१२ आश्विन २०८१ शनिबार
image/svg+xml
खेल

पुम्से तेक्वान्दो लिग प्रतियोगिता हुने

नेपाल तेक्वान्दो संघको आयोजनामा चैतको अन्तिम साता प्रथम एनटिए खुला पुप्से तेक्वान्दो लिग प्रतियोगिता हुने भएको छ।

नेपाल तेक्वान्दो संघले आइतबार पत्रकार सम्मेलन आयोजना गर्दै चैत २९ गते खुला पुम्से तेक्वान्दो लिग प्रतियोगिता गर्ने जनाएको हो। उक्त प्रतियोगिता बाह्रै महिना सञ्चालन हुने नेपाल तेक्वान्दो संघका उपाध्यक्ष भानबहादुर चन्दले जानकारी दिए। ती प्रतिस्पर्धाबाट शीर्ष वरीयतामा रहने खेलाडी फाइनल प्रतियोगितामा भिड्न पाउनेछन्। चन्दकै अध्यक्षतामा प्रतियोगिताका लागि सात सदस्यीय प्रतियोगिता आयोजक समिति पनि गठन गरिएको छ। प्रतियोगितामा देशभरबाट डोजाङको सिफारिसमा आएका कुनै पनि खेलाडीले प्रतिस्पर्धा गर्न पाउने आयोजकले जनाएको छ।

प्रतिभा खोज्ने लक्ष्यका साथ उक्त प्रतियोगिता आयोजना गर्न लागिएको संघले जनाएको छ। उक्त प्रतियोगितामा सिनियर, जुनियर, क्याडेट र सुपर क्याडेट गरी सात उमेर समूहमा प्रतिस्पर्धा हुने चन्दले जानकारी दिए। करिब तीन सय खेलाडीले उक्त प्रतियोगितामा प्रतिस्पर्धा गर्नेछन्। प्रतियोगिताका लागि ९ लाख ५० हजार रूपैयाँ अनुमानित खर्च लाग्ने आयोजकले जनाएको छ। च्याम्पियनसिपको उत्कृष्ट खेलाडीलाई पुम्सेका अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा समावेश गराउने लक्ष्य पनि रहेको आयोजकले उल्लेख गरेको छ। 

प्रकाशित: २० चैत्र २०७९ ००:५५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App