२० असार २०८१ बिहीबार
image/svg+xml
खेल

सन्दीपलाई यूएई पठाउने प्रकृयामा क्यान

क्रिकेटर सन्दीप लामिछानेलाई सर्वोच्च अदालतले विदेश जान अनुमति दिएको छ। सर्वोच्चले अनुमति दिएसंगै सन्दिप अब विदेश जान पाउने भएका छन्।

तर लामिछाने कहिले युएई जाने भने टुङ्गो लागेको छैन। नागरिक न्युजसँग कुरा गर्दै क्यानका कार्यवाहक सचिव दुर्गराज पाठकले सन्दीप युएई जाने टुङ्गो नलागेको बताएका हुन्। 

उनले भने, ‘रजिष्टेशनको लागि पहल गरेका थियौँ। अब आइसिसीले त्यो कुरा कसरी लिएको छ। प्रकृया गत हिसाबमा जानु पर्ने हुन्छ। त्यसैले आइसिसी र टिमसँग छलफलमा छौँ।’

यद्यपि लामिछानेविरुद्धको बलात्कार मुद्दा भने जिल्ला अदालत काठमाडौँमै विचाराधीन छ। उच्च अदालतको आदेश बदर हुनुपर्ने र लामिछानेलाई थुनामा राखेरै बलात्कार मुद्दा अघि बढाउनुपर्ने मागसहित महान्यायाधिवक्ता कायालयले १७ गते सर्वोच्चमा निवेदन दिएको थियो। उक्त निवेदनमा माघ २० गते सर्वोच्चले पाटन उच्च अदालतको फैसलाको मिसिल(कैफियत प्रतिवेदन) झिकाउने आदेश दिएको थियो। 

उक्त पुनरावेदनको पेसी फागुन १२ गतेलाई तोकिएको थियो।

गत भदौ ५ गते एक १७ वर्षकी बालिकालाई ललाइफकाई नगरकोट घुम्न लगेको र त्यहाँबाट नियत बस ढिलो गरी राति तिलगंगास्थित एक होटलमा ल्याएर बलात्कार गरेको आरोप उनीमाथि छ। मुद्दामा कात्तिक १८ गते काठमाडौं जिल्ला अदालतमा थुनछेक बहस भएको थियो। थुनछेक बहसपछि जिल्ला न्यायाधीश माधवप्रसाद घिमिरेको इजलासले लामिछानेलाई ‘मुद्दाको किनारा नलागेसम्म पुर्पक्षका लागि जेल चलान गर्न आदेश’ दिएको थियो।

जिल्ला अदालतको उक्त आदेश ‘बेरीतको भएकाले बदर गरिपाऊँ’ भन्दै लामिछानेले उच्च अदालत पाटनमा निवेदन गरेका थिए। उच्च अदालत पाटनका न्यायाधीशद्वय ध्रुवराज नन्द र रमेश ढकालको संयुक्त इजलासले बिहीबार लामिछानेलाई पुर्पक्षका लागि जेल चलान गर्ने जिल्ला अदालत काठमाडौँको आदेश बदर गर्दै २० लाख धरौटीमा  र १० वटा सर्तमा मात्रै थुनामुक्त गर्न आदेश दिएको थियो। तर उच्च अदालततको आदेशविरुद्ध महान्यायाधिवक्ता कार्यालय सर्वोच्चमा पुगेको हो।

सन्दीपलाई नेपाल क्रिकेट संघ ९क्यान० को बोड बैठकले माघ १८ गते बुधबारे निलम्बन फुकुवा गर्ने निर्णय गरेको थियो। राष्ट्रिय टिममा फर्काउने अधिकार भने खेलाडी छनोट समितिलाई दिइएको थियो।

सन्दीपलाई छनोट समितिले भने माघ १९ गते राष्ट्रिय टिममा आवश्यक परेको भन्दै टिममा समावेश गरेको थियो।    

नेपाली क्रिकेट टिम युएई र पपुवान्यूगिनीविरुद्धको म्याच खेल्न शनिबार युएई गएका थिए। काठमाडौं जिल्ला अदालतले काठमाडौं बाहिरसहित विदेश जान रोक लगाएकाले सन्दीप सो टिममा छैनन्। उक्त टिममा समावेश हुन पाउने पर्ने मागसहित ११ गते सन्दीप पुनरावेदनकोलागि सर्वोच्च गएका थिए। उक्त पुनरावेदन शुक्रबार न्यायाधीश ईश्वरप्रसाद खतिवडाको इजलासले हेरेको थियो। तर उक्त रिटमा अग्राधिकार दिँदै आइतबारलाई सुनवाइ सारेको थियो। त्यसपछि न्यायाधीशद्वय सपना प्रधान मल्ल र कुमार चुडालको संयुक्त इजलासमा बहस नसकिएपछि मुद्दा  हेर्दाहेर्दैमा राखिएको थियो भने उनीहरुको इजलासले आज सन्दीपलाई विदेश जाने अनुमति दिएको हो।

उनी नेपाली राष्ट्रिय टिमका महत्त्वपूर्ण सदस्य हुन्। हाल घरेलु मैदानमा जारी त्रिकोणात्मक श्रृंखलामा उनको उत्कृष्ट प्रदर्शनमा नेपालले लिग २ क्लिन सिप समेत गरेको थियो भने लिग २ मा ५० विकेट पूरा गर्ने समग्रमा तेस्रो तथा नेपालका लागि पहिलो खेलाडी समेत हुन्। 

प्रकाशित: १५ फाल्गुन २०७९ १२:५५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App