२२ वैशाख २०८१ शनिबार
image/svg+xml
खेल

‘बेन्जिमा, मोडरिच रक्रुस रियालमै’

स्पेनिस क्लब रियाल मड्रिडका प्रशिक्षक कार्लो एन्सेलोट्टीले करिम बेन्जिमा, लुका मोडरिच र टोनी क्रुस आउँदो सिजनमा पनि रियालमा नै रहने बताएका छन्।

शुक्रबार आयोजना भएको पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै प्रशिक्षक एन्सेलोट्टीले तीन खेलाडीको समन्वय आगामी सिजनमा पनि निरन्तर रहने बताएका हुन्। हाल बेन्जिमा, मोडरिच र क्रुस यसै सिजनपछि सम्झौताविहीन हुँदै छन्। यीमध्येका मोडरिच र क्रुसले क्लबमा भविष्य के हुने भन्ने विषयमा चासो राखेका छन्।

बेन्जिमा २००९ मा फ्रान्सेली क्लब लियोनबाट रियाल मड्रिडमा अनुबन्धित भएका थिए भने मोडरिच २०१२ मा टोटेनह्यामबाट रियालमा आएका थिए। यी दुईको जोडीले पाँच च्याम्पियन्स लिगको उपाधि दिलाएको थियो।

यस्तै यसै सिजन सम्झौता सकिने संघारमा रहेका क्रुस जर्मन क्लब बायर्न म्युनिखको सम्झौता २०१४ मा टुङ्ग्याउँदै रियालमा जोडिएका थिए। क्रुस र मोडरिचको विषयमा छलफल हुँदा प्रशिक्षक एन्सेलोट्टीले समाधान निस्किने बताएका छन्।

‘सम्भावना निकै प्रबल छ। क्लबले सम्झौता लम्ब्याउने सोच बनाएको छ। क्लबमा उनीहरूको लगावले सफलता पाइरहेको छ,’ प्रशिक्षक एन्सेलोट्टीले भने, ‘उनीहरूको विषयमा समाधान छिट्टै निस्किनेछ। मेरो विचारमा उनीहरू आगामी सिजन पनि क्लबमा नै रहनेछन्।’

यस्तै एन्सेलोट्टीले क्लबमा नयाँ प्रतिभावान् खेलाडी आए पनि अनुभवी तीन खेलाडीको सहयोगले मात्र टोलीले साख जोगाइराख्ने बताएका छन्। तीन खेलाडीको समयमा उनीहरू राम्रा खेलाडी भएको र अहिले पनि उनीहरूको प्रभाव उत्तिकै रहेको एन्सेलोट्टीले थपे।

‘अहिले क्लबमा युवा खेलाडी उदाउँदै गरेका छन्। यी खेलाडी क्लबका सम्पत्ति हुन्,’ एन्सेलोट्टीले थपे, ‘बेन्जिमा, मोडरिच र क्रुसको युवा अवस्थाको जस्तो खेल नभए पनि उनीहरूले टोलीलाई सम्हाल्दै खेल्ने शैली निकै अनौठो छ। यी खेलाडी विश्वको कुनै पनि बजारमा किन्न भेटिँदैनन्।’

जारी सिजनको स्पेनिस ला लिगामा रियाल मड्रिड २७ खेलबाट ५९ अंक बनाउँदै दोस्रो स्थानमा छ भने आगामी बुधबार चेल्सीसँग च्याम्पियन्स लिग पहिलो लेगको क्वार्टरफाइनल खेल्दै छ। 

प्रकाशित: २५ चैत्र २०७९ ०३:४० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App