झापा– सशस्त्र प्रहरी बलको एपिएफ क्लबले सहिद स्मारक ‘ए’ डिभिजनको प्रतिद्वन्द्वी सिएमजी संकटा क्लबलाई १–० ले पराजित गर्दै मंगलबार मेची नेत्रालय गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।
राजधानीका दुई चर्चित क्लब आमनेसामने हुँदा प्रतियोगिताको अन्तिम क्वार्टरफाइनल खेल फाइनल सरह हुने अपेक्षा गरिएको थियो । त्यही अनुरुप दुवै टोलीले प्रतिस्पर्धात्मक प्रदर्शन गर्दा एपिएफ १–० को साँघुरो अन्तरमा विजयी भयो ।
एपिएफको जितसँगै प्रतियोगितामा सेमिफाइनल समिकरण पूरा भएको छ । अन्तिम चारको खेलमा एपिएफले आयोजक काँकडभिट्टा फुटबल ट्रेनिङ सेन्टरसँग प्रतिस्पर्धा गर्नेछ भने अर्को सेमिफाइनल रमपम झापा–११ र रुपन्देही–११ बीच हुनेछ ।
काँकडभिट्टाको मैदानमा ओर्लिँदा एपिएफसँग स्टार खेलाडी अञ्जन विष्ट, रञ्जन विष्ट, राजेन्द्र रावल र आदित्य चौधरीको साथ थिएन । चोटग्रस्त उनीहरू आराम गरिरहेको एपिएफ व्यवस्थापनले जनाएको छ । तर, उनीहरूको अभाव खट्किन नदिई हरि कार्कीले टोप विष्टको पासमा १७ औं मिनेटमा गोल गरे । एपिएफको जितमा निर्णायक गोल गरेका हरि म्यान अफ दि म्याचबाट पुरस्कृत भए ।
गोल गर्नुका साथै हरिले पूरा खेल अवधिभर विपक्षी रक्षापंक्तिमाथि दबाब सिर्जना गरेका थिए । तर उनका धेरैै प्रहार संकटाका गोलरक्षक विनय श्रेष्ठले विफल पारेका थिए । १६ औं मिनेटमा एपिएफका सुदीप शिख्राकारको पासलाई नविन लामाले हेड गोल गर्ने प्रयास गरेका थिए । पाल्साङ लामाका केही शक्तिशाली प्रहार पनि खेर गएका थिए ।
एपिएफ आइतबार हेटौंडामा जारी अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकपमा मनाङ मस्र्याङदीसंग ३—२ ले पराजित भएको थियो । तर संकटालाई हराएर एपिएफले हेटौंडामा भोगेको हारको पीडामा मलम लगाएको छ ।
सिजनमा पहिलो पटक आमनेसामने हुँदा गोल खाइसकेपछि संकटा खेलमा फर्कन सकेन । पर्याप्त समय भए पनि रवि सिलवालको कप्तानीमा निराजन खड्का, अमित तामाङ, विश्व अधिकारी, सविन खड्का र तीन विदेशी खेलाडीसहित मैदानमा उत्रिएको संकटाको पुनरागमन प्रयास सफल भएन ।
संकटाविरुद्ध जितेपछि एपिएफका प्रशिक्षक रत्नकाजी मर्हजनले खुसी व्यक्त गरे । ‘झापाकै सुरुंगा गोल्डकपसहित राष्ट्रियस्तरका प्रतियोगिता जितिरहेका बेला हेटौडामा हामी पराजित भयौं । अहिले हामीलाई जीतको खाँचो थियो, यो गोल्डकप जित्नैपर्ने दबाब छ,’ मर्हजनले भने, ‘संकटा राम्रो क्लब हो । तर, हामीले राम्रै खेलेर जित निकाल्यौं ।’
एकै समयमा धेरै प्रतियोगिता भइरहेकाले खेलाडी बाँडिएर खेल्नुपर्दा नतिजा ल्याउन नसकेको संकटाका प्रशिक्षक सगुन खड्गीले बताए ।
‘काँकडभिट्टा र हेटौंडामा एकैपटक खेल्नुपर्दा समस्या भएको हो,’ उनले भने ‘दुवै प्रतियोगितामा क्लब सहभागी छ । खेलाडी बाँडिएका कारण नतिजा ल्याउन सकिएन । फेरि झापाको मैदान हाम्रा खेलाडीका लागि नौलो भयो । त्यसले पनि खेल सहज भएन ।’
प्रकाशित: २० पुस २०७३ ०६:०७ बुधबार