२१ असार २०८१ शुक्रबार
image/svg+xml
खेल

नेपालको सनसनीपूर्ण जित

स्कटल्यान्डविरुद्ध जित निकालेपछि नेपालका कप्तान रोहित पौडेल (बायाँ) र करण केसी। तस्बिर सौजन्यः क्यान

रोहित पौडेलले कप्तानी इनिङ्स खेलेपछि नेपालले आइसिसी विश्वकप क्रिकेट लिग ‘टु’ अन्तर्गत त्रिकोणात्मक शृंखलाको चौथो खेलमा स्कटल्यान्डमाथि २ विकेटको सनसनीपूर्ण जित निकालेको छ।  

मंगलबार कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा स्कटल्यान्डले प्रस्तुत गरेको २ सय १३ रनको लक्ष्य नेपालले ४४.१ ओभरमा मात्र ८ विकेट गुमाउँदै पूरा गरेको थियो।  

मध्यम लक्ष्य पछ्याएको नेपालको सुरुआत निकै खराब रहेको थियो। नेपालले १ रन जोड्दा ओपनर कुशल भुर्तेललाई गुमायो। थप १८ रन जोड्ने क्रममा अर्का ओपनर आसिफ शेख पनि पवेलियन फर्किएका थिए। स्कटल्यान्डका बलर लगातार हाबी भएको खेलको १०.३ ओभरमा नेपालले भरपर्दा ब्याटर ज्ञानेन्द्र मल्ललाई पनि गुमायो। ज्ञानेन्द्रले ३० बलमा ४ चौकाको मद्दतमा २१ रन जोडेका थिए।  

त्यसपछि ब्याटिङका लागि आएका अलराउन्डर कुशल मल्ल र सन्दीप जोराले पनि सम्हालिएको प्रदर्शन गर्न सकेनन्। ६० रनमा कुशललाई गुमाएको नेपालले थप रन जोड्दा सन्दीप जोरालाई पनि गुमायो।  

कप्तान रोहितले छैटौं विकेटका लागि दीपेन्द्रसिंह ऐरीसँग ४२ रनको साझेदारी गरेका थिए। दीपेन्द्रले १६ बलमा मात्र ७ रन जोडे। त्यसपछि ब्याटिङका लागि आएका सोमपाल कामीसँग रोहितले सातौं विकेटका लागि ११ र आठौं विकेटका लागि सन्दीप लामिछानेसँग २४ रनको साझेदारी गरेका थिए। सन्दीपले १३ बलमा १ चौकाको मद्दतमा ९ रन जोड्दा सोमपालले मात्र २ रन जोडे।  

१३८–८ को स्थितिमा रोहित र करण केसीले ७४ बलमा ७५ रनको साझेदारी गरेसँगै नेपालले रोमाञ्चक जित पक्का गरेको थियो।  

रोहितले १ सय १ बलमा ७ चौका र ४ छक्काको मद्दतमा अविजित ९५ रन जोड्दा करणले ३७ बलमा २ चौका र १ छक्काको मद्दतमा अविजित ३१ रन जोडेका थिए। रोहित लिग ‘टु’ मा नेपालका लागि सर्वाधिक रन बनाउने ब्याटर हुन्। रोहितले २२ खेलमा ५ अर्धशतकसहित ७ सय ६४ रन जोडेका छन्।

नेपालले घरेलु मैदानमा नयाँ प्रशिक्षक मोन्टी देसाईको प्रशिक्षणमा शृंखलाका चारवटै खेल जित्दै लिग ‘टु’ को शीर्ष तीनमा बस्दै विश्वकप छनोट खेल्ने सम्भावना कायम राखेको छ। शृंखलाको पहिलो भेटमा नेपालले स्कटल्यान्डलाई ३ विकेटले हराएको थियो। नामिबियाविरुद्धको दुई खेलमा भने नेपालले क्रमशः २ र ३ विकेटको जित निकालेको थियो।  

लिग टु च्याम्पियन स्कटल्यान्ड ३६ खेलमा ५० अंकसहित शीर्ष स्थानमा रह्यो भने ओमान ४४ अंकसहित दोस्रो स्थानमा रह्यो। यी दुई टोलीले जिम्बाब्वेमा हुने विश्वकप छनोटमा स्थान पक्का गरिसकेका छन्। लिगमा मात्र दुई खेल खेल्न बाँकी रहेको नामिबिया ३४ खेलमा ३७ अंकसहित तेस्रो स्थानमा छ। चौथो स्थानको अमेरिकाले पनि लिगका सबै खेल खेलिसकेको छ र उसको ३५ अंक छ। पाँचांै स्थानको युएईको २६ खेलमा २७, छैटौं स्थानको नेपालको २८ खेलमा २६ अंक छ भने सातौं स्थानको पपुवा न्युगिनीको २८ खेलमा मात्र ५ अंक छ।

शीर्ष स्कटल्यान्ड र ओमानले विश्वकप छनोट खेल्ने पक्का भइसकेको छ। तेस्रो स्थानका लागि नामिबियासँगै युएई र नेपाल प्रतिस्पर्धामा छन्। नामिबियाले यसै महिना बाँकी दुई खेलका लागि युएईको भ्रमण गर्नेछ। नामिबियाभन्दा कम खेल खेलेका युएई र नेपालले लिगका बाँकी खेलमा ल्याउने नतिजाले तेस्रो स्थानको टोली निर्धारण गर्नेछ।  

नेपालका कप्तान रोहितले कठिन स्थितिमा पनि १२औं खेलाडीको रूपमा रहेका समर्थकले निरन्तर साथ दिँदा जित सम्भव भएको बताए।

‘हामीलाई समर्थकले शृंखलाको पहिलो खेलदेखि अन्तिम खेलसम्म निरन्तर साथ दिनुभयो,’ रोहितले भने, ‘हामीले उहाँहरूलाई निराश पारेनौं। आशा छ, आगामी दिनमा पनि तपार्इंहरूको निरन्तर साथ रहनेछ।  रोहितले स्पिनर सन्दीप लामिछाने आफ्नो टोलीका सफलतामा नायक रहेको बताए।  

‘सन्दीपले निरन्तर उत्कृष्ट प्रदर्शन गरे,’ रोहितले भने, ‘टोलीको सफलतामा उनको उच्च प्रदर्शन मुख्य कारक रह्यो।’ नेपाल लिग ‘टु’ अन्तर्गत युएई र पपुवा न्युगिनी सम्मिलित क्रिकोणात्मक शृंखलाका लागि यसै साता युएई प्रस्थान गर्दै छ। त्यस्तै नेपालले मार्र्च ९ बाट घरेलु मैदानमा युएई र पपुवा न्युगिनी सम्मिलित त्रिकोणात्मक शृंखला खेल्नेछ।  

यसअघि टस हारेर ब्याटिङका लागि आएको स्कटल्यान्डले ४६.१ ओभरमा सबै विकेट गुमाउँदै २ सय १२ रनको योगफल तयार पारेको थियो। स्कटल्यान्डका लागि जर्ज मुन्सेले ५० बलमा ९ चौका र २ छक्काको मद्दतमा ६०, म्याथ्यु क्रसले ६३ बलमा ४ चौका र १ छक्काको मद्दतमा ४२ र ब्य्रान्डन म्याकमुलेनले ३१ रन जोडे।

नेपालका लागि सन्दीपले १० ओभरमा ४५ रन खर्चंदै ४ विकेट लिएका थिए भने करणले ३ विकेट लिए। कुशल मल्ल र ललित राजवंशीे समान १ विकेट लिए।

सन्दीपले यस शृंखलामा कुल १३ विकेट लिए। उनले नामिबियाविरुद्धको दुई खेलमा समान ३ तथा स्कटल्यान्डविरुद्धको पछिल्लो भेटमा ३ विकेट लिएका थिए।  

लिग ‘टु’ मा उनले आफ्नो विकेट संख्या ५५ पु¥याएका छन् र उनी सर्वाधिक विकेट लिने खेलाडीको सूचीको तेस्रो स्थानमा छन्।

नेपालले यसै साता युएईको भ्रमण गर्ने भए पनि अदालतले विदेश जान रोक लगाएका कारण सन्दीप टोलीमा हुने सम्भावना न्यून छ।  

नाबालिग बलात्कारको मुद्दामा पुर्वपक्षका लागि थुनामा रहेका सन्दीपलाई पुस अन्तिममा उच्च अदालत पाटनले २० लाख धरौटीमा रिहा गरेको थियो।  

उच्च अदालत पाटनको आदेशविद्ध महान्यायाधिवक्ताको कार्यालयले सर्वोच्चमा मुद्दा दायर गरेको थियो। सो मुद्दामा फागुन १२ मा सुनुवाई हुँदै छ। सन्दीपले पनि विदेश जान रोक लगाउने उच्च अदालत पाटनको आदेश उल्ट्याउन माग गर्दै सर्वोच्चमा निवदेन दिएका छन्। सो निवदेनमाथि पनि १२ गते नै सुनुवाई हुनेछ।

प्रकाशित: १० फाल्गुन २०७९ ०१:२२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App