९ आश्विन २०८१ बुधबार
image/svg+xml
खेल

प्रधानमन्त्रीद्वारा विजेता क्रिकेट खेलाडीलाई जनही तीन लाख पुरस्कारको घोषणा

प्रधानमन्त्री पुष्पकमल दाहालले विश्वकप क्रिकेटको क्वालिफायरमा छनोट भएका नेपाली खेलाडीलाई जनही तीन लाख रुपैयाँ राशिको पुरस्कार घोषणा गरेका छन्। विजेता खेलाडीलाई आज बिहान सरकारी निवास बालुवाटारमा सम्मान गर्दै उनले उक्त पुरस्कारको घोषणा गरेका हुन्।

‘मलाई अत्यन्त खुसी लागेको छ। हिजो तपाईहरूले जसरी खेल प्रदर्शन गर्नुभयो,  तपाईहरूले मात्र जित्नुभएको छैन, देशले जितेको छ। देशको स्वाभिमान उच्च भएको छ, राष्ट्रको गौरव बढेको छ। आगामी दिनमा समेत तपाईहरूको प्रदर्शन थप राम्रो होस्, म अग्रिम शुभकामना व्यक्त गर्दछु’, खेलाडीलाई सम्मान गर्दै प्रधानमन्त्री दाहालले भने, ‘विश्वकप छनोटका लागि  तपाईहरूलाई थप सफलता मिलोस्। म तपाईहरूको सुख, दुःखमा साथमै हुनेछ।’

प्रधानमन्त्री दाहालले यसअघि पनि सरकारले जनही दुई लाख रुपैयाँ राशिले पुरस्कृत गरिसकिएको बताए। प्रधानमन्त्री दाहालले कीर्तिपुरस्थित क्रिकेट मैदानमा तत्काल आधुनिक फ्लटलाइट र स्कोर बोर्ड जडान गर्न राष्ट्रिय खेलकुद परिषद् (राखेप)लाई निर्देशन दिएका छन्। उनले भने, ‘यस सन्दर्भमा मूलपानी, चितवन लगायत देशका विभिन्न स्थानमा निर्माणाधीन क्रिकेट रङ्गशाला निर्माण तीव्रताका साथ अगाडि बढाउन नेपाल सरकारको तर्फबाट आवश्यक प्रबन्ध गर्ने प्रतिबद्धता समेत व्यक्त गर्दछु।’

बिहीबार नेपालले संयुक्त अरब इमिरेट्स (युएई)लाई नौ रनले पराजित गरेको थियो। प्रधानमन्त्री दाहालले क्रिकेट खेलाडीको मेहनतलाई सरकारको तर्फबाट सम्मान गर्ने र आगामी दिनमा थप भौतिक पूर्वाधारको विकास तथा खेलाडीका लागि थप सुविधाको प्रबन्ध गर्ने विश्वास समेत दिलाएका छन्। प्रधानमन्त्री निवासमा राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव टङ्कलाल घिसिङ र अन्य पदाधिकारीको समेत सहभागिता थियो।

बिहीबार प्रधानमन्त्री दाहाल आफैं कीर्तिपुर क्रिकेट मैदान पुगेर खेलाडीलाई प्रोत्साहित गरेका थिए। रासस

प्रकाशित: ३ चैत्र २०७९ ०५:२३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App