१२ मंसिर २०८१ बुधबार
image/svg+xml
खेल

कप्तानको जिम्मेवारीबाट कुकको राजीनामा

लन्डन- एलेस्टर कुकले सोमबार इङल्यान्ड टेस्ट टोलीको कप्तानीबाट राजीनामा गरेका छन्। इङल्यान्डलाई ५९ टेस्टमा कप्तानी गर्दै कीर्तिमान बनाएका कुकले सोमबारको दिनलाई दुःखद बताउँदै राजीनामाको निर्णय टोलीका लागि भने सही सावित हुने विश्वास व्यक्त गरेका छन्।

आउँदो दुई साताभित्र नयाँ कप्तानको घोषणा गर्दा योर्कसायरका ब्याट्सम्यान जोए रुटले नेतृत्वको जिम्मेवारी पाउने सम्भावना छ।

२०१२ को अगस्टबाट टोलीको नेतृत्व गरेका कुकले इङल्यान्डलाई २०१३ मा घरेलु मैदानमा एसेज टेस्ट शंृखला जिताएका थिए भने २०१५ मा दक्षिण अफ्रिका र भारतविरुद्धको शंृखला जिताएका थिए।

११ हजार ५७ रन जोडेका उनी टेस्ट क्रिकेटमा इङल्यान्डको तर्फबाट सर्वाधिक रन जोड्ने खेलाडी हुन्।

‘इङल्यान्डको कप्तानी गर्न पाउनु र टेस्ट टोलीलाई ५ वर्ष नेतृत्व गर्न पाउनु ठूलो गर्वको कुरा हो,’ टेस्ट क्रिकेटलाई निरन्तरता दिने संकेत गरेका ३२ वर्षे कुकले भने, ‘कप्तानको जिम्मेवारी छोड्नु धेरै कठिन निर्णय थियो। तर यो म र टोलीका लागि सही निर्णय हो भन्ने मलाई थाहा छ।’

गत वर्षको अन्त्यमा भारतको घरेलु मैदानमा पाँच टेस्टको शंृखला ४–० ले गुमाएपछि कुकलाई कप्तानी छोड्न दबाब बढ्दै आएको थियो।

टेस्ट क्रिकेटमा इङल्यान्डको लागि सर्वाधिक खेलमा कप्तानी गरेका कुक सबै भन्दा धेरै शतक प्रहार गर्ने कप्तान समेत हुन्।

उनी २०१३ मा अन्तर्राष्ट्रिय क्रिक्रेट परिषद (आइसिसी)को विश्व टेस्ट कप्तान घोषित भएका थिए।

‘यो मेरो लागि दुःखद दिन हो। व्यक्तीगत रुपमा धेरै तरिकाबाट आज म खुसी हुन सक्दिन। तर म सबैलाई धन्यबाद दिन चाहन्छु। जसलाई मैले कप्तानी गरे, सबै प्रशिक्षक र सहयोगी पदाधिकारी र इङल्यान्डका समर्थकहरुप्रति म आभारी छु,’ कुकले भने, ‘इङल्यान्डबाट खेल्नु जोसुकैका लागि विशेष अवसर हो। टेस्ट खेलाडीका रुपमा खेल जीवनलाई निरन्तरता दिने मेरो आशा छ। म सकेसम्म नयाँ कप्तान र टोलीलाई मेरो तर्फबाट सक्दो योगदान र सहयोग गर्न चाहन्छु।’

उनको कप्तानीमा इङल्यान्डले सन् २०१५–१६ मा दक्षिण अफ्रिकाविरुद्धको शंृखला जितेको थियो भने गत वर्ष पाकिस्तानमाथि पाएको एक जितपछि टोली आइसिसी टेस्ट वरियताको शीर्ष स्थानमा उक्लिएको थियो।

उनी टेस्ट क्रिकेटमा १० हजार रन पूरा गर्ने इङल्यान्डका पहिलो ब्याट्सम्यान हुन्। उनी ११ हजार रनसहित सर्वकालिन सर्बाधिक रन जोड्ने खेलाडीको सुचीको १०औं नम्बरमा छन्।

प्रकाशित: २५ माघ २०७३ ०४:१५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App