१८ असार २०८१ मंगलबार
image/svg+xml
खेल

पुलिससँग जावलाखेल स्तब्ध

राजधानीमा जारी सहिद स्मारक ‘ए’ डिभजिन लिगअन्तर्गत दोस्रो राउन्डको खेलमा शीर्ष स्थानको जावलाखेल युथ क्लब नेपाल पुलिससँग २–१ गोल अन्तरले स्तब्ध हुँदा अर्को खेलमा दोस्रो स्थानको थ्री स्टार खुमलटार युथ क्लबसँग २–२ को बराबरीमा रोकिएको छ।  

ललितपुरस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालयको मैदानमा सम्पन्न खेलमा पहिलो राउन्डमा खराब नतिजाबाट गुज्रिरहेको पुलिसले दोस्रो राउन्डको पहिलो खेलमा भने उत्कृष्ट सुरुआत गरेको हो। पुलिसको जितमा दुवै गोल विदेशी खेलाडीले गरे। पुलिसका लागि मोसेस ग्याबाह र अहमद हिजाजीले एक-एक गोल गरे भने जावलाखेलका विपिन कँडेलले एक गोल फर्काएका थिए।

प्रतिस्पर्धात्मक बनेको खेलको ३५औं मिनेटमा मोसेसले गोल गर्दै पुलिसलाई सुरुआती अग्रता दिलाएका थिए। मोसेसले अजित भण्डारीको फ्रिकिकलाई हेडमार्फत जाली चुमाउन सफल भएका थिए।  

त्यसपछि दबाबमा परेको जावलाखेलले खेलमा फर्किन निकै प्रयास गरे पनि पहिलो हाफमा सफल हुन सकेन। गोलका लागि बारम्बार अगाडि बढेर खेलेको जावलाखेलले दोस्रो हाफमा पनि अपेक्षाअनुसारको प्रदर्शन गर्न सकेन। अगाडि बढेको मौकामा ८८औं मिनेटमा अहमदले पुलिसको अग्रता दोब्बर बनाए। अहमदले मोहम्मदको थ्रो बललाई नियन्त्रणमा लिँदै उकृष्ट गोल गरे।

त्यसको एक मिनेट नबित्दै जावलाखेलका विपिनले गोल गर्दै अग्रता घटाए पनि बाँकी समयमा टोलीले थप गोल गर्न सकेन र नतिजा पुसिललाई सुम्पियो।  

यससँगै लिगमा पुलिसले चौथो जित निकालेको छ। जितसँगै पुलिस १४ खेलमा १५ अंक जोडेर १०औं स्थानमा उक्लिएको छ। उता पराजित जावलाखेलले पनि जारी लिगमा चौथो हार भोगेको छ। जावलाखेल १४ खेलमा २४ अंक जोडेर शीर्ष स्थानमै छ।

लिगअन्तर्गत ललितपुरस्थित च्यासल मैदानमा सम्पन्न खेलमा थ्री स्टार क्लब र खुमलटार युथ क्लबले २–२ गोलको बराबरी खेल्दै अंक बाँडेका छन्। चौथो मिनेटमा थ्री स्टारले अग्रता लिएको थियो। लाकेन लिम्बुले गोल गर्दै थ्री स्टारलाई अग्रता दिएपछि पहिलो हाफको इन्जुरी समयमा खुमलटारका मेसुके ओलोमोउले गोल गर्दै खेल बराबरीको अवस्थामा ल्याएका थिए। दोस्रो हाफमा थप आक्रामक रणनीतिका साथ मैदान उत्रिएको थ्री स्टारले हिलाम्मे मैदानमा सम्हालिएको प्रदर्शन गर्न सकेन। अगाडि बढेको मौकामा खुमलटारले गोल गर्दै अग्रता उल्टाउन सफल भएको थियो। स्टेफन समिर विनोङले ५१औं मिनेटमा गोल गर्दै खुमलटारको अग्रता उल्टाएका थिए। तर ६८औं मिनेटमा भने थ्री स्टारले पेनाल्टीबाट खेल बराबरीको अवस्थामा ल्याउन सफल भयो। आदित्य शाक्यले पेनाल्टीमा गोल गर्दै टोलीलाई हारबाट जोगाउन सफल भए।  

यससँगै थ्री स्टारले शीर्ष स्थानमा उक्लिने मौका गुमाएको छ। १४ खेलबाट २३ अंक बनाएको थ्री स्टार तालिकाको दोस्रो स्थानमा यथावत् रहँदा समान खेलबाट १४ अंक बनाएको खुमलटार तालिकाको पुछारमा झरेको छ।  

लिगमा बुधबार तीन खेल हुनेछन्। च्यासल मैदानमा सातदोबाटो युथ क्लब र हिमालयन शेर्पाबीच दिनको पहिलो प्रतिस्पर्धा हुँदा दशरथ रंगशालामा पहिलो खेल फ्रेन्ड्स र चर्च ब्वाइजबीच हुनेछ। यस्तै साँझ दशरथ रंगशालामा त्रिभुवन आर्मी र मनाङ मस्र्याङ्दी क्लबबीच अर्काे खेल हुनेछ। 

प्रकाशित: २० वैशाख २०८० ०१:२६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App