योर्गान क्लोपले आफ्नो टोली लिभरपुलको च्याम्पियन्स लिगमा रियाल मड्रिडसँग भिड्दा बदला लिँदै यस सिजनको सुधारमा समेत निरन्तरता दिने लक्ष्य रहेको बताएका छन्।
निरन्तर खराब नतिजा सामना गरेको क्लोपको टोली लिभरपुलले पछिल्लो समय सुखद नतिजा आत्मसात् गर्दै सुधारको संकेत देखाइरहेको छ। एभर्टन र न्युक्यासललाई हराएपछि इङ्लिस प्रिमियर लिगको शीर्ष चारमा फर्किने लिभरपुलको आशा पनि पुनर्जीवित भएको छ। गत शनिबार न्युक्यासललाई उसैको घरेलु मैदानमा २–० ले हराएपछि लिभरपुलले शीर्ष चारका लागि दूरी सात अंकले घटायो। लिभरपुलले शीर्ष चारको टोलीभन्दा दुई खेल कम पनि खेलेको छ। यद्यपि, यस सिजन नै खराब देखिएको लिभरपुलका लागि प्रशिक्षक क्लोपले अहिले नै सबै ठीक गरे भन्नु चाहिँ हतार हुन सक्छ।
आगामी मंगलबार लिभरपुलले एनफिल्डमा च्याम्पियन्स लिगअन्तर्गत अन्तिम १६ को पहिलो लेगमा रियाललाई आतिथ्यता गर्नेछ। क्लोप आफ्नो नेतृत्वमा दोस्रो पटक च्याम्पियन्स लिग जिताउने अभियानमा छन्। ६ पटक युरोपेली क्लब प्रतियोगिताको उपाधि विजेता लिभरपुलका लागि यस पटक रियाल बाधक नभए च्याम्पियन्स लिगको अर्को उपाधि यात्रा जारी रहनेछ। सन् २०१७/०१८ को च्याम्पियन्स लिग फाइनलमा लिभरपुललाई हराउँदै स्पेनिस जायन्ट रियालले उपाधि जितेको थियो। लगत्तै अर्को सिजन लिभरपुलले च्याम्पियन्स लिग उपाधि जितेको थियो।
सन् २०२१ को च्याम्पियन्स लिगमा पनि लिभरपुल क्वार्टरफाइनलमा रियालसँग पराजित भएको थियो। लिभरपुलले सन् २००९ देखि रियाललाई पराजित गर्न सकेको छैन। त्यस बेला अन्तिम १६ को खेलमा भने रियाल लिभरपुलसँग पराजित भएको थियो। गत वर्ष पनि फाइनलमा रियालसँग स्तब्ध भएपछि लिभरपुलका लागि सुखद रहेन। फाइनलमा जुनियर भिनिसियसले निर्णायक गोल गरेका थिए। लिभरपुल यस सिजनको एफए कप र लिग कपको उपाधि जित्ने सम्भावनाबाट बाहिरिसकेको छ। त्यसैले क्लोपका लागि च्याम्पियन्स लिगमा सफलता प्राप्त गर्नुको विकल्प हुने छैन।
त्यसका लागि उनी आफ्ना खेलाडीलाई मानसिक र शारीरिक रूपमा तयार पार्ने लक्ष्यमा छन्। क्लोपको टोलीको पछिल्ला समस्या रक्षापंक्ति हो। तर, लगातार क्लिनसिट राख्ने क्रममा क्लोपको टोलीले न्युक्यासलमाथि पनि सफलता प्राप्त गरेको थियो। जुन, सफलता गत अक्टोबरदेखि लिभरपुलले पाउने सकेको थिएन। ‘शतप्रतिशत सबै ठीक भइसक्यो भन्ने होइन। कतिपय पक्ष हामीले चाहेर पनि नियन्त्रणमा रहँदैन,’ क्लोपले भने, ‘तथापि, अहिले धेरै सुधार भइसकेको छ। फुटबल भनेको साइकल चलाउनु जस्तो पनि होइन। यहाँ कहिले तल या माथि भइहाल्छ।’
प्रकाशित: ९ फाल्गुन २०७९ ००:४७ मंगलबार