२० वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

भुतपुर्व खेलाडी मञ्चको लक्ष्य ‘एथलेटिक्स एकेडेमी ’

नेपाल भूतपूर्व खेलाडी मञ्च पोखराले एथलेटिक्सका खेलाडी उत्पादन गर्ने लक्ष्यसहितको एकेडेमी स्थापना गर्ने लक्ष्य राखेको छ। मञ्चको हालै सम्पन्न १२ औं वार्षिक साधारण सभामा अध्यक्ष हरिप्रसाद पराजुलीले आफ्नो योजना सार्वजनिक गर्दै एथलेटिक्स एकेडेमी स्थापना गरिने लक्ष्य राखिएको सुनाए।  

‘एथलेटिक्सका खेलाडी उत्पादन गर्ने मञ्चको योजना छ’ उनले भने, ‘फुटबल क्लबका आफनै एकेडेमी छन्। हामीले पनि एथलेटिक्स खेलाडी उत्पादन गर्ने लक्ष्यसहित एकेडेमी स्थापना गर्ने योजना अघि सारेका हौँ।’

मञ्चले पोखरा अन्तर्राष्ट्रिय म्याराथनको पुरस्कार राशि बढाउने प्रस्ताव गरिएको छ। म्याराथन मार्फत पोखरालाई अन्तर्राष्ट्रिय शहरसँग परिचित गराउने ध्येयसहित आवश्यक पुरस्कार राशीमा वृद्धि गर्नुपर्नेमा जोड दिएका हुन्। मञ्चले १८ औं संस्करणको तयारी थालेसँगै पुरस्कार राशि बढाउने प्रस्ताव गरिएको अध्यक्ष पराजुलीको भनाई थियो। ‘पुरस्कार राशि बढाउने लक्ष्यमा छौं। कुनै दाता भेटिएको अवस्थामा पुरस्कार बढाउँछौँ,’ उनले भने, ‘पुरस्कार राशि बढाउने लक्ष्य हौँ। त्यसै अनुसार म्याराथन र हाफ म्याराथनमा चिप्सको प्रयोग गर्ने योजनामा छौं।’ उनले म्याराथन र हाफ म्याराथनसँगै १० किलोमिटर र विद्यालय स्तरीय दौडलाई चिप्स प्रयोग गर्ने तयारीमा रहेको सुनाए।  

मञ्चले १८ औं संस्करणको लागि २५ लाख रुपैयाँ पुरस्कार राशिको प्रस्तावसहितको लक्ष्य रहेको वार्षिक साधारण सभामा पेस गरिएको थियो। गत फागुनमा सम्पन्न भएको १७ औं संस्करणको पोखरा म्याराथनमा मञ्चले पुरस्कार राशि बापत १७ लाख रुपैयाँ खर्च गरेको थियो। म्याराथन, हाफ म्याराथन, दश किलोमिटर महिला तथा पुरुष, विद्यालय स्तरीय छात्र तथा छात्रा दौड, ह्विलचियर दौड र दृष्टिविहीन दौड लगायतका इभेण्टमा मञ्चले पुरस्कारमा मात्रै १७ लाख रुपैयाँ  खर्च गरेको थियो।

गत वर्षको संस्करणमा मञ्चले ४ लाख ४१ हजार बचत गरेको समेत आयव्यय सुनाइएको थियो। गत फागुन ६ गते सम्पन्न म्याराथनमा विभिन्न प्रायोजक र सहयोगीहरुबाट रु ६१ लख ६१ हजार ३७३ र खर्चतर्फ रु ५७ लाख १९ हजार ७८५ गरी कुल रु ४ लाख ४१ हजार ५८८ आम्दानी भएको मञ्चले जनाएको हो।  

साधारण सभाको उद्घाटन गर्दै नेपाली सेना पश्चिम पृतनापति उपरथी दीपककुमार बानियाँले नेपालको खेलकुद विकासमा मञ्चले गरेको कार्य प्रशंसनिय रहेको सुनाउँदै भने, ‘मञ्चको आयोजनामा हुने पोखरा म्याराथन होस वा अन्य सामाजिक कृयाकलाप यसले सबैलाई हौसला मिलेको छ र नेपाली सेनाले समेत मञ्चसँग सहकार्य गर्दै खेलकुद विकासमा अघि बढेको छ।’

प्रदेश खेलकुद परिषद्का सदस्य सचिव घनश्याम पौडेलले खेलकुदमा संघीयता नआउँदा नीतिगत रुपमा धेरै समस्या आएको उल्लेख गरे। मञ्चले खेलकुद र सामाजिक अभियानमा खेलेको भूमिका महत्त्वपूर्ण रहेको बताउँदै उनले आगामी दिन समेत प्रदेशको खेलकुद विकासका लागि मञ्च र परिषद् सहकार्य गर्दै अघि बढ्ने बताए। कार्यक्रममा मञ्चका संस्थापक अध्यक्ष खड्ग बहादुर रानाभाट, मञ्चका प्रथम उपाध्यक्ष दिल बहादुर गुरुङ, नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीका अध्यक्ष दिननाथ बराललगायतले आफ्ना भनाई राख्दै मञ्च अझैसबैसँग सहकार्य गर्दै सक्रियताका साथ अघि बढ्ने बताए।

मञ्चका महासचिव कृष्ण तिमिल्सिनाले संस्थाको सागँठानिक प्रतिवेदन र कोषाध्यक्ष महेश पौडेलले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए। मञ्चले कार्यालय भवन निर्माणका लागि अघि बढ्ने योजना रहेको जनाएको छ।

प्रकाशित: १० वैशाख २०८० ०९:०६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App