५ आश्विन २०८१ शनिबार
image/svg+xml
राजनीति

देउवाको दाबी: कांग्रेस–एमाले मिल्दा जनता खुसी भए

सत्तारुढ नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले कांग्रेस–एमालेको सत्ता सहकार्यले मुलुकमा सकारात्मक सन्देश दिएको बताएका छन्।

सभापति देउवाले सत्ताका लागि कचकच भईरहेका बेला दुई ठूला पार्टीबीचको गठबन्धनले जनतामा आनन्द र खुशी छाएको सभापति देउवाको दाबी थियो।

शनिबार काभ्रेको धुलिखेलमा विपी कोईरालाको शालिक अनावरण गर्दै उनले सत्ता सहकार्य गरेर दलहरुले जनताको पक्षमा काम गर्नुपर्ने बताए।

"एमाले र कांग्रेस दुई वटा पार्टी मुख्य प्रतिस्पर्धी पार्टी हो। दुई वटै पार्टी मिल्दाखेरी के हुन्छ भन्ने चिन्ता पनि छ मानिसहरुलाई। तर प्रतिष्पर्धी पार्टी मिल्दाखेरी देशभरीमा नै मैले थाहा पाए अनुसार त नेपाली जनताहरु खुशी भएका छन।" उनले भने। 

सभापति देउवाले पार्टीलाई आगामी निर्वाचनमा कम्तिमा पहिलो पार्टी बनाउने गरी मेहनत गरेर जनताको पक्षमा खटिएर काम गर्न पनि पार्टीका नेता, कार्यकर्तालाई निर्देशन दिए।

कांग्रेसले बढी गफ गर्छ, काम गर्दैन भन्ने गुनासो आइरहेको भन्दै सभापति देउवाले दुःखमा परेका जनताको पक्षमा काम गर्न पनि पार्टीका नेता, कार्यकर्तालाई सचेत गराए।

"कांग्रेसले कामै गर्दैन भन्छन है विचार गर्नु। कांग्रेसले गफ बढी गर्छ, काम गर्दैन। अनि खाईदेला नि अरु पार्टीले। त्यसकारणले कांग्रेसले अरु बढि काम गर्नुपर्‍यो। जनतासँगको सम्बन्ध बढाउनु पर्‍यो। जनताको दिल जित्नुपर्‍यो। जनताको कामहरु गर्नुपर्‍यो।" उनले भने।

सभापति देउवाले संविधानमा समावेशी समानुपातिक सिष्टमका कारण कुनै एउटा पार्टीले बहुमत ल्याउने नसक्ने कठिन अवस्थामा पनि पार्टीलाई बहुमतमा पुर्‍याउने गरी कांग्रेसले मेहनतका साथ काम गर्नुपर्नेमा जोड दिए।

प्रकाशित: ५ आश्विन २०८१ १९:०२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App