१२ असार २०८१ बुधबार
image/svg+xml
खेल

शैलुङ अल्ट्रा म्याराथनमा सुमन च्याम्पियन

शैलुङ अन्तर्राष्ट्रिय अल्ट्रा म्याराथनमा नेपालका सुमन कुलुङ आफ्नै देशका वेदबहादुर सुनारलाई पछि पार्दै च्याम्पियन भएका छन्।

राष्ट्रिय खेलकुद परिषद् (राखेप) को आयोजनामा सम्पन्न ५५ किलोमिटर दूरीको अल्ट्रा म्याराथनमा नेपालका सुमन च्याम्पियन भएका हुन्। सुमनले पाँच घण्टा २६ मिनट ५८ सेकेन्डमा उक्त दूरी पूरा गरे। महिलातर्फ भने अनिता राई च्याम्पियन भइन्। अनिताले सो दूरी पूरा गर्न सात घण्टा दुई मिनेट ५६ सेकेन्ड समय लगाइन्। विजेताद्वय सुमन र अनिताले नगद ७५ हजरसहित ट्रफी र पदक प्राप्त गरे। पुरुषतर्फ वेदबहादुर सुनार पाँच घण्टा २९ मिनेट ४० सेकेन्डमा दूरी पूरा गर्दा दोस्रो भए। वेदले नगद ४० हजार सहित ट्रफी र पदक पाए।

पश्चिम रुकुमका दुर्गाराज बुढा पाँच घण्टा ४४ मिनेट २२ सेकेन्ड समयका साथ तेस्रो स्थानमा रहे। उनले १५ हजार रूपैयाँसहित ट्रफी पाए। बाग्मती प्रदेश खेलकुद विकास समितिको विशेष सहयोगमा आयोजित अल्ट्रा म्याराथनको महिलातर्फ मञ्जु रावत दोस्रो र रसिला तामाङ तेस्रो भए।

मञ्जुले सात घण्टा ३७ मिनेट २२ सेकेन्ड र रसिलाले सात घण्टा ४४ मिनट ५८ सेकेन्ड समयमा दूरी पूरा गरे। मञ्जुले नगद ४० हजार र रसिलाले नगद १५ हजार रूपैयाँ र ट्रफी प्राप्त गरे। म्याराथनको पुरुषतर्फ अमेरिका, इङ्ल्यान्डका चार खेलाडीसहित कुल २२ जना र महिलामा पाँच जनाले प्रतिस्पर्धा गरेका थिए।

सुनापती, दोरम्बा, शैलुङ र खाँडादेवी गाउँपालिकाको सहआयोजनामा सम्पन्न प्रतियोगितामा २५ किलोमिटर पुरुषतर्फको प्रतिस्पर्धामा मोहनदेव जोशी पहिलो भए। उनले सो दूरी पूरा गर्न तीन घण्टा आठ मिनेट ३९ सेकेन्ड समय लगाए। देवराज महतारा र होमलाल श्रेष्ठ तेस्रो भए।

देवराजले तीन घण्टा १० मिनेट १० सेकेन्ड र होमलाल तीन घण्टा १४ मिनेट १५ सेकेन्ड समय लगाए। सोही दूरीको महिलातर्फ च्याम्पियन नितु तामाङले चार घण्टा १९ मिनेट ५४ सेकेन्ड समय लगाइन्। राज्यलक्ष्मी रावल दोस्रो र स्विडेनकी लिन्निया गोल्सेट्रर तेस्रो भए।

राज्यलक्ष्मीले चार घण्टा २२ मिनेट ४८ सेकेन्ड र लिन्नियाले चार घण्टा ५५ मिनेट ३६ सेकेन्ड समय लगाए। यो विधामा शीर्ष तीनले ३५ हजार, २० हजार र १० हजार रूपैयाँ सहित पदक र ट्रफी पाए। यस विधामा पुरुषतर्फ न्युजिल्यान्डका एक गरी कुल ६१ धावक र महिलातर्फ स्विडेनकी एक गरी कुल २१ धाविकाले प्रतिस्पर्धा गरेकी थिइन्।

रामेछाप जिल्ला खेलकुद विकास समितिको संयोजन र सुनापती शैलुङ अल्ट्रा म्याराथन आयोजना तथा व्यवस्थापन समितिको व्यवस्थापनमा सम्पन्न प्रतियोगिताको पाँच किमीको पुरुषतर्फ मिङ्गमार सिंगी तामाङ र महिलामा हुमी बुढामगर पहिलो भए।

मिङ्गमार २८ मिनेट ३३ सेकेन्ड र हुमी ३८ मिनेट तीन सेकेन्डका साथ पहिलो भएका हुन्। पुरुषतर्फ नै प्रताप खड्का दोस्रो र टंक कार्की तेस्रो भए। प्रतापले २८ मिनेट ५८ सेकेन्ड र टंकले ३० मिनेट ५६ सेकेन्ड समय लगाए।

महिलामा ४४ मिनेट २५ सेकेन्डका साथ अनुषा तामाङ दोस्रो र ४५ मिनेट ५५ सेकेन्ड समयका साथ लक्ष्मी श्रेष्ठ तेस्रो भए। यो विधामा शीर्ष तीनले क्रमशः २० हजार, १० हजार र पाँच हजार रूपैयाँ नगद, ट्रफी र पदक प्राप्त गरे। प्रतियोगिताको संघीय सांसद पूर्णबहादुर तामाङ (कान्छाराम) र राखेपका सदस्य सचिव टंकलाल घिसिङले संयुक्त रूपमा उद्घाटन गरेका थिए।

सुनापती–३ हिलेदेवीबाट सुरु भएको म्याराथन सुनापती गाउँपालिकाका विभिन्न स्थान हुँदै रामेछापको चर्चित देवस्थल खाडाँदेवी मन्दिर र दोरम्बा शैलुङ गाउँपालिकाका विभिन्न स्थान हुँदै करिब ३२ सय मिटरको उचाइमा रहेको शैलुङमा पुगेर टुङ्गिएको थियो।

विजेतालाई संघीय सांसद पूर्णबहादुर, बाग्मती प्रदेशका सांसद युवराज चौलागाई, राखेपका सदस्यसचिव टंकलाल घिसिङ, सुनापती गाँउपालिकाका प्रमुख ठूलोकान्छा तामाङ, दोरम्बा शैलुङ गाउँपालिकाका प्रमुख मैनबहादुर मोक्तान, खाँडादेवी गाँउपालिकाका प्रमुख ज्ञानकुमार श्रेष्ठ, रामेछाप जिल्ला समन्वय समितिकी प्रमुख चिनादेवी खड्का कार्की र अन्तर्राष्ट्रिय अल्ट्रा म्याराथन धाविक मीरा राई लगायतले पुरस्कार वितरण गरेका थिए।

प्रकाशित: ६ चैत्र २०७९ ०२:३४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App