२८ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

पोखरा स्पोर्टस अवार्डः बक्सिङका मर्सानीलाई ‘लाईफटाइम अचिभमेन्ट अवार्ड’

विद्याप्रसाद मर्सानी

सातौं संस्करणको पोखरा स्पोर्ट्स अवार्ड अन्तरगतको ‘लाइफटाइम अचिभमेन्ट अवार्ड’ बक्सिङका वरिष्ठ प्रशिक्षक विद्याप्रसाद मर्सानीलाई प्रदान गरिने भएको छ।

आयोजक नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले अवार्डका लागि गठन गरेको प्रतिभा छनोट उपसमितिले गरेको सिफारिसको आधारमा ३५ वर्ष प्रशिक्षक भएरै खेलकुदमा जीवन अर्पण गरेका मर्सानीलाई अवार्ड प्रदान गर्न लागिएको हो। उपसमितिको सिफारिसलाई मञ्चको २३ औं बैठकले अनुमोदन गरेको थियो।

लाईफ टाईमबाट यसअघि कृष्ण थापा, खड्कबहादुर रानाभाट, डा.वीरेन्द्रसिंह गुरुङ, चित्रबहादुर गुरुङ, आनन्द रञ्जित र गणेशबहादुर भट्टराईले यो विधा अन्तरगतको पुरस्कार पाएको मञ्चले जनाएको छ। यहीँ वैशाख २३ गते शनिबार पोखरा सभागृह हलमा आयोजना हुने अवार्ड कार्यक्रममा लाइफटाइम अचिभमेन्ट अवार्ड प्राप्त गर्नेनलाई चाँदीको करुवा, ट्रफी, ताम्रपत्र र दोसल्ला सम्मान गरिनेछ। लाईफटाइम अचिभमेन्ट अवार्डलाई कास्कीको मादी गाँउपालिकास्थित सुपरमादी हाईड्रोपावर लिमिटेडले प्रायोजन गरेको छ।

मर्सानी २०१९ असार १३ गते जन्मेका हुन् । तनहुँको बन्दीपुरमा मर्सानीको जन्म भएको हो। मर्सानीलाई बक्सिङ खेलमा रस पसेको १५ वर्षको उमेरदेखि हो। जागिरे बुवाको प्रेरणामा २०३४ साल अघि नै साथीहरुसँग बक्सिङ खेल्न थालें। बुवाको नोकरीको सिलसिलामा जर्मनी प्रोजेक्ट अन्तर्गत खैरहनी क्वार्टरमा रहँदा त्यतिबेला ननलिस्टिङ प्रतियोगिता एनसीसीबाट खेलेका थिए। त्यो समयमा पोखराकै आश बहादुर गुरुङ, जसको सहयोगमा महेन्द्रपुल युथ क्लब मार्फत् बक्सिङका लागि प्रशिक्षण लिने दिने काम पोखरामा सुरु भयो।

मर्सानीले बक्सिङ प्रतियोगितामै भाग लिएको भने २०३७ सालदेखि हो। भैरहवामा बक्सिङकै पहिलो राष्ट्रिय प्रतियोगिता भयो, जहाँ गण्डकी अञ्चलबाट उनी छनौट भएका थिए। पहिलो सहभागितामै काँस्य जिते। त्यसपछि २०३८ सालमा काठमाडौंमा वृहत राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागिता जनाए। वीरगञ्जमा भएको सातौं राष्ट्रिय बक्सिङ प्रतियोगितामा सिल्भर मेडल जिते। २०४१ मा नवौं बक्सिङ प्रतियोगितामा भने गोल्ड मेडल हात पारे। त्यसपछि मर्सानी पढ्नका लागि २०४२ सालमा सहायक प्रशिक्षकका रुपमा खेलकुद विकास समितिमा प्रवेश गरें। दुईवर्ष भारत पढेर फर्किसकेपछि पूर्ण प्रशिक्षकका रुपमा नेपाली राष्ट्रिय बक्सिङ टीमको नेतृत्व गरेंका थिए। बक्सिङ खेलको प्रशिक्षकको रुपमा ३५ वर्ष जागिरे भएर २०७७ साल असारमा अनिवार्य अवकास पाएका थिए।

सहायक प्रशिक्षक भएपछि उनले गण्डकीका विभिन्न जिल्ला पुगेर प्रशिक्षणका लागि बक्सिङ खेलाडी खोज्दै हिँडे। त्यो बेला आठौं राष्ट्रिय खेलकुदमा १० पदकमा ९ पदक जित्न सफल भएको थियो। २ स्वर्ण, ५ रजत र २ काँस्य प्राप्त भएको थियो। त्यसपछि, नवौं सागमा प्रशिक्षक भई इस्लामावाद पुगेर फर्किए। २०५७ मा अण्डर नाइन्टिन साफ गेम खेलाउँदा उत्कृष्ट प्रदर्शन पश्चात् शिक्षा पुरस्कारबाट पुरस्कृत भए।  

प्रकाशित: १८ वैशाख २०८० ०९:४१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App