७ जेष्ठ २०८१ सोमबार
image/svg+xml
खेल

इलाम–माइपोखरी म्याराथुन सुरु

प्रतियोगितामा भाग लिन विभिन्न स्थानबाट आएका म्याराथुनका अनुभवी खेलाडी तस्बिरः भीम-नागरिक

इलाम–माइपोखरी म्याराथुन आज (शुक्रबार) हुँदैछ । पुरुषतर्फ ४२.२ र महिलातर्फ २१.१ किलोमिटरको म्याराथुन सुरु भएकाे छ।

पुरुषतर्फ म्याराथुन विजेताले अढाई लाख र महिलाका विजेताले १ लाख रुपैयाँ नगद पुरस्कार पाउने छन्। ‘खेलकुदको विकास स्वस्थकर जीवन, इलामको अभियान–पर्यटन प्रवर्धन’ नारासहित आयोजना गरिएको म्याराथुनमा पुरुषले इलाम नगरपालिका–१०, गोदकको नारायण चोकदेखि माइपोखरीको सातखाल्डेसम्म र महिलाले इलाम बजारदेखि सातखाल्डेसम्मै दौडिनुपर्नेछ।

प्रतियोगितामा सहभागी हुन नेपालका विभिन्न म्याराथुनका विजेता खेलाडीसमेत आएका छन् । ओलम्पियन हरि रिमाल, एसियन क्रस कन्ट्रीका गोल्ड मेडलिस्ट त्रिभुवन आर्मीका राजन रोकाया, एसियन क्रस कन्ट्री विजेता एपिएफकी पुष्पा भण्डारी, बंगलादेशमा आयोजित बंगबन्धु म्याराथुनकी रजत विजेता राजपुरा पछाई, ४२ किमीको पाथीभरा म्याराथुन विजेता समालमु शेर्पा र इलाम चिसापानीकी ओलम्पियन एपिएफकी प्रमिला रिजाललगायत पनि म्याराथुनमा सहभागी हुन आएका छन्। 

अहिले बिहान साढे ७ बजे नारायणचोकबाट पुरुषको र ८ बजे इलामको टुँडिखेलबाट महिलाको म्याराथुन सुरु भएकाे खतिवडाले जानकारी दिए। उनका अनुसार खेलाडी गोदक–माइखोला–गोलाखर्क–इलाम बजार–बिब्ल्याँटे–जस्बिरे हुँदै माइपोखरीमा रहेको सातखाल्डेसम्म दौडिनेछन्। दौड हुने विभिन्न स्थानमा खेलाडीका लागि पानी, फलफूल व्यवस्था गरिएको छ। २ डाक्टरसहित १६ जनाको मेडिकल टिम खेलाडीसँगै हुनेछ भने ३ एम्बुलेन्स तयारी अवस्थामा राखिनेछन्। १० स्थानमा खेलाडीको क्रेसचेक पोइन्ट राखिएको छ।  

धावक रिमालले अरूतिर तेर्साे सडकमा दौड हुने भएपनि यहाँ उकालो–ओरालो, तेर्साे सबैखाले सडक भएकाले यो साहसिक म्याराथुन रहेको बताए। ‘यो त्यति सजिलो प्रतियोगिता होइन,’ उनले भने, ‘निर्धारित दूरी पार गर्न ३ घन्टाभन्दा बढी समय लाग्नसक्छ।’ पुरुष म्याराथुनको दूरी पार गर्न ४ घन्टा १० मिनेट र महिलाका लागि २ घन्टा ५ मिनेट समय निर्धारण गरिएको छ।

म्याराथुन हुने मेची राजमार्ग र बिब्ल्याँटे–माइपोखरी सडकआसपासका घरअगाडि खेलाडीको स्वागतका लागि कलश, घडा, गमलालगायतले सजाउन पनि आयोजकले स्थानीयलाई आग्रह गरेको छ । इलाम नगरपालिका, सन्दकपुर गाउँपालिका र सदरमुकामस्थित नेपाली सेनाको रणशार्दूल गणको संयुक्त आयोजनामा प्रतियोगिता आयोजना गरिएको हो । पर्यटकीय गन्तव्यलाई खेलकुदका माध्यमबाट राष्ट्रिय–अन्तर्राष्ट्रिस्तरमा परिचित र चलायमान गराउन प्रतियोगिताले सघाउने इलाम नगरका मेयर केदार थापाले बताए ।  

म्यारथुनमा पुरुषतर्फ दोस्रो हुनेले डेढ लाख, तेस्रोले १ लाख, चौथोले ५० हजार, पाँचौंले ४० हजार, छैटौंले ३५ हजार सातौंले २५ हजार, आठौंले २० हजार, नवौंले १५ हजार र १०औं हुनेले १० हजार रुपैयाँ पुरस्कार पाउने छन् । महिलातर्फको म्याराथुनमा दोस्रोले ५० हजार, तेस्रोले ३५ हजार, चौथोले २५ हजार र पाँचौंले १० हजार नगद पुरस्कार पाउनेछन्।  

प्रकाशित: १ वैशाख २०८० ०२:३५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App