७ आश्विन २०८१ सोमबार
image/svg+xml
खेल

बुधबारदेखि विद्यालयस्तरीय ब्याडमिन्टन

प्रतियोगिताबारे पत्रकार सम्मेलनमार्फत जानकारी दिँदै मोहन भूगोल ब्याडमिन्टन फाउन्डेसनका पदाधिकारी।तस्बिरः धन-नागरिक

आगामी बुधबारदेखि पोखरामा १२ वर्षमुनिदेखि ५५ वर्ष उमेरसमूहको ब्याडमिन्टन प्रतियोगिता सुरु हुँदै छ। पोखरा महानगर खेलकुद विकास समिति तथा मोहन भूगोल ब्याडमिन्टन फाउन्डेसनको संयुक्त आयोजनामा बुधबारदेखि पोखरा रंगशालास्थित ब्याडमिन्टन हलमा दोस्रो विद्यालयस्तरीय राष्ट्रिय ब्याडमिन्टन प्रतियोतिगता सुरु हुने आइतबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो।

प्रतियोगितामा विभिन्न ९ वटा इभेन्टमा प्रतिस्पर्धा गराइने फाउन्डेसनका अध्यक्ष भूगोल गुरुङले जानकारी दिए। उनका अनुसार राष्ट्रिय विद्यालयस्तरीय लोअर सेकेन्डरी लेभल छात्र तथा छात्रा (कक्षा ७ सम्म अध्ययनरत १३ वर्ष ननाघेको हुनुपर्ने) मा प्रतिस्पर्धा गराइनेछ।  

त्यसै गरी माध्यमिक तह (सेकेन्डरी लेभल) राष्ट्रियस्तरको छात्र तथा छात्रा इभेन्टमा प्रतिस्पर्धा गराइनेछ। सेकेन्डरी लेभलमा विद्यार्थीहरूको उमेर हद १७ वर्ष ननाघेको हुनुपर्ने प्रावधान फाउन्डेसनले तय गरेको छ। ‘ब्याडमिन्टन खेलको विकाससँगै नयाँ प्रतिभावान् खेलाडी उत्पादनमा टेवा पुग्ने विश्वाससहित दोस्रो पटक विद्यालयस्तरीय राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता आयोजना गरेका हौं,’ फाउन्डेसनका अध्यक्ष भूगोल गुरुङले भने। विद्यालस्तरीयसँगै पोखरा महानगर वडास्तरीय खुल्ला व्याडमिन्टन प्रतियोगितालाई समेत समावेश गरिएको महानगरपालिका खेलकुद विकास समितिका अध्यक्ष दीपकबहादुर गोदारले जानकारी दिए।  

महिला डबल्स, ३५ वर्षमाथिको उमेरसमूहको समेत राष्ट्रियस्तरमा प्रतिस्पर्धा गराइने फाउन्डेसनले जनाएको छ। ४५ वर्षमाथिको र ५५ वर्षमाथिको खुला राष्ट्रिय प्रतियोगितालाई समेत इभेन्टका रूपमा समेटिएको छ। प्रतियोगिता आगामी वैशाख ३० गतेसम्म पोखरा रंगशाला ब्याडमिन्टन हलमा सञ्चालन हुने छ। ३५, ४५ र ५५ वर्षमाथिको उमेरसमूहको भने डबल्स इभेन्टमा मात्रै प्रतिस्पर्धा हुनेछ।  

लोअर सेकेन्डरी लेभलको विजेता विद्यार्थीलाई आकर्षक गिफ्ट ह्याम्पर प्रदान गरिने फाउन्डेसनले जनाएको छ। त्यसै गरी सेकेन्डरी लेभल छात्र तथा छात्रा विजेताले नगद ३०, २० र १० हजार नगद प्राप्त गर्नेछन्। उत्कृष्ट खेलाडीले माउन्टेन बाइक (साइकल) प्राप्त गर्ने पत्रकार सम्मेलनमा जानकारी दिइयो। त्यस्तै ३५, ४५ र ५५ वर्षमाथिको उमेर समूहको डबल्स इभेन्टको विजेताले पनि क्रमश ३०, २० र १० हजार नगद प्राप्त गर्नेछन्।  

प्रतियोगिताको मुख्य प्रायोजकको रूपमा मोहन भूगोल ब्याडमिन्टन फाउन्डेसन रहेको छ। त्यस्तै पोखरा महानगर खेलकुद विकास समितिले प्रतियोगितामा सहकार्य गरेको छ। फाउन्डेसनले उजुरी परेको अवस्थामा विद्यालयलाई कारबाही गरिने समेत जनाएको छ। प्रतियोगितामा एसइई दिइएको विद्यार्थीलाई समावेश नगराइने समेत फाउन्डेसनले उल्लेख गरेको छ। खेलाडीहरूको उमेर खुल्ने प्रमाणपत्र अनिवार्य पेस गर्नुपर्नेछ।  

प्रकाशित: २५ वैशाख २०८० ०१:२८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App