिलवालले पहिलो हाफको १७औं मिनेटमा गोल गर्न चुकेका थिए। धरानका रञ्जित श्रेष्ठबाट बल खोसेर लगेका सिलवालले गरेको प्रहार पिटर सेगुनले बाहिर फालेर संकट टारिदिए।

धरानका प्रशिक्षक सुवास केसीले मिडफिल्ड र डिफेन्सबीच राम्रो तालमेल नभएको र खेलाडीहरूले आत्मविश्वास गुमाएर खेलेको बताए। 'डिफेन्सलाइन कमजोर भयो, मिडफिल्डसँग तालमेल हुन सकेन। हाम्रो टिम राम्रो थियो, तर सुरुदेखि नै कन्पि्कडेन्स लस भयो'–उनले भने। पुलिसका प्रशिक्षक कुमार कटवालले गोलकिपर, डिफेन्स, मिडफिल्ड, फरवार्ड सबैले उत्कृष्ट प्रदर्शन गरेको खेलमा जित भएको भन्दै खेलाडीहरूको प्रशंसा गरे। 'आज सबै पक्ष राम्रो भयो। खेलाडीहरूले अन्त्यसम्म मेहनत गरेर खेले। ब्रिफिङअनुसार जुमानुले राम्रो खेले,' उनले भने।

प्रकाशित: १३ फाल्गुन २०७३ ०५:१८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App