विराटनगरमा आयोजना हुने विराट गोल्डकप प्रतियोगिताको तयारी पुरा भएको छ। सोमबार आयोजक विराटगोल्ड कप ट्रष्टले विराटनगरमा पत्रकार सम्मेलन गरी प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिएको हो।
विराट गोल्डकप ट्रष्टका अध्यक्ष सन्तोष बानियाँले मैदान मर्मत, रंग रोकनलगायत आन्तरिक व्यवस्थापनका सबै तयारी पुरा भएको बताए। उनले भने,‘मैदान तयार पार्नेदेखि व्यवस्थापकिय तयारीसमेत पुरा भइसकेको छ।’ प्रतियोगितामा नेपाल, भारत र भुटानका ८ क्लव सहभागि हुने छन् । विराटनगरको शहीद रंगशालामा चैत्र ९ गतेदेखि १७ गतेसम्म विराट गोल्डकपको सातौं संस्करण आयोजना हुँदैछ।
प्रतियोगितामा नेपालका तीन विभागिय क्लव एपीएफ, त्रिभुवन आर्मी, नेपाल पुलिससहित संकटासहित जावलाखेल र घरेलु टोली विराटनगर सिटी क्लव सहभागी हुनेछन्। यसैगरी भारत केरलाको लुका सकर क्लव र भुटानको डुक लयुल फुटबल क्लव प्रतियोतिामा सहभागि हुनेछन्। दिल्लीको एफसी क्लवले भने अन्तिम समयमा नआउने जनाएको आयोजक समितिले जनाएको छ।
आठ टिम सहभागी हुने प्रतियोगिता नौ दिनसम्म सञ्चालन हुनेछ। यस वर्षको बिजेता टिमले २० लाख १५ हजार नगद र उप–विजेताले १० लाख २५ हजार प्राप्त गर्नेछ। यसैगरी विधागत रुपमा उत्कृष्ट खेलाडीले नगद २५ हजार पाउने छन्। प्लेयर अफ द म्याचलाई ११ हजार पुरस्कार दिईने छ। प्रतियोगितामा सहभागी हुने दर्शकले टिकट खरिद खुल्ला गरिसकिएको छ। टिकेटिङ्ग पार्टनर खल्ती एपसँग सम्झौता गरिएको छ। क्वाटरफाइनल खेलसम्म टिकटदर २०० रुपैयाँ र त्यसपछिका खेलका लागि खल्ती एप प्रयोग गरेर खरिद गर्दा ४०० र रंगशालामा खरिद गर्दा ५०० दर तोकिएको छ। महेन्द्र गोल्डकपको रुपान्तरिक संस्करण विराट गोल्डकप २०६८ सालदेखि सुरु भएको हो।
प्रकाशित: ६ चैत्र २०७९ १३:०७ सोमबार