अमर खड्का/चुमन बस्नेत
दुहबी- तीन विभागीय टिमसहित मध्यमाञ्चलले सातौं राष्ट्रिय खेलकुदअन्तर्गत महिला फुटबलको अन्तिम चारमा स्थान सुरक्षित गरेको छ। समूह 'ख' अन्तर्गत बुधबार दुहबी रंगशालामा भएको खेलमा त्रिभुवन आर्मी क्लबसँग गोलरहित बराबरी खेल्दै मध्यमाञ्चल ५ अंकसहित अन्तिम चारमा प्रवेश गरेको हो।
पछिल्ला दुई खेलमा लगातार जित हात पारेको आर्मीलाई मध्यमाञ्चलले अंक बाँड्न बाध्य बनाएको थियो। यो खेलसँगै अन्तिम चारको समीकरण पनि पूरा भएको छ । मध्यमाञ्चलकी रोजिना श्रेष्ठ प्लेयर अफ दी म्याच भइन्। खेलमा दुवै टिमले गोलका लागि खासै प्रयास गरेनन्। पाएका केही अवसर समेत दुवैले चुकाए। भुजना राईले १६ औं मिनेटमा पेनाल्टी बक्सको छेवैमा पाएको फाउलमा गरेको प्रहार पोलको माथिल्लो भागमा लाग्दै फर्किँदा आर्मीका खेलाडीले गोल गर्न सकेनन्। १९ औं मिनेटमा मध्यमाञ्चलकी सुवानी कुसुवारले बक्सभित्र मिलाइदिएको बललाई सुमित्रा पाखि्रनले गरेको प्रहार आर्मीकी गोलरक्षकले बचाइन्। खेलको अन्तिम समयमा आर्मीकी मनिता कुसुवारले दिएको पासमा क्रान्ति आलेले फितलो प्रहार गर्दा गोल हुन सकेन।
बुधबारै भएको अर्को खेलमा विभागीय टोली नेपाल पुलिस क्लब र सशस्त्र प्रहरी बलको एपीएफले १–१ को बराबरी नतिजा निकाले। बराबरीपछि दुवै टीमले सेमिफाइनल यात्रा तय गरेका छन्। एक खेल बाँकी रहँदा पूर्वाञ्चलको १ अंक छ भने मध्य पश्चिमाञ्चल अंकविहीन छ।
दुवै टीम रक्षात्मक रणनीतिमा मैदानमा उत्रिए पनि पुलिसका लागि १८ औं मिनेटमा धिमकुमारी गुरुङले गोल गर्दै अग्रता दिलाइन्। एपिएफले ३८ औं मिनेटमा तेजकुमारी गुरुङ्को गोलमा अंक बाढ्यो। एपीएफकी गोलकिपर रुपा रानामगर प्लेयर अफ दी म्याच भइन्।
विहीबारको खेल पश्चिमाञ्ल र सुदूर पश्चिमाञ्चल तथा मध्यमाञ्च र पूर्वाञ्चलबीच हुनेछ।
यसैबीच राष्ट्रिय खेलकुदअन्तर्गत पुरुष फुटबल बिहीबारदेखि सुनसरीको धरानस्थित एन्फा टेक्निकल सेन्टरको मैदानमा सुरु हुँदैछ। प्रतियोगितामा पाँच विकास क्षेत्र र तीन विभागीय गरी ८ टिमले लिग कम नकआउट आधारमा खेल्नेछन्।
समूह 'क' मा प्रहरी, पूर्वाञ्चल, पश्चिमाञ्चल र मध्यमाञ्चल तथा समूह 'ख' मा एपीएफ, मध्यपश्चिमाञ्चल, साविक विजेता सुदूरपश्चिमाञ्चल र आर्मी छन्। समूह विजेता र उपविजेता सीधै सेमिफाइनलमा पुग्नेछन्।
पहिलो दिन समूह 'क' को दुई लिग खेल हुनेछ। पहिलो खेल प्रहरी र पूर्वाञ्चल तथा दोश्रो पश्चिमाञ्चल र मध्यमाञ्चलबीच हुनेछ। फाइनल सातौं राष्ट्रियको अन्तिम दिन पुस १५ गते हुनेछ।
प्रकाशित: ७ पुस २०७३ ०४:३० बिहीबार