२० आश्विन २०८१ आइतबार
image/svg+xml
खेल

आर्मी र पुलिसबीच उपाधि भिडन्त

काठमाडौं- त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लबले दोस्रो पाथीभरा राष्ट्रिय खुला पुरुष भलिबल प्रतियोगितामा शनिबार खेल्दै छन्। यी दुई टोलीबीच जित हासिल गर्ने टोलीले उपाधि जित्नेछ। राउन्ड रोबिनको आधारमा भैरहेको प्रतियोगितामा अपराजित रहेको आर्मी र पुलिसले समान ९ अंक जोडेका छन्।

प्रतियोगितामा शुक्रबार आर्मीले एपिएफलाई सोझो सेटमा २६–२४, २५–१९, २५–१७ ले हरायो। पहिलो सेट जित्न आर्मीलाई निकै मेहनत गर्नुपरेको थियो। सुरुआतमा आर्मीले १२–८ ले अग्रता लिँदै सहजै सेट जित्ने लयमा अगाडि बढेको थियो। तर राष्ट्रिय टोलीका स्पाइकरसमेत रहेका महेन्द्र श्रेष्ठले उत्कृष्ट स्पाइक गर्दै एपिएफलाई खेलमा पुनरागमन गराएका थिए। महेन्द्रको स्पाइकबाट लगातार ८ अंक जोडेको एपिएफले १६–१२ को अग्रता लियो। तर आर्मीका ओपन स्पाइकर मानबहादुर श्रेष्ठ र धनबहादुर भंटले स्पाइकबाट एपिएफको पुनरागमनलाई निस्तेज पारी आर्मीलाई १८–१६ ले पुन अग्रता दिलाए। तर सेट जित्न आर्मीले २६ अंकसम्म कुर्नुपरेको थियो।

ताप्लेजुङ नगरपालिकास्थित भानु जन मावि कोर्टमा पुलिसले मध्यामञ्चललाई २५–९,२५–१६, २५–१३ ले हरायो। प्रतियोगितामा तेस्रो स्थानका लागि एपीएफ र पूर्वाञ्चलले शनिबार खेल्नेछन्।

आयोजक क्लबका अध्यक्ष दिवस चोङवाङले राष्ट्रिय स्तरको प्रतियोगिताले ताप्लेजुङको भलिबल विकासमा सहयोग गर्ने बताए। उनले भने, 'यसअघि हामीले क्षेत्रीय स्तरको प्रतियोगिता गरेको थियौं। दोस्रो संस्करणबाट राष्ट्रिय स्तरको गर्‍यौं। हाम्रा स्थानीय खेलाडीले राष्ट्रिय स्तरका खेलाडीसँग प्रतिस्पर्धा गर्ने अवसर पाए।'

प्रकाशित: ७ फाल्गुन २०७३ ०४:४१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App