विराटनगरमा अन्तर विद्यालय ‘हव लिग’ क्रिकेट प्रतियोगिता सुरू भएको छ। नेपाल क्रिकेट फाउन्डेसनको आयोजनामा बिहीबारदेखि अन्तर विद्यालय ‘हव लिग’ क्रिकेट प्रतियोगिता सुरु भएको हो।
बिहीबार भएको खेलमा सत्यनारायण मा.वि. र सरस्वती मा.वि. विजयी भएका छन्। पहिलो खेलमा सत्यनारायणले बुढानीलकण्ठ स्कुललाई ७ विकेटले पराजित गरेको छ। टस जितेर ब्याटिङ गरेको बुढानीलकण्ठले निर्धारित २० ओभरको खेलमा १९ दशमलव २ बलमा सबै विकेट गुमाई ५९ रनमा सीमित भयो। जस्मा अमित साहले सर्वाधिक १० रनको योगदान दिए। सत्यनारायणका म्यान अफ द म्याच आकाश यादव र विकाश कामतले ३–३ विकेट लिए। ६० रनको सामान्य लक्ष्य पाएको सत्यनाराणले ९ दशमलव ३ बलमा ३ विकेट गुमाउँदै सो लक्ष्य पार गरेको थियो। जस्मा महमद हरुनले १६ रनको योगदान दिए। बुढानीलकण्ठका कादिल यादवले २ विकेट लिए।
बिहीबार नै भएको दोस्रो खेलमा सरस्वती माविले पाखरिया मा.वि. लाई ७५ रनले पराजित गरेको छ। टस जितेर ब्याटिङ गरेको सरस्वतीले निर्धारित २५ ओभरमा ४ विकेट गुमाई १ सय ५१ रनको योगफल खडा गरेको थियो। जसमा राकेश खडकाले ३७ रन बनाउँदा साहिद शेखले ३२ रन र रामनारायणले ३१ रन बनाए। पोखरीयाका दिपराज चौधरी र सफर पोखरेलले १–१ विकेट लिए। १ सय ५२ रनको लक्ष्य पछ्याएको पोखरियाले १६ ओभरमा सबै विकेट गुमाई ७६ रन मात्र बनायो। जसमा राहुल महतोले २९ रन बनाए। सरस्वतीका रोहन मण्डलले ४ विकेट लिँदा राकेश खडकाले ३ विकेट लिए। खेलको म्यान अफ द म्याच सरस्वतीमा अलराउण्डर खेलाडी राकेश खड्का घोषित भए।
लिग नकआउटको आधारमा खेलाइने प्रतियोगितामा विराटनगरमा ८ वटा संस्थागत तथा सामुदायिक विद्यालय सहभागी रहेको नेपाल क्रिकेट फाउन्डेसनका अध्यक्ष अविशेक श्रेष्ठले जानकारी दिए । प्रतियोगितामा विराटनगरको बाल्मीकी, बुढानीलकण्ठ, बिनायक, सरस्वती, सत्यनारायण, पोखरीया, मनकामना र राइजिङ नेपालसहभागि रहेका छन्। प्रतियोगिता फागुन १८ गतेसम्म सञ्चालन हुनेछ।
प्रकाशित: ११ फाल्गुन २०७९ १३:३७ बिहीबार