काठमाडौं- नेपाली फुटबलको सर्वोच्च निकाय अखिल नेपाल फुटबल संघ (एन्फा) ले सोमबार आगामी एक वर्षका लागि नयाँ नेतृत्व पाउने भएको छ। अध्यक्ष र एक उपाध्यक्ष पदका लागि हुन लागेको एन्फा निर्वाचनको प्रतिक्षा अहिले फुटबलकर्मीमा सिमित छैन।
यसअघि सधै औपचारिकतामा सिमित हुँदै आएको एन्फामा व्यवहारिक रुपमा पहिलो पटक चुनाव हुन लागेको छ। यसपाली विगतमा जस्तो भावी नेतृत्व 'ओपन सिक्रेट' रहेन। सधै निर्विरोध नेतृत्व चयन गर्ने एन्फामा पहिलो पटक अध्यक्ष र उपाध्यक्ष दुवै पदमा परेका उम्मेदवारीले साधारण सभा प्रक्रिया पूरा गर्ने माध्यमबाट प्रतिस्पर्धाको उत्कर्ष थलोका रुपमा परिवर्तित भएको छ। जसले नेपाली खेलकुदमा सबभन्दा बढि प्रभाव राख्ने र सम्भवत सबभन्दा बढि लोकप्रिय तथा बढि गतिविधि भएको खेल संघको निर्वाचन सबैको चासोको विषय बनेको छ।
विश्व फुटबलको सर्वोच्च निकाय फिफाले तत्कालिन अध्यक्ष गणेश थापालाई निलम्बन गर्दै तत्काल निर्वाचनबाट नयाँ नेतृत्व चयन गर्न दबाब दिएपछि चुनाव हुन लागेको हो। चुनावमा अध्यक्ष पदका लागि आ–आफ्ना खेमालाई प्रतिनिधित्व गर्दै दुई प्रभावशाली फुटबलकर्मीको उम्मेदवारी परेको छ। यसैगरी उपाध्यक्षमा पनि दुवै खेमाका उम्मेदवारका साथै स्वतन्त्र रुपमा राष्ट्रिय टोलीका पूर्व कप्तान उपेन्द्रमान सिंह उभिएका छन्।
संस्थापन पक्षको ट्यागसहित वर्तमान कार्यवाहक अध्यक्ष नरेन्द्र श्रेष्ठले अध्यक्षमा उम्मेदवारी दिँदा विद्रोही प्यानलको नेतृत्व गरेका कर्माछिरिङ शेर्पाले अध्यक्षमा उम्मेदवारी दिएका छन्। उपाध्यक्षमा श्रेष्ठ प्यानलबाट एन्फाका वर्तमान सदस्य मणि कुँवर तथा शेर्पा प्यानलबाट दीपक खाती उठेका छन्। नेपाली फुटबल राजनीतिमा खातीको प्रभाव कमजोर भएकाले आफूलाई फाइदा हुने संस्थापन पक्षको सोचाई छ। पूर्व अध्यक्ष थापाको पनि साथ थपिएकाले जित्नेमा श्रेष्ठ पक्ष अझै वढि आस्वस्त छ। जवकि विद्रोही प्यनलले भने यसैलाई श्रेष्ठको कमजोरीका रुपमा व्याख्या गरिरहेको छ। कुँवर पूर्व अध्यक्ष थापाका नातेदार हुनुले आफूहरुलाई फाइदा पुग्ने शेर्पा पक्ष ठान्छ। यसबीचमा खेलाडी, प्रशिक्षक र रेफ्री संघको संयुक्त उम्मेदवारका रुपमा सिंहको उम्मेदवारी पर्नुले पनि समिकरण अनुमान गर्न कठिन बनेको छ।
उपाध्यक्षमा नतिजा जस्तो आए पनि अध्यक्षको नतिजामा समेत यसले प्रभाव पार्नेमा भने सबै पक्ष सचेत छन्। 'एन्फामा पहिलो पटक चुनाव हुदैछ। यसअघि अध्यक्षमा सधै सर्वसम्मत हुन्थ्यो। अनि उहाँकै कारण अरु पदमा पनि इच्छुकहरुले मन बाधेर बस्ने गरेका थिए। कठिन परिस्थितीमा पनि एन्फामा सर्वसम्मत हुन्थ्यो,' एन्फाका एक पदाधिकारीले भने, 'अव अवस्था फरक छ। अहिले पनि निर्वाचनमा उहाँको प्रत्यक्ष वा परोक्ष भुमिका छ। पहिला फुटबलको चुनाव गणेश थापामा केन्द्रित हुन्थ्यो, तर अहिले यसमा धेरै पक्ष निर्णायक शक्तिका रुपमा उदाएका छन्।'
आसन्न निर्वाचनमा गणेश थापाका पक्षधर र विद्रोहीका नाममा दुई खेमा स्पष्ट देखिए पनि धेरै अरु शक्तिकेन्द्रबाट नतिजा प्रभावित हुने बताइन्छ। श्रेष्ठसँग थापा पक्षधरका साथै शेर्पालाई मन नपराउनेको साथ रहनेछ। साथमा शेर्पालाई नेपाली काग्रेसले संस्थागत रुपमै सघाएको चर्चाका कारण गैह्र काग्रेसको साथ पाउने उनले अपेक्षा गरेका छन्। ठिक त्यस्तै फाइदा शेर्पासामु पनि हुनेछ। थापाविरुद्धको आन्दोलनको नेतृत्व गरेकाले उनका विरोधी सबै तथा काग्रेसको साथ पाउनु एन्फा निर्वाचन जित्न पर्याप्त हुन सक्छ। राजनीतिक रुपमा निर्वाचनमा ध्रुविकरण भए कर्माको सम्भावना बलियो देखिन्छ। एन्फाका ४५ मध्ये तीन दर्जनभन्दा बढि जिल्लामा काग्रेसको नेतृत्व छ। यसैगरी अधिकांस क्लब पनि काग्रेस कार्यकर्ता वा समर्थकहरुकै नेतृत्वमा छ।
फुटबलकर्मीहरुको विगत हेर्ने हो भने राजनीतिक रुपमा तत्काल चिरा पर्ने सम्भावना कम देखिन्छ। राप्रपा नेपालका नेता थापालाई लामो समयसम्म सबै दलसँग सम्बन्धितले समर्थन दिनु तथा अझै पनि काग्रेससँगै सम्बद्ध केही प्रतिनिधिले श्रेष्ठलाई सघाइरहेका छन्। श्रेष्ठको पक्षमा खुलेर लागेका तनहु जिल्ला फुटबल संघका अध्यक्ष रत्न श्रेष्ठ सोमबारको निर्वाचनलाई राजनीतिक भन्दा पनि फुटबलकर्मीको प्रतिस्पर्धाका रुपमा वयान गर्छन।
'यो चुनाव यही खेलमा लामो समयदेखि सक्रिय दुई फुटबलकर्मीबीचको प्रतिस्पर्धा हो। कर्माजी काग्रेसको कार्यकर्ता हो। तर पार्टीले संस्थागत रुपमा निर्णय गरेर ह्विप जारी गरेको छैन। नरेन्द्र दाई पनि डेमोक्रयाट नै हो,' श्रेष्ठले भने, 'यो चुनावको नतिजा पूर्ण रुपमा एजेन्डा र फुटबलमा गरेको योगदानका आधारमा आउछ, राजनीतिक आस्थाका आधारमा होइन।'
श्रेष्ठलगायत रौतहट जिल्ला फुटबल संघका अध्यक्ष नेपाल कार्की, सिन्धुपाल्चोक जिल्लाका अध्यक्ष वीरबहादुर खड्का, च्यासल फुटबल क्लबका अध्यक्ष दीनेश व्यन्जनकारलगायतका काग्रेस कार्यकर्ताहरुले खुलेर अध्यक्षमा श्रेष्ठलाई सघाइरहेका छन्। उनी अध्यक्ष पदका प्रत्यासीमध्ये श्रेष्ठलाई फुटबलमा लामो अनुभव हासिल गरेका, थुप्रै त्याग गरेका र सबैलाई मिलाएर लानुपर्छ भन्ने मध्यमार्गी भावना भएका नेताका रुपमा लिन्छन्। यसैगरी शेर्पालाई भने फुटबलमा पछिल्लो समय एजेन्डा स्थापना गर्न सफल मानिसका रुपमा उनले लिएका छन्।
साधारण सभाको पूर्व सन्ध्यासम्म अध्यक्षमा कडा टक्कर हुने जस्तो देखिए पनि दुवै पक्ष जित्नेमा विश्वस्त देखिन्छन्। फुटबलमा पहिलो पटक निर्वाचन हुन लागेकाले अन्तिम निर्णय आउँदा कस्को विश्वास भ्रममा परिणत हुन्छ भन्ने अनुमान अहिले सहज छैन। थापाको २० वर्षे कार्यकालमा एन्फाभित्र खुलेर आफ्ना विचार राख्ने संस्कृति थिएन। थापापछिको एन्फा भर्खर एक वर्षको भएको छ, साधारण सभामा भाग लिने सबै पुरानै अनुहार हुन्। त्यसैले झन नतिजा देखिएजस्तै होला भन्नेमा शंका छ। खुलेर एउटाको पक्षमा देखिनेहरुले पनि गोप्य मतदानमा अर्कोलाई साथ नदेलान भन्न सकिन्न।
नरेन्द्र श्रेष्ठः
अध्यक्ष पदका उम्मेदवार नरेन्द्र श्रेष्ठ झण्डै एक वर्ष देखी एन्फाको कार्यवाहक अध्यक्षको रुपमा कार्यरत छन्। न्यु रोड टिम (एनआरटी) बाट २०२८ साल देखी व्यावसायिक फुटबल खेलेका श्रेष्ठले २०३२ सालमा खेलाडी जीवन टुंगाएका थिए। एनआरटीलाई 'बी' डिभिजनबाट 'ए' मा उकाल्दाका मिडफिल्डर श्रेष्ठ तीन पटक टोलीले शहिद स्मारक 'ए' डिभिजन लिग जित्दाका महत्वपूर्ण खेलाडी थिए।
राष्ट्रिय टोलीमा नपरे पनि क्लबबाट अन्तर्राष्ट्रिय आमन्त्रण प्रतियोगिताहरुमा सहभागिता जनाएका श्रेष्ठ फुटबल विकासमा ३० वर्ष भन्दा लामो समय योगदान गरेवापत एसियाली फुटबल महासंघ (एएफसी) को एएफसी गोल्ड सर्भिस अवार्डबाट सम्मानित फुटबलकर्मी हुन्। एनआरटीको माउ संस्था काठमाडौं खेल मण्डलबाट क्रिकेट पनि खेलेका उनले १९७२ मा थाइल्यान्डमा भएको एक आमन्त्रण प्रतियोगितामा सहभागिता जनाएका थिए।
खेल्न छोडेपछि फुटबल प्रशासनमा एकोहोरिएका श्रेष्ठले २०४२ देखी २०६४ सालको अवधिमा एनआरटीको सचिव र महासचिवको रुपमा काम गरेका थिए। २०६४ देखी २०७० सम्म एनआरटीको अध्यक्षको जिम्मेवारी सम्हाले। यसैगरी एन्फामा वर्तमान कार्यवाहक अध्यक्ष श्रेष्ठसँग यसअघि दुई पटक उपाध्यक्ष र एक पटक महासचिवको भुमिकामा काम गरेको अनुभव छ।
उनी एन्फामा २०५८ देखी २०६२ सम्म उपाध्यक्ष, २०६२ देखी ०६६ सम्म महासचिव र २०६६ देखी २०७० सम्म पुनः उपाध्यक्ष भएका थिए। २०७२ कात्तिक २२ देखी श्रेष्ठले एन्फाको कार्यवहाक अध्यक्षको रुपमा जिम्मेवारी सम्हाल्दै आएका थिए।
उनी एनआरटीको भएको बेला एनआरटीले आर्थिक कारण बताउँदै फुटबल नखेल्ने निर्णय गरेपछि श्रेष्ठले २०७० मा क्लबबाट राजीनामा दिएका थिए।
श्रेष्ठले एएफसीको स्टयान्डिङ कमिटी, अपिल कमिटी, युथ फुटबल डिभेलपमेन्ट कमिटी जस्ता महत्वपूर्ण जिम्मेवारी वहन गरेका अनुभव उनीसँग छन्। हाली उनी एएफसीको मिडिया एन्ड कम्युनिकेसन कमिटीका सदस्य हुन्। फुटबलको विकासमा सक्रिय श्रेष्ठ गोर्खा दक्षिण बाहु चौथोबाट पनि सम्मानित भैसकेको छन।
श्रेष्ठका योजनाः
– एन्फालाई आर्थिक र प्रशासनिक रुपमा थप पारदर्सी बनाउने
– वर्तमान फुटबल विवाद अन्त्य गर्दै भइरहेका राम्रा कामलाई निरन्तरता दिने
– अर्को वर्षको साफ च्याम्पियनसिप जित्ने लक्ष्यमा राष्ट्रिय टोलीको तयारी व्यापक पार्ने
– युवा विकास परियोजनाहरुलाई देशव्यापी बनाउने
– प्राविधिक क्षेत्रका साथै जिल्लालाई सक्रिय बनाउने
– भौतिक पूर्वाधारको अभाव पूर्ति गर्ने
कर्माछिरिङ शेर्पाः
वर्तमान फुटबल राजनीतिमा कर्माछिरिङ शेर्पा एउटा सनसनीपूर्ण नाम हो। लगातारका विवादबीच पनि एन्फामा लामो समयदेखि नेतृत्व गरिरहेका तत्कालिन अध्यक्ष गणेश थापाविरुद्ध निर्णायक आन्दोलनको अगुवाई गरेर शेर्पाले आफूलाई सम्भावित नेतृत्वका रुपमा स्थापित गरेका हुन्।
राजनीतिक कार्यकर्ताका रुपमा खेलकुदमा प्रवेश गरे पनि पछिल्ला दुई दशकमा शेर्पाले आफूलाई फुटबलकै प्रशासकका रुमपा उभ्याइसकेका छन्। विवादका बेला विभिन्न समय एन्फामा उपाध्यक्ष एवं वरिष्ठ उपाध्यक्षको भुमिका निर्वाह गरिसकेका उनी हिमालयन शेर्पा क्लबका जन्मदाता हुन्। आफ्नै परिकल्पनामा स्थापना भएको हिमालयन शेर्पा क्लबलाई उनकै नेतृत्वले 'सी' डिभिजन छनोट देखि 'सी' र 'बी' डिभिजन हुँदै 'ए' डिभिजनसम्म पुर्याएको थियो। स्थापनाको छोटो समयमै शीर्ष डिभिजनमा पुगेको टोलीले २०६७ मा सम्पन्न राष्ट्रिय लिगमा दोस्रो स्थान हासिल गरेको थियो।
अध्यक्ष थापाको विरोधमा आन्दोलन थालेवापत केही समय एन्फाको उपाध्यक्ष पदबाट निलम्बनमा समेत परेका शेर्पाको २०४७ सालमा काग्रेस कार्यकर्ताबाट फुटबलकर्मीका रुपमा रुपान्तरण प्रक्रिया सुरु भएको थियो। त्यतिबेला आफ्नै अध्यक्षतामा कमल पोखरी स्पोर्टस क्लब स्थापना गरेर शेर्पाले फुटबलमा प्रवेश गरेका थिए। त्यसपछि नक्साल युवा मण्डलसँग आवद्ध भएर काम गरेका शेर्पाले २०४६ मा स्टार क्लब गठन गरेर फुटबल गतिविधिमा लाग्ने प्रयास गरेका थिए। 'सी' डिभिजनसम्म खेले पनि स्टार क्लब लामो समय सक्रिय हुन सकेन।
राष्ट्रिय खेलकुद परिषदको सदस्यमा मनोनित भएपछि भने शेर्पाले नेपाली खेलकुदको उच्च तहमा काम गर्ने अवसर पाएका थिए। थापाको नेतृत्वमा अन्तर्राष्ट्रिय मान्यताप्राप्त एन्फा सक्रिय थियो भने गिता राणाको अध्यक्षतामा राखेपले गठन गरेको अर्को कमिटी पनि अस्तित्वमा थियो। एन्फाको विवाद मिलाउन राखेपबाट उनलाई राणा कमिटीमा उपाध्यक्षका रुपमा सिफारिस गरिएको थियो। शेर्पा २०५९ सालमा भएको राणा एन्फाको निर्वाचनमा वरिष्ठ उपाध्यक्षमा चयन भएका थिए। विवाद मिलाउने उदेश्यमा शेर्पाले केही समय राणा पक्षको अध्यक्षका रुपमा पनि काम गरेका थिए। उनकै सक्रियतामा विवाद मिलेपछि २०६२ सालमा थापा नेतृत्वमा शेर्पा उपाध्यक्षमा निर्विरोध चयन भए। त्यस्तै उनी २०६६ र २०७० सालको चुनावमा पनि उपाध्यक्षमा निर्विरोध भएका थिए।
शेर्पाका एजेन्डाः
– प्रशासनिक र नीतिगत सुशासन स्थापित गर्ने
– आर्थिक पारदर्सिता कायम गर्ने
– स्थानीय स्तरमा फुटबलको विकास गतिविधि व्यापक पार्ने
– क्लबलाई व्यावसायिक बनाउने दिशामा कदम चाल्ने
– सामुहिक नेतृत्व र विकेन्द्रिकरणको सिद्धान्तमा एन्फालाई सञ्चालन गर्ने
– सात प्रदेशमा १४ वटा एकेडेमी बनाएर नियमित प्रशिक्षणको वातावरण मिलाउने
प्रकाशित: ८ कार्तिक २०७३ ०३:०३ सोमबार