१० मंसिर २०८१ सोमबार
image/svg+xml
खेल

न्युन स्कोरमा समेटिँदा...

काठमाडौं- आठ खेलाडीले खाता खोल्न नसकेको दुर्लभ खेलमा नेपाली महिला क्रिकेट टोलीले सोमबार श्रीलंकासँग ८ विकेटले आत्मसमर्पण गरेको छ। अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपाली महिला टोली अहिलेसम्मकै कम स्कोर २३ रनमा समेटिएको छ। यसअघि सन् २०१४ को इन्चोन एसियाली खेलकुदमा बंगलादेशविरुद्ध बनाएको २६ रन नेपालको न्युन स्कोर थियो।

लामो समयदेखि देशभित्र खेल्ने वातावरण पाउन नसकेको महिला टोली नाममात्रको तयारीभरमा एसिसी एसिया कप ट्वान्टी–२० क्रिकेट खेल्न थाइल्यान्ड पुगेको थियो। जहाँ आयोजकबाहेक नेपालको प्रतिद्वन्द्वी सबै टेस्ट खेल्ने टोली पाकिस्तान, श्रीलंका, बंगलादेश र भारत हुन्।

पहिलो खेलमा शनिबार टेस्ट राष्ट्र पाकिस्तानसँग ९ विकेटले पराजित भए पनि नेपाली टोलीले ४७ रन बनाएको थियो। तर सोमबार बैंककस्थित एसियन इन्स्टिच्युट अफ टेक्नोलोजीको मैदानमा नेपालका ८ खेलाडीले खाता खोल्न नसक्दा टोली २३ रनमै समेटियो। नेपाली टोली अलआउट हुनुअघि १६.२ ओभरसम्म टिकेको थियो।

टस हारेर ब्याटिङ निम्त्याइएको नेपालका लागि ओपनर ज्योति पाण्डेले ओसादी रणसिंघेबाट रनआउट हुनुअघि १६ रन बनाएकी थिइन्। नेपाली इनिङमा ज्योतिको स्कोर नै ठूलो थियो। उनले ३९ बल खेलिन्। ज्योतिले पाकिस्तानविरुद्ध भने दोहोरो स्कोर अंकमा रन जोड्न सकेकी थिइनन्।

अर्की ओपनर सरिता रानामगरले ४ रन बनाइन्। ८ बल खेलेकी सरिताले पहिलो विकेटमा ज्योतिसँग १२ रनको साझेदारी निभाइन्। रन बनाउनेको सूचीमा कप्तान रुबिना क्षेत्री पनि थिइन्। १४ बल खेलेकी उनले १ रन बनाइन्। उनी रणसिंघेको बलमा निपुनी हन्सिकाबाट क्याचआउट हुन पुगिन्। त्यसबाहेक नेपालले २ अतिरिक्त रन पाएको थियो।

श्रीलंकाका इनोका रणविरा र सुगन्धिका कुमारीले ३–३ तथा रणसिंघेले २ विकेट लिएपछि नेपाली इनिङ सस्तैमा खुम्चिएको थियो।

२४ रनको विजय लक्ष्य श्रीलंकन टोलीले ४.३ ओभरमा २ विकेट गुमाएर पूरा गर्‍यो। करुणा भण्डारीले पहिलो ओभरमै विकेट लिएर नेपाललाई लज्जाजनक हारबाट जोगाउने प्रयास गरेकी थिइन्। करुणाले ओपनर चामरी अतापट्टुलाई सरस्वती चौधरीबाट क्याच गराउँदा श्रीलंकाको स्कोर ३ रनमात्र थियो। ३ बल खेलेकी चामरीले १ रन बनाइन्। तर त्यसपछि आएकी कप्तान हसिनी परेराले अविजित १७ रन बनाउँदै श्रीलंकालाई जितको बाटोमा डोर्‍याइन्। १४ बल खेलेकी हसिनीले १ चौका र १ छक्का गरिन्। उनले दोस्रो विकेटमा ओपनर यसोदा मेन्डिससँग १८ रनको साझेदारी गरिन्। दिलानी मनोदरा (१) अविजित रहिन्। यसोदाले ७ बलमा ४ रन बनाएकी थिइन्।

नेपालका लागि करुणा र रुबिनाले १–१ विकेट लिए।

सोमबारै चाँडो सम्पन्न खेलमा बंगलादेशले आयोजक थाइल्यान्डमाथि ३५ रनको जित दर्ता गरायो। टस हारेर ब्याटिङ निम्त्याइएको बंगलादेशका लागि ओपनर सन्जिदा इस्लामले ३८ रनको प्रभावशाली प्रदर्शन गरेपछि टोलीले पूरा २० ओभर खेल्दै ६ विकेट क्षतिमा ८८ रन जोडेको थियो। कप्तान सोर्नारिन टिपोचले १० रन बनाइन् भने अन्यले दोहोरो स्कोर गर्न सकेनन्।

थाइल्यान्डका सुलेपोर्न लाओमीले ३ विकेट लिइन्। चानिदा सुचिरुवाङ र नाताया बोचाथामले १–१ विकेट लिए।

जवाफमा ८९ रनको विजय लक्ष्य लिएको थाइल्यान्डलाई १८.३ ओभरमा ५३ रनमा रोक्दै बंगलादेशले पहिलो जित हासिल गर्‍यो। अघिल्लो खेलमा बंगलादेश भारतसँग ६४ रनले पराजित भएको थियो।

थाइल्यान्डको इनिङ सस्तैमा सीमित पार्ने क्रममा बंगलादेशका पाना घोसले ४, रुमाना अहमदले ३, जहनारा आलमले २ तथा खादिजा तुल कुर्बाले १ विकेट लिए।

जारी प्रतियोगितामा श्रीलंकाले पनि पहिलो जित पाएको हो। पहिलो खेलमा श्रीलंकालाई पाकिस्तानले ८ विकेटले हराएको थियो।

जारी प्रतियोगितामा सहभागी सबै टोलीले समान २ खेल खेल्दा भारत र पाकिस्तानले ४–४ अंक जोडेका छन्। नेट रनरेटका आधारमा भारत शीर्ष स्थानमा छ। श्रीलंका र बंगलादेशको समान २ अंक छ। थाइल्यान्ड र नेपालले खाता खोल्न सकेका छैनन्। प्रतियोगितामा राउन्ड रोबिन पद्दतिअनुसार सबैले एकअर्कासँग खेल्नेछन्।

लगातार दोस्रो हार नेपालले अब मंगलबार बंगलादेशसँग बिहीबार थाइल्यान्ड र शुक्रबार भारतसँग प्रतिस्पर्धा गर्नेछ।

प्रकाशित: १४ मंसिर २०७३ ०४:३५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App