२२ असार २०८१ शनिबार
image/svg+xml
खेल

संकटा सिमरा गोल्डकप च्याम्पियन

बारा- त्रिभुवन आर्मी क्लबलाई टाईब्रेकरमा स्तब्ध पार्दै सिएमजी संकटा क्लबले रुस्लान सिमरा गोल्डकपको आठौं संस्करणको उपाधि जितेको छ। शनिबार संकटाले सिमर रंगशालामा आर्मीलाई टाईब्रेकरमा ४–२ ले पराजित गर्‍यो। निर्धारित समय खेल १–१ को बराबरी भएपछि खेल टाइब्रेकरमा पुगेको थियो।

टाईब्रेकरमा संकटाका राज पौडेल, अनिल गुरुङ, अमित तामाङ र कुलदिप कार्कीले गोल गरे। संकटाका बिश्व अधिकारीको प्रहार आर्मीका गोलकिपर सुनिल श्रीवास्तवले रोके। यसैगरी आर्मीको तर्फबाट सन्तोष तामाङ र हिरण्य मगरले मात्र गोल गरेका थिए। आर्मीका जितेन्द्र कार्की र दिपक गुरुङको प्रहार संकटाका गोलरक्षक बिनय श्रेष्ठले रोकेको थिए।

आर्मीले सुरुआतमा अग्रता लिएको थियो। ४७औं मिनेटमा आर्मीका बालकृष्ण श्रेष्ठले गोल गर्दै विभागीय टोलीलाई अग्रता दिलाएका थिए। शनिबार दुबै टोलीले सुरुआतमा आक्रमक रुपमा खेल्ने प्रयास गरेका थिए। तर दुबै टोलीले केहि राम्रा अवसर गुमाए। पहिलो हाफमा १–० ले पछि परेको संकटाले भने दोस्रो हाफमा सुधारिएको प्रदर्शन गरेको थियो। ५६औं मिनेटमा अमित तामाङ गोल गर्दै खेल बराबरीमा पुर्‍याए।

आर्मीका बालकृष्ण श्रेष्ठले मार्टिन अजाईलाई लडाएपछि संकटाले फ्रिकिक प्रहार गर्ने अवसर पाएको थियो। त्यो अवसरमा अमितले गोल गर्दै टोलीलाई खेलमा फर्काएका थिए। निर्र्धारित समय खेल बराबरी भएपछि अतिरिक्त २० मिनेट थपिएको थियो। अतिरिक्त समयमा पनि गोल हुन नसकेपछि खेल टाइब्रेकरमा पुग्यो।

संकटाका गोलरक्षक बिनय श्रेष्ठ प्रतियोगिताको उत्कृष्ट खेलाडीको रुपमा पुरस्कृत भए। उनले उत्कृष्ट भएबापत यामाहा मोटरसाइकल पुरस्कार पनि पाए। उत्कृष्ट फरवार्ड संकटाका अनिल गुरुङ, उत्कृष्ट मिडफिल्ड आर्मीका सन्तोष तामाङ, उत्कृष्ट डिफेन्स आर्मीका बिमल पाण्डे, उत्कृष्ट प्रशिक्षक संकटाका सल्यान खड्गी र सर्वाधिक गोलकर्ताको पुरस्कार आर्मीका बालकृष्ण श्रेष्ठले जिते।

बिधागत तर्फको उत्कृष्टले समान १५ हजार पाए। प्रतियोगिताको फेयर प्लेको पुरस्कार एपिएफ क्लबलाई प्रदान गरिएको थियो। 

प्रतियोगिताको विजेता संकटाले ५ लाख ५१ हजार र उपबिजेता आर्मीले भने २ लाख ५१ हजार प्राप्त गर्‍यो।

प्रतियोगिताको बिजयी खेलाडीलाई युवा तथा खेलकुद मन्त्रालयका सचिव महेशप्रसाद दाहाल, आयोजक नव जनजागृति युवा क्लबका अध्यक्ष कासिम मियालगायतले पुरस्कृत गरे।

प्रकाशित: १ फाल्गुन २०७३ ०४:५५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App