२० वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

राष्ट्रिय बुद्धिचालः रुपेश र सुजनाको जित निरन्तर

राष्ट्रिय बुद्धिचाल च्याम्पियनसिप अन्तर्गत खुलातर्फ शीर्ष वरीयताका फिडेमास्टर रुपेश जयशवाल र महिलातर्फ सुजना लोहनीले आआफ्नो जित यात्रालाई छैटौं चरणसम्म पुर्याउँदा एकल अग्रतालाई कायम राखेका छन्।

प्रतियोगिताको चौथो दिन शुक्रबार पाँचौं र छैटौं चरणको खेलमा रुपेशले लगातार जित निकाले। रुपेशले पाँचौं चरणमा राजन पुरीलाई हराउँदा छैटौं चरणमा पूर्व नेपाल च्याम्पियन सुरवीर लामालाई पराजित गरे।

१४ वर्षीय युवा खेलाडी पुरुषोत्तम सिलवाल ५ अंकसहित रुपेशलाई पछ्याइरहेका छन्। विहीबार चौथो चरणमा रुपेशसँग पराजित भएका पुरुषोत्तमले शुक्रबार पाँचौं चरणमा साविक विजेता पुरुषोत्तम चौलागाईंलाई ४१औं चालमा जित हासिल गरे। छैटौं चरणमा पूर्व नेपाल च्याम्पियन केशव श्रेष्ठलाई ४६औं चालमा निराश पारे।

फिडेमास्टर क्षितिज भण्डारी साढे ४ अंकसहित तेस्रो स्थानमा छन्। पाँचौं चरणमा राजन सुवेदीसँग बराबरी खेलेका क्षितिजले छैटौं चरणमा राजीव कार्कीमाथि जित हासिल गरे। नेपाल बुद्धिचाल महासंघ र लुम्बिनी इभेन्ट म्यानेजमेन्टको संयुक्त आयोजनामा जारी प्रतियोगितामा राजन सुवेदी चार अंकसहित चौथो स्थानमा छन्।

दिव्यांश मल्टी प्रोडक्सनको प्रमुख प्रायोजन तथा रुक्मिणी टूर्स एण्ड ट्राभल्सको सह प्रायोजनमा भइरहेको प्रतियोगिताको महिलातर्फ वुमन फिडेमास्टर सुजना लोहनीले शतप्रतिशत जितयात्रालाई कायम राख्दै शीर्ष स्थानमा १।५ अंकको अग्रता बनाइन्। पाँचौं चरणमा उनले विनिता कपालीलाई पराजित गरिन् भने छैटौं चरणमा पुनम प्रसाईंलाई हराइन्।

सुशीला गुरुङ साढे ४ अंकसहित दोस्रो स्थानमा छिन् भने तेस्रो स्थानमा रहेकी शान्ती धिमालले ४ अंक जोडेकी छन्। सुशीलाले पाँचौं चरणमा पूजा भण्डारीलाई हराउँदा छैटौं चरणमा रिया श्रेष्ठसँग बराबरी खेलिन्। शान्तिले पाँचौं चरणमा रियालाई पराजित गरेकी थिइन्। छैटौं चरणमा विनिता कपालीलाई हराइन्।लाजिम्पाटस्थित होटल ले हिमालयमा भइरहेको प्रतियोगितामा शनिबार सातौं र आठौं चरणका खेलहरु हुनेछन्। 

प्रकाशित: ८ वैशाख २०८० १५:३८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App