२० वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

न्युजिल्यान्डको उत्कृष्ट पुनरागमन

ट्वान्टी–२० शृंखला

लगातार दोस्रो खेलमा पनि टिम सेइफर्ट नायक बनेपछि न्युजिल्यान्डले शनिबार श्रीलंकामथि चार विकेटको रोमाञ्चक जित निकाल्दै तीन खेलको ट्वान्टी–२० शृंखला आफ्नो पक्षमा पारेको छ।

क्विन्सल्यान्डमा शनिबार सम्पन्न तेस्रो खेलमा अन्तिम बल बाँकी छँदा जित निकाल्दै न्युजिल्यान्डले पाहुना टोली श्रीलंकाविरुद्ध ट्वान्टी–२० शृंखला २–१ ले जितेको हो। सेइफर्टले ४८ बलमा ८८ रनको करियरकै उत्कृष्ट इनिङ खेल्दा न्युजिल्यान्डले १९.५ ओभरमा ६ विकेट गुमाउँदै लक्ष्य पूरा गर्‍यो। जोन डेभिस ओभलमा पाहुना टोली श्रीलंकाले पहिले ब्याटिङ गर्दै निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १८२ रन जोडेको थियो। त्यसपछि चुनौतीपूर्ण लक्ष्य पछ्याएको न्युजिल्यान्डका लागि साइफर्टले आक्रामक ब्याटिङ गरे। उनको इनिङमा १६ चौका र तीन छक्का रह्यो।

त्यसअघि बुधबार पनि सेइफर्टले ७९ रनको विजयी इनिङ खेल्दा न्युजिल्यान्डले शृंखला बराबरीमा ल्याएको हो। निर्णायक खेलमा कप्तान टम लाथमले २३ बलमा ३१ रन जोड्दै न्युजिल्यान्डका लागि दोस्रो महत्वपूर्ण इनिङ खेले। चार ओभरको खेल बाँकी छँदा मिडल अर्डर धरासयी बने पनि न्युजिल्यान्डले जित निकाल्यो। चार ओभरमा न्युजिल्यान्डले सेइफर्टसहित चार विकेट गुमाउन पुग्यो। अन्तिम ओभरमा जितका लागि १० रन आवश्यक हुँदा घरेलु टोलीले तीन विकेट गुमाए पनि एक बल अगावै लक्ष्य भेट्टायो।

डेथ ओभरको पहिलो बलमै मार्क चापमेनले छक्का प्रहार गर्दै सहज जिततर्फ अग्रसर गराए। यद्यपि, त्यसपछि लगातार तीन विकेट गुमाएको घरेलु टोलीले वाइडमार्फत एक रन पनि बटुल्यो। चौथो बलमा एक रन र पाँचौं बलमा दुई रन जोडेपछि न्युजिल्यान्डले घरेलु मैदानमा भएको ट्वान्टी–२० शृंखला जोगायो। ‘उनीहरूले पनि हामीलाई दबाबमा राखे। यद्यपि, हाम्रा ब्याटरले त्यसको जबाफ राम्रोसँग दिए,’लाथमले भने, ‘सेइफर्टले उत्कृष्ट ब्याटिङ गरे। यद्यपि, इनिङको अन्त्यतिर दबाब पनि बेहोर्‍यौं।’

यो हारसँगै श्रीलंकाका लागि न्युजिल्यान्ड भ्रमण निराशाजनक रह्यो। टेस्ट र एकदिवसीय शृंखला २–० ले गुमाएको श्रीलंकाले छोटो फरम्याटको शृंखला पनि गुमाउन पुग्यो। श्रीलंकाका कप्तान दसुन सनकाले न्युजिल्यान्डको वातावरण घुलमिल हुन नसक्दा आफ्नो टोलीका लागि सहज नभएको उल्लेख गर्दै श्रीलंका क्रिकेटका अधिकारीले त्यसतर्फ ध्यान नदिएको बताए।

‘यो हारको पछाडि हाम्रो तयारी हो। हामी यहाँ खेल हुनुभन्दा कम्तीमा दुई हप्ता या तीन हप्ता अगाडि आउनु पर्दथ्यो,’सनकाले भने, ‘ट्वान्टी–२० शृंखलामा हामी केही फरक देखिएका थियौं। तर, जित भने सम्भव भएन।’

कुशल मेन्डिसले ४८ बलमा ७३ रन जोडेपछि श्रीलंकाले जित निकाल्ने आँकलन गरिएको थियो। १० रनमा ड्यारिल मिचेलबाट जीवनदान पाएका मेन्डिसले त्यसको उत्कृष्ट सदुपयोग गरे। श्रीलंकाका ओपनर तथा विकेटकिपर मेन्डिसका लागि यो करियरको १२औं अर्धसतक पनि हो। टस हारेर पहिले ब्याटिङको निम्तो पाएको श्रीलंकाले उत्कृष्ट सुरुआत गर्‍यो। पहिलो विकेटका लागि नै श्रीलंकाले ७६ रनको साझेदारी गरेको थियो। यस क्रममा पथुन निसन्काले २५ बलमा २५ रन बनाए।

प्रकाशित: २६ चैत्र २०७९ ००:४८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App