१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

एपिएफ दोस्रोपल्ट च्याम्पियन

काठमाडौं- साबित्रा भण्डारी ‘साम्बा’ र अनिता बस्नेतले गोल गरेपछि बुधबार एपिएफ क्लबले प्रधानसेनापति चौथो अन्तर्राष्ट्रिय महिला फुटबलको उपाधि रक्षा गरेको छ। लगनखेलस्थित आर्मीको मैदानमा एपिएफले मध्यमाञ्चललाई ३–१ ले पराजित गर्दै उपाधि जितेको हो। साबित्राले २ र अनिताले १ गोल गरेका थिए। मध्यमाञ्चलबाट निशा थोकरले गोल सान्त्वनामा परिणत भयो।

सेमिफाइनलमा आयोजक आर्मीलाई टाइब्रेकरमा ३–१ ले हराउँदै मध्यमाञ्चल फाइनलमा पुगेको थियो। प्रधानसेनापति कपमा मध्यमाञ्चल पहिलोपल्ट फाइनल पुग्ने विकास क्षेत्रको टोली हो। तर फाइनलमा भने मध्यमाञ्चलले एपिएफको दबाब पन्छाउन सकेन।

तीव्र गतिकी स्ट्राइकर साबित्राले मध्यमाञ्चलका रक्षक र गोलकिपर अन्जना रानामगरलाई बिट गर्दै खाली पोस्टमा गोल गरेर एपिएफलाई २६ औं मिनेटमा अग्रता दिलाइन्। एक्लो प्रयासमा बल पोस्ट नजिक लग्दै गरेकी साबित्रालाई डाइभ गरेर रोक्ने प्रयासमा गोलकिपर अन्जना बिफल भइन्। त्यही मौकामा साबित्रा गोल गर्न सफल बनिन्।

साबित्राले सर्वोत्कृष्ट खेलाडीको पुरस्कारस्वरुप स्कुटर पाइन्। उनले प्रतियोगिताभर १३ गोल गरेकी थिइन्। राष्ट्रिय टोलीकी स्ट्राइकरसमेत रहेकी साबित्राले टोलीको मिहिनेतबाट उपाधि रक्षा गर्न सफल भएको बताइन्। ‘फाइनलमा दुई गोल गरे पनि मैले आफ्नो क्षमताअनुसार खेल्न सकिनँ। तिघ्राको मांसपेसीको समस्याले गर्दा दोस्रो हाफमा मैले सोचेअनुसार खेल्न सकिनँ। तर टिमले राम्रो खेल्यो,' उनले भनिन्, ‘मध्यमाञ्चल राम्रो टिम हो। उनीहरूको समन्वय राम्रो थियो। तर हाम्रो फिटनेससामु उनीहरू कमजोर थिए। त्यसको फाइदा हामीले लिएका हौं।’

साबित्राले पहिलोपल्ट सर्वोत्कृष्ट खेलाडी पुरस्कार पाएकी हुन्। यसअघि उनले महिला लिग फुटबल र तेस्रो प्रधानसेनापति कपमा उत्कृष्ट स्ट्राइकरको पुरस्कार जितेकी थिइन्।

साबित्राले ४२ औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दै एपिएफको अग्रता दोब्बर पारिन्। उनले अनिता बस्नेतको क्रसमा हेडमा गोल गरेकी हुन्।

यता, निशा थोकरले फ्रिकिकमा गोल गर्दै मध्यमाञ्चललाई खेलमा फर्काउने कोसिस गरेकी थिइन्। स्ट्राइकर रश्मी कुमारी घिसिङलाई एपिएफकी गीता रानामगरले लडाएपछि मध्यमाञ्चलले ६६ औं मिनेटमा फ्रिकिक पाएको थियो। निशाले ६७ औं मिनेटमा गोल गरिन्।

तर एपिएफकी अनिताले एक्लो प्रयासमा गोल थप्दै टोलीको अग्रता फराकिलो बनाइन्। उनले ८२ औं मिनेटमा गोल गरेकी हुन्। फाइनलमा प्रभावशाली खेल देखाएकी उनले प्लेयर अफ दी म्याचको ट्रफी पाइन्। प्रतियोगितामा उत्कृष्ट गोलकिपरको पुरस्कार जितेकी मध्यमाञ्चलकी अञ्जना रानाले विभागीय टोलीलाई हराउने लक्ष्य पूरा हुनु खुसीको कुरा भएको बताइन्। उनले भनिन्, ‘हाम्रो लक्ष्य विभागीय टिमलाई हराउँदै सेमिफाइनलसम्म पुग्ने थियो। त्यसमा हामी सफल भयौं। तर फाइनलमा हामीले सोचे जस्तो खेल्न सकेनौं। आर्मीसँग खेल्दा हाम्रो टिम समन्वय र मिहिनेत राम्रो देखिएको थियो। अनुभवको कमीले गर्दा पनि हामी ढुक्क भएर खेल्न सकेनौं।’

अन्जनाले सेमिफाइनलमा आर्मीलाई टाइब्रकेरमा हराउँदा तीन पेनाल्टी प्रहार रोकेकी थिइन्। पछिल्लो समय उत्कृष्ट खेल देखाइरहेकी उनले यसै वर्ष सम्पन्न कोकाकोला राष्ट्रिय फुटबलमा पनि उत्कृष्ट गोलकिपरको पुरस्कार थापेकी थिइन्। रौतहटको दुर्गा माविले उपाधि जित्दा अन्जनाले मुख्य भूमिका निर्वाह गरेकी थिइन्। प्रतियोगितामा एपिएफकी सरु लिम्बु उत्कृष्ट स्ट्राइकर, मध्यमाञ्चलकै निशा थोकर उत्कृष्ट रक्षक, आर्मीकी सुमित्रा योञ्जन उत्कृष्ट मिडफिल्डर र एपिएफका जनक सिंह उत्कृष्ट प्रशिक्षकबाट पुरस्कृत भए। उत्कृष्ट सबैले जनही १० हजार रुपैयँ पुरस्कार पाए।

मध्यमाञ्चलका प्रशिक्षक नुरराज काफ्लेले खेलाडीलाई आराम नपुग्दा प्रदर्शन कमजोर भएको बताए। उनले भने, ‘एपिएफ जस्तो नियमित प्रशिक्षणमा हाम्रो टोली बस्न सक्दैन। धेरै खेलाडी विद्यालय स्तरका छन्। उनीहरूलाई आराम नपुग्दा पनि सेमिफाइनलमा खेलेजस्तो खेल्न सकेनौं। तर हामी निराश छैनौं। यसबाट सिक्दै अब अर्को वर्षलाई तयारीमा जुट्छौं।’

मध्यमाञ्चलकी रक्षक निशाले एपिएफविरुद्ध एक गोल गर्नु र आर्मीलाई हराउनु नै टोलीको उपलब्धि भएको बताइन्। उनले भनिन्, ‘हामी फिटनेसमा एपिएफभन्दा कमजोर थियौं तर हामीले सक्दो राम्रो खेल्ने कोसिस गरेका हौं। पहिलो गोल छिटै नभएको भए अझ हाम्रो खेलमा फर्कने सम्भावना हुन्थ्यो।’

घरेलु फुटबलमा सर्वाधिक पुरस्कार राशिको यस प्रतियोगिताको चौथो संस्करणमा ९ टोलीले प्रतिस्पर्धा गरेका थिए। भाग लिएको भारत सिक्किम टोलीले समूह चरण पार गर्न सकेन। उपाधि रक्षा गर्ने क्रममा एपिएफले सुरुआती खेलमा पश्चिमाञ्चललाई १५–० ले र सेमिफाइनलमा नेपाल पुलिस क्लबलाई ३–१ ले पराजित गरेको थियो।

उपाधि विजेता एपिएफले ३ लाख, उपविजेता मध्यमाञ्चलले १ लाख ५० हजार, सेमिफाइनलमा पुगेका पुलिस र आर्मीले समान ५० हजार रुपैयाँ पुरस्कार पाए।

विजेता खेलाडीलाई प्रधानसेनापति राजेन्द्र क्षेत्रीले पुरस्कृत गरेका थिए।

प्रकाशित: २५ कार्तिक २०७३ ०३:२५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App