दशौं राष्ट्रिय खेलकुद प्रतियोगीता अन्तर्गत महिला क्रिकेटतर्फ लुम्बिनी प्रदेश समूह चरणबाटै बाहिरिएको छ।
आफ्नो दोस्रो खेलमा मधेश प्रदेशसँग पराजित हुँदै लुम्बिनी प्रतियोगीताबाट बाहिरिएको हो।
बिहीबार वीरेन्द्रनगर क्रिकेट मैदानमा टस जितेर ब्याटिङ रोजेको लुम्बिनीले सात विकेटको क्षतिमा ७९ रन बनायो।
लुम्बिनीकी ओपनर ऋतु रावलले ४१ रनको नटआउट पारी खेलिन्। ५६ बलको सामना गरेकी उनले पाँच चौका प्रहार गरिन्।
यस्तै सिमा थापाले १० रनको योगदान दिइन्। आस्मा पुलामीमगरले पाँच, अनिता चौधरी र दीपा कुँवरले समान चार चार रन बनाइन् भने सुस्मिता भुषालले दुई तथा ओपनर श्रुती बुढाथोकी, सरस्वती पुन, मनिषा रानाले एक एक रन बनाए।
लुम्बिनीलाई सस्तैमा समेट्न मधेश प्रदेशकी सुस्मिता यादवले चार विकेट हात पारिन्। चार ओभर बलिङ गरेकी उनले २० रन खर्चिन। यस्तै रोजी कडारीले दुई विकेट झारिन भने कप्तान पुजा महतोले एक विकेट लिइन्।
८० रनको लक्ष्य पाएको मधेशले १२.४ ओभरमा पाँच विकेट गुमाएर भेट्टायो। मधेशकी ओपनर एलिषा यादवले ४२ रनको महत्वपूर्ण पारी खेलिन्। ३६ बलको सामना गरेकी उनले आठ चौका प्रहार गरिन्।
कम्तान पुजा महतोले १५ रन बनाउँदा अनुराधा चौधरीले सात रन बनाइन्। ओपनर साना प्रविनले चार रन र सरस्वती चौधरीले दुई रनको योगदान दिइन्। चाँदनी खातुन चार रनमा नटआउट रहिन्।
लुम्बिनीकी सरु तिवारीले तीन, सुस्मिता भुषाल र सरस्वती पुनले एक एक विकेट हात पारे।
बलिङमार्फत लुम्बिनीलाई सस्तैमा समेटेकी मधेश प्रदेशकी सुस्मिता यादव प्लेयर अफ द म्याच घोषित भइन्।
मधेशसँगको हारसँगै लुम्बिनी प्रदेश प्रतियोगीताबाट बाहिरिएको छ। लुम्बिनी आफ्नो पहिलो खेलमा सशस्त्र प्रहरीको एपीएफ क्लबसँग पराजित भएको थियो।
प्रकाशित: १० मंसिर २०८३ १२:४४ बिहीबार





