७ आश्विन २०८१ सोमबार
image/svg+xml
खेल

कतारी रंगशालामा एक नेपालीको मृत्यु

काठमाडौं- कतार विश्वकपका लागि निर्माणाधीन रंगशालामा कार्यरत एक नेपाली कामदारको लरीको ठक्करबाट मृत्यु भएको छ। अल वाख्रा रंगशालाको निर्माणमा कार्यरत नेपाली २९ वर्षे मजदुर अनिलकुमार पासवानको मृत्यु भएको बुधबार कतार प्रशासनले बुधबार जनाएको छ।

कतार विश्वकप २०२२ आयोजना तथा तयारीको सम्पूर्ण व्यवस्था मिलाउने निकाय सुप्रिम कमिटी फर डेलिभरी एन्ड लिगेसीले बुधबार विज्ञप्ति जारी गर्दै पासवानको मृत्यु भएको पुष्टि गरेको एएफपीले जनाएको छ।

विश्वकप आयोजनाको तयारी क्रममा विदेशी कामदारको अवस्था दयनीय भएको भन्दै पछिल्ला वर्षहरूमा कतारको विश्वव्यापी आलोचना भइरहेको छ। विश्वकपका लागि भौतिक पूर्वाधार निर्माण गर्ने क्रममा कतारले विदेशी कामदारलाई दासजस्तो व्यवहार गरेको, कामदारको मानव अधिकार हनन गरेको भन्दै पश्चिमा सञ्चार माध्यमले नियमित जसो समाचार प्रकाशन गरिरहेका छन्। ४ कतारमा मजदुरी गर्नेहरू भारत, नेपाल, बंगलादेश, पाकिस्तान, फिलिपिन्स, इन्डोनेसिया, सुडान, जोर्डन लगायत देशका छन्। विदेशी कामदारको खानपिन, स्वास्थ्य, सुरक्षा तथा पारिश्रमिकमा थिचोमिचो भएको बेलायती सञ्चार माध्यमको आरोप छ। अमेरिका र युरोप बाहिर यसअघि दुई पटकमात्र पुगेको विश्वकप मध्यपूर्वमा भित्रिँदा २०१० मै भ्रष्टाचारको बलमा आयोजना अधिकार हासिल गरेको, फुटबल संस्कार नभएको, मौसम फुटबलमैत्री नभएको लगायतका बहानामा विवादित थियो।

कतारको कुल जनसंख्या २१ लाखको हाराहारीमा छ। त्यसमा कतारी नागरिकको संख्या ४ लाख पनि छैन। बाँकी १७ लाख हाराहारीका विदेशीमध्ये सबैभन्दा ठूलो संख्या भारतपछि नेपालीको छ। कतारमा रहेका नेपालीको यकिन डाटा नभए पनि झन्डै ६ लाख रहेको अनुमान छ। १२ रंगशाला र ६४ सुविधासम्पन्न अभ्यास मैदान निर्माण तथा परिमार्जन, मेट्रो रेलको लिक खन्ने साथै अन्य पूर्वाधार निर्माणमा धेरैजसो नेपाली कामदार छन्।

कतारी प्रशासनले भने सबैखाले विवादको खण्डन गर्दै आएको छ। पासवानको मृत्युपछि सुप्रिम कमिटीद्वारा जारी विज्ञप्तिमा भनिएको छ, 'सुप्रिम कमिटीले सबै निर्माण साइटमा ठेकेदारसँग हातमा हात मिलाएर काम गरिरहेको छ। यो घटना भएपछि पनि अत्यन्तै गम्भीरसँग छानबिनका साथै सबै आवश्यक काम भएका छन्। हामीले प्रशासनिक विकास तथा सामाजिक मामिला मन्त्रालय तथा नेपाली दूतावासलाई घटनाबारे जानकारी गराइसकेका छौं।'

सुप्रिम कमिटीले पासवानको शव नेपाल पठाउन आवश्यक व्यवस्था मिलाएको तथा परिवारका लागि अन्य जिम्मेवारी पनि पूरा गर्ने बताएको छ। पासवानको मृत्युलाई 'हृदयविदारक' भएको बताउँदै सुप्रिम कमिटीका प्रमुख हसन अल थावाडीले आगामी दिनमा सुरक्षा व्यवस्था अपनाउनेमा अझै सचेत हुने वाचा गरेका छन्।

पासवानको दुर्घटना अक्टोबर २२ मा भएको एएफपीले जनाएको छ। पासवान मृत्यु विश्वकप आयोजकले नै पुष्टि गरेको पहिलो यस्तो घटना हो। कतारी राजधानी दोहाभन्दा १५ किलोमिटरको दुरीमा रहेको निर्माणाधीन ४० हजार सिट क्षमताको अल वाख्रा रंगशाला इराकमा जन्मिएका बेलायती इन्जिनियर जाहा हादिदले डिजाइन गरेका थिए। हादिदको मार्चमा मृत्यु भइसकेको छ। यो रंगशालाले २०२२ विश्वकपको क्वार्टरफाइनलसम्मका खेल आयोजना गर्नेछन्।

प्रकाशित: २६ कार्तिक २०७३ ०४:५० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App