२६ वैशाख २०८१ बुधबार
image/svg+xml
खेल

इपिएस र भानुभक्तको जित

काठमाडौं- इपिएस र भानुभक्तले प्रधानसेनापति अन्तरस्कुल १०औं ट्वान्टी–२० क्रिकेट प्रतियोगितामा बिहीबार जित हात पारेका छन्। इपिएसले पुष्पसदनलाई ३० रनले हरायो। स्वप्निल मुखियाले अविजित ३५ रन जोडेपछि पहिला ब्याटिङ गरेको एपिएसले २० ओभरमा ७ विकेटको नोक्सानीमा १ सय १२ रन जोड्यो।

स्वप्निलले ३२ बलमा २ चौका प्रहार गरे। आभास चन्दले १४ रन बनाए। पुष्पसदनका स्वीकृत साउदले ३ विकेट लिए। उनले ४ ओभरमा १२ रन खर्चेका थिए। त्यस्तै आर्य पाठकले २ विकेट र सौरभ अधिकारीले १ विकेट लिए।

जबाफमा पुष्पसदनले १८.५ ओभरमा ८२ रन मात्र जोड्न सक्यो। पुष्पसदनका कमल ठाकुरले १७ रन बनाउनुबाहेक अन्यले  दोहोरो स्कोर जोड्न सकेनन्। इपिएसका पाबिन गुरुङ र स्वप्निल मुखियाले समान ३ विकेट लिए। प्लेयर अफ दी म्याच स्वप्निलले २.५ ओभरमा १५ रन खर्चे।

अर्को खेलमा भानुभक्तले केएमसीलाई १६ रनले हरायो। प्रवेश थपलियाले २२ र सुजित शर्मा पौडेलले १९ रनको योगदान गरेपछि पहिला ब्याटिङ गरेको भानुभक्तले २० ओभरमा ८ विकेटको नोक्सानीमा ९९ रन जोड्यो।

प्रवेशले ४५ बलमा १ चौका प्रहार गरे। केएमसीका  प्रतीक श्रेष्ठ र निशान्त गिरीले ३/३ विकेट लिए।

जबाफमा केएमसीले १९.२ ओभरमा ८३ रन मात्र जोड्न सक्यो। केएमसीका राहुल यादवले १७ रन  बनाए। केएमसीका अन्य खेलाडीले भने दोहोरो स्कोर जोड्न सकेनन्।

प्लेयर अफ दी म्याच भानुभक्तका प्रवेश थपलियाले ३ विकेट लिए। उनले ३.२ ओभरमा ८ रन खर्चेका थिए। आयुश पौडेल र सुनील भण्डारीले २/२ विकेट लिए।

प्रकाशित: ६ फाल्गुन २०७३ ०५:१४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App