२३ भाद्र २०८१ आइतबार
image/svg+xml
खेल

मुख्यमन्त्री कप फेन्सिङमा बाग्मती च्याम्पियन

कैलालीको धनगढीमा आयोजित फेन्सिङको इपी इभेन्टमा गण्डकी प्रदेशले एक स्वर्ण, एक रजत र एक कांस्य पदक जितेर तेस्रो स्थानमा रहँदै प्रतियोगिता टुग्ंयाएको छ। दुईदिने प्रतियोगितामा बाग्मती प्रदेश च्याम्पियन हुँदा सशस्त्र प्रहरी बल भने दोस्रो स्थानमा रह्यो। बाग्मतीले एक स्वर्ण, दुई रजत र एक कांस्य जित्दा सशस्त्रले एक स्वर्ण एक रजत र दुई कांस्य पदक जितेको थियो। आवश्यक खेलसामग्रीकै अभावमा पनि कास्की जिल्लाका फेन्सिङ खेलाडीले पदक जित्दै गण्डकीको शाखलाई गर्विलो बनाएको कास्की जिल्ला फेन्सिङ संघले जनाएको छ।  

तेस्रो स्थानमा रहेको गण्डकीका लागि कृपा गुरुङले इपी जुनियरतर्फ स्वर्ण पदक जितिन्। उनले स्वर्णसँगै नगद १५ हजार रूपैयाँ प्राप्त गरेको कास्की जिल्ला फेन्सिङ संघका अध्यक्ष विजय शाहीले जानकारी दिए। उनका अनुसार सचिन खत्रीले रजत पदक प्राप्त गरे। उनले नगद १० हजार प्राप्त गरेका छन्। त्यस्तै कुमार मल्लले डेब्यु प्रतियोगितामा कांस्य पदक जित्दै फेन्सिङको करियरमा सुखद सुरुआत गरे। उनले कांस्य पदकसहित नगद ५ हजार रूपैयाँ प्राप्त गरेका थिए। कैलालीको धनगढीमा आयोजनामा भएको ‘प्रथम मुख्यमन्त्री राष्ट्रिय कप फेन्सिङ प्रतियोगितामा सहभागितामा गण्डकी प्रदेशबाट १० खेलाडीले प्रतिस्पर्धा गरेका थिए। जुनियर तथा सिनियर इपीतर्फको इभेन्टमा प्रतिस्पर्धा गरेका थिए। सिनियर महिलातर्फ मेरिया पुन र जुनियरतर्फ कृपा गुरुङले प्रतिस्पर्धा गरेकी थिइन्। जुनियर पुरुषतर्फ नवराजजंग कार्की, सचिन खत्री, कुमार मल्ल, समीर सुनार र श्रीश बास्तोलाले प्रतिस्पर्धा गरेको संघले जनाएको छ।

प्रकाशित: २ वैशाख २०८० ००:५० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App