दशौं राष्ट्रिय खेलकुद प्रतियोगीता अन्तर्गत पुरुष क्रिकेटतर्फ विभागीय टोली नेपाल पुलिस क्लवलाई २९ रनले पराजित गर्दै मधेश प्रदेश विजयी भएको छ।
कालिन्चोक क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको मधेशले चार विकेटको क्षतिमा १६६ रन बनाएको थियो।
मधेशका लागि ओपनर सन्तोष कार्कीले महत्वपूर्ण ६० रन बनाए। ४२ बलको सामना गरेका कार्कीले तीन छक्का र पाँच चौका प्रहार गरे।
छैटौं क्रममा ब्याटिङ गर्न आएका विवेकुमार यादव विष्फोटक पारी खेले। उनले १६ बलमा चार छक्का र एक चौका प्रहार गर्दै ३७ रनको नटआउट पारी खेले।
यस्तै २१ बल खेलेका पवन सर्राफले २१ बलमा एक छक्का र एक चौकाको मद्दतमा नटआउट ३२ रन बनाए।
मयन यादवले १९ रन बनाउँदा कप्तान अनिलकुमार साहले १४ र अरनिको प्रसाद यादवले सात रन बनाए।
बलिङतर्फ प्रहरी क्लबका रसिद खान, चन्द्रकान्त पौडेल, दिपक सिरला र श्रवण यादवले एक–एक विकेट लिए।
यस्तै, १६७ रनको लक्ष्य पछ्याउने क्रममा पुलिस क्लबले सबै विकेट गुमाएर १३७ रन मात्रै बनाउन सक्यो।
पुलिसका लागि रसिद खानले सर्वाधिक ४१ रन बनाए। २९ बलको सामना गरेका उनले तीन छक्का र तीन चौका प्रहार गरे।
यस्तै चन्द्रकान्त पौडेलले १९, श्रवण यादवले १६, दिलिप नाथले १४, कप्तान सागर ढकालले १० रनको योगदान दिए।
बलिङतर्फ मधेसका अरनिको यादवले तीन विकेट आफ्नो हात पार्दा अभिशेक तिवारी र रुपेश कुमार सिंहले दुई–दुई विकेट लिए। विशाल पटेलको नाममा एक विकेट रह्यो।
प्रकाशित: ११ मंसिर २०८३ १७:११ शुक्रबार





