काठमाडौं— प्रगतिशील युबा क्लबले ओखलढुंगाको बरुणेश्वरमा आयोजना गरेको तेस्रो टान शहिद स्मारक फुटबल प्रतियोगिताको उपाधि चुमेको छ। बिहीबार दिउसो भएको फाइनलमा प्रगतिशीलले रुम्जाटार युनाइटेड क्लबलाइ टाईब्रेकरमा ५–३ ले पराजित गर्यो। प्रगतिशीलका गोलकिपर रेवती मगरले रुम्जाटारको दुइ पेनाल्टी बचाएका थिए।
निर्धारित समयमा खेल २–२ गोलको बराबरीमा सकिएपछि खेलको निर्णय टाईब्रेकरबाट गरिएको थियो। रुम्जाटारले खेलको ६ मिनेटमै खाता खोलि १० औं मिनेटमा २–० को अग्रता लिए पनि उपाधि चुम्न असफल रह्यो। रुम्जाटारको लागि कुमार राईले ६ मिनेटमा र बिक्रम नेपालीले १० औं मिनेटमा गोल गरेका थिए। सन्जोग राईले ३२ औं र ४३ औं मिनेटमा गोल गरी प्रगतिशीललाई खेलमा फर्काएका थिए।
त्यसैगरी बिहीबार तेस्रो स्थानको लागि खेलिएको खेलमा पारिजातले मानेभन्ज्यांगलाई १–० ले पराजित गर्यो। बिजेता टोलीको लागि रोशन राइले अतिरिक्त समयको ६ मिनेटमा गोल गरे।
उपाधि बिजेता प्रगतिशीलले नगद रु ५०,०००, दोस्रो हुने रुम्जाटारले रु ३०,००० र तेस्रो हुने पारिजातले रु २०,००० नगद जित्यो। बिजेता टोलीलाई नेपाली कांग्रेसका स्थानीय नेता बालकृष्ण दाहालले नगद, कप, मेडल तथा प्रमाणपत्र प्रदान गरे।
पदयात्रा क्षेत्रहरुमा युवा बिकास कार्यक्रम अन्तर्गत ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) ले उक्त प्रतियोगिता आयोजना गरेको हो। प्रतियोगिताको संयोजन स्थानीय फ्रेन्डशीप युबा क्लबले गरेको थियो। यस्तै प्रतियोगिता गोर्खा र लमजुंग जिल्लमा छिट्टै आयोजना गरिने टान कोषाध्यक्ष तथा प्रतियोगिता संयोजक लिलाबल्दब दाहाल 'काका'ले बताए।
प्रकाशित: २५ कार्तिक २०७३ १२:५१ बिहीबार