१८ असार २०८१ मंगलबार
image/svg+xml
खेल

जावलाखेलले अवसर गुमायो

जावलाखेलविरुद्ध गोल गरेपछि आर्मीका कप्तान जिलेस्पीजंग कार्की (बायाँ) र नवयुग श्रेष्ठ। तस्बिर सौजन्य: एन्फा

त्रिभुवन आर्मी क्लबलाई ३-१ को नतिजा सुम्पिँदै जावलाखेल युथ क्लबले सहिद स्मारक ‘ए’ डिभिजन लिगको शीर्ष स्थानमा उक्लिने अवसर गुमाएको दिन स्ट्राइकर आफिज ओलाओलेको ह्याट्रिकसहित ५ गोल मद्दतमा साबिक विजेता मच्छिन्द्र फुटबल क्लबले मंगलबार एफसी खुमलटारमाथि ७-३ को जित निकालेको छ।

एन्फा मुख्यालयमा सम्पन्न खेलमा आर्मीलाई हराएको खण्डमा जावलाखेलले शीर्ष स्थानमा २ अंकको अग्रता लिने थियो। तर स्वाभाविक लयभन्दा निकै कमजोर प्रदर्शन गरेको जावलाखेल आर्मीविरुद्ध निरीह देखिएको थियो। आर्मीले खेलको सुरुआतबाटै एकपछि अर्काे गोलको आक्रमण गर्दा जावलाखेलको अग्रपंक्ति भने आफैंमा अलमलिएको जस्तो देखिएको थियो।

छैटौं चरणमा सातदोबाटो युथ क्लबलाई हराउँदै शीर्ष स्थानमा उक्लिएको जावलाखेलले सातौं चरणमा चर्च ब्वाइजसँग हारको संकट टारेको थियो। जावलाखेलको ८ खेलमा १४ अंक छ। जुन शीर्ष स्थानको मनाङ मर्स्याङदीभन्दा मात्र १ अंक कम हो। मनाङले जावलाखेलभन्दा एक खेल कम खेलेको छ। समान ७ खेलमा समान १३ अंक जोडेका चर्च ब्वाइज युनाइटेड र सातदोबाटो युथ क्लब क्रमशः तेस्रो र चौथो स्थानमा छन्। पाँचाैं स्थानको आर्मी र छैटौं स्थानको मच्छिन्द्रको समान ८ खेलमा समान १२ अंक छ।

१७औं मिनेटमा कप्तान जिलेस्पीजंग कार्कीको गोलमा आर्मीले अग्रता लिएको थियो। ५५औं मिनेटमा नवयुग श्रेष्ठको पेनाल्टी गोलमा आर्मीले आफ्नो अग्रता दोब्बर पारेको थियो। ६२औं मिनेटमा सुनील खड्काको गोलमा जावलाखेलले खेलमा फर्कने संकेत गरेको थियो। ८०औंं मिनेटमा सुदिल राईले गरेको गोलमा आर्मीले जित पक्का गरेको थियो।

जवालाखेलका प्रशिक्षक सुनीलकुमार श्रेष्ठले आफ्नो टोली आर्मीविरुद्ध कमजोर देखिँदा शीर्ष स्थानमा पुनरागमन गर्ने लक्ष्यले पूर्णता नपाएको बताए। ‘आज हामी सबै पक्षमा आर्मीभन्दा निकै कमजोर देखियाैं,’ श्रेष्ठले भने, ‘अन्य खेलको तुलनामा आज खेलाडीहरूको आत्मबल घटेको देखियो। खेललाई २-१ को स्थितिमा ल्याएपछि टोली खेलमा फर्कन्छ भन्ने आशा जागेको थियो। तर आफ्नै गल्तीमा तेस्रो गोल खाएपछि भने हाम्रो खेलमा फर्कने सम्भावना समाप्त भयो।’

‘हामीले आगामी खेलमा मनाङको सामना गर्दै छाैं,’ श्रेष्ठले थपे, ‘बलियो टोलीविरुद्ध सुधारिएको प्रदर्शनसहित जित लयमा फर्कने हाम्रो लक्ष्य हुनेछ।’

आर्मीका सहायक प्रशिक्षक राजु तामाङले जावलाखेलमाथिको जितले टोलीको मनोबल बढेको बताए।

‘जावलाखेल पछिल्लो समय राम्रो प्रदर्शन गरिरहेको टोली हो। हामी उनीहरूको शीर्ष स्थानमा उक्लिने लक्ष्य रोक्न सफल भयौं,’ तामाङले भने, ‘आजको जितले टोलीको मनोबल बढाएको छ। हामी पाँचाैं स्थानमा उक्लिएका छौं। शीर्ष ४ मा रहेका टोलीसँग हाम्रो अंकदूरी धेरै छैन। आगामी खेलहरूमा पनि सुखद नतिजासहित उपाधि दाबेदार छविमा फर्कन चाहन्छाैं।’

मंगलबार नै च्यासल फुटबल मैदानमा मच्छिन्द्रको सानदार जितमा ओलाओले एक्लैले ५ गोल गरेका थिए। जारी लिगमा ह्याट्रिक पूरा गर्ने ओलाओले पहिलो खेलाडी हुन्। यो जारी सिजनकै सबैभन्दा फराकिलो नतिजा हो।

लिगको सुरुआती २ खेलमा क्रमशः जावलाखेल युथ क्लब र त्रिभुवन आर्मी क्लबलाई नतिजा सुपिम्पएको मच्छिन्द्रले त्यसयता ५ मध्ये २ खेल जितेको थियो भने बाँकी ३ खेलमा बराबरी खेलेको थियो। आइतबार सातौं चरणसँगै मुख्य प्रशिक्षकमा किशोरकुमार केसीलाई नियुक्त गरेको मच्छिन्द्रको यो लगातार दोस्रो जित हो। केसीको प्रशिक्षणको पहिलो खेलमा मच्छिन्द्रले संकटा क्लबलाई हराएको थियो।

२५औं मिनेटमा ओलाओलेले मच्छिन्द्रका लागि गोल खाता खोलेका थिए। त्यसको ४ मिनेटपछि नै स्ट्राइकर विमल घर्तीमगरले मच्छिन्द्रको अग्रता दोब्बर पारेका थिए। पहिलो हाफको दोस्रो मिनेटमा ओलाओलेले मच्छिन्द्रको अग्रता ३-० मा पुर्‍याएका थिए। ५६औं मिनेटमा ओलाओलेले ह्याट्रिक पूरा गर्दै मच्छिन्द्रलाई फराकिलो जिततर्फ अघि बढाएका थिए।

६१औं मिनेटमा कप्तान मेसुकेको गोलमा खुलमटारले गोलअन्तर कम गर्ने प्रयास गरेको थियो। ६२ र ६७औं मिनेटमा ओलाओलेले गोल गरेसँगै मच्छिन्द्रले आफ्नो अग्रता ६-१ मा पुर्‍याएका थिए। ओलाओलेले जारी सिजन लिगमा आफ्नो गोलसंख्या ७ पुर्‍याएका छन्।

खुमलटारले ७६औं मिनेटमा स्टेफिन विनोङ र ८१औं मिनेटमा मेसुकेको गोलमा खेल ६-३ को स्थितिमा ल्याएको थियो। खेल सकिन ३ मिनेट बाँकी रहँदा विजय भुजेलले मच्छिन्द्रका लागि सातौं गोल गरे।

प्रकाशित: २९ चैत्र २०७९ ०५:१० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App