९ मंसिर २०८१ आइतबार
image/svg+xml
खेल

पोखरा अन्तर्राष्ट्रिय म्याराथनमा १६ देशका धावक दौडिदैं

नेपाली म्याराथनको इतिहासमै सर्वाधिक पुरस्कार राशीको पोखरा अन्तर्राष्ट्रिय म्याराथनमा २९ विदेशी धावकसहित नेपाली धावकले प्रतिस्पर्धा गर्ने छन। बिहीबार आयोजक भुतपुर्व खेलाडी मञ्च नेपालले पत्रकार सम्मेलन गर्दै म्याराथनमा १६ देशका २९ विदेशीसहित २ सय भन्दा बढी धावकले ‘पोखरा अन्तर्राष्ट्रिय म्याराथन’को टाईटल जित्न दौडिने छन।

‘२९जना विदेशी धावक छन्। केन्या, फ्रान्स, अमेरिका, बेलायत, भारत, अष्ट्रेलिया लगायतका देशका धावकको सहभागिता छ,’ मञ्चका अध्यक्ष हरिप्रसाद पराजुलीले भने, ‘पूर्वको तेह्रथुमदेखि पश्चिमको दार्चुलासम्मका धावकले प्रतिस्पर्धा गर्न पोखरा आएका छन्।’  

सिटी म्याराथनको अवधारणाबाट शुरु भएको पोखरा म्याराथन विस्तारै बयष्क बन्दै गएको छ। आगामी फागुन ६ गते शनिबार १७ औं संस्करणको म्याराथनलाई अन्तराष्ट्रिय म्याराथन सञ्जाल ‘एशोसिएसन अफ इन्टरनेशनल म्याराथन सोसाईटी’(एम्स)को मान्यता दिएको छ। मान्यता पाएसँगै अन्तर्राष्ट्रिय धावकको सहभागिता समेत उल्लेख्य बढेको उनको बुझाई छ। महिला तर्फको हाफ म्याराथनमा २० जना धाविकाले प्रतिस्पर्धा गर्ने उनले जानकारी गराए।  

मञ्चले यो वर्ष म्याराथनको रुट(बाटो) समेत परिवर्तन गरेको छ। पृथ्वीराजमार्गमा बढी दौडाउँदै आएको मञ्चले यो वर्ष भने राजमार्गलाई हटाउँदै भित्री बाटोलाई बढी प्राथमिकतामा राखेर रुट तय गरेको छ। लेखनाथ क्षेत्रमा परेको राजमार्गको रुटलाई अहिले पूर्ण रुपमा हटाएको छ। मुख्य बजार क्षेत्रदेखि पोखराकै भित्री सडकलाई रुटको रुपमा प्रयोग गरिएको उनको भनाई थियो। ‘हाईवेमा दौडाउँदा सवारीको समस्याले अहिले भित्री सडकमा रुट बनाईएको छ,’ मञ्चका अध्यक्ष पराजुलीको भनाई थियो।  

‘यो विश्वकै उत्कृष्ट म्याराथन हो। जहाँ ७ वटा मन्दिरलाई देख्न पाईन्छ। १७ वटा वडालाई छुन्छ’ नेपाल भुतपूर्व खेलाडी मञ्चका अध्यक्ष हरिप्रसाद पराजुलीले भने, ‘उत्कृष्टसँगै चुनौति पनि बढ्दै गएको छ।’ उनले पछिल्लो समय पोखरामा बढ्दै गएको सवारीले ट्राफिक जामको समस्या निम्त्याउने भन्दै त्यसको निराकरण गर्न सम्बन्धित निकायले ध्यान दिनुपर्नेमा जोड दिए।  

खुल्ला १० किलोमिटर पुरुष तर्फ ३ सय जनाले सहभागिता जनाएका छन्। महिला तर्फ १०० जनाले प्रतिस्पर्धा गर्ने छन्। त्यसैगरी पाँच किलोमिटर विद्यालयस्तरीय छात्रछात्रा तथा ह्वीलचियर र दृष्टिविहीन दौडलाई समेत इभेण्टको रुपमा मञ्चले विगतमा झैं समेट्दै आएको छ। सुजल डेरी प्रालिको उत्पादन सफल दूधले मुख्य प्रायोजन गर्दै आएको म्याराथन विजेताले  ५लाख रुपैयाँ प्राप्त गर्ने छ। द्वितीयलाई ३ लाख, तृतीयलाई २ लाख र सान्त्वना स्वरुप चौथो हुने धावकलाई ३० हजार प्रदान गरिने मञ्चले जनाएको छ। खुला म्याराथन तर्फ गण्डकी प्रदेशका खेलाडीहरुलाई प्रोत्सहान गर्न विजेतालाई ५०, उपविजेताले ३० र तेस्रो हुनेलाई २० हजार रुपैयाँ प्रदान गरिने छ।  

महिला हाप mम्याराथनले १ लाख ५० हजार, दोस्रो हुनेले १ लाख र तेस्रो हुने धाविकाले ७५ हजार रुपैयाँ पुरस्कार स्वरुप प्राप्त गर्ने छन्। १० किलोमिटर सडक दौड महिला तथा पुरुषले समान ३०, २०, १५ हजार नगद पुरस्कार प्राप्त गर्ने छन। ५ किलोमटिर छात्रछात्रा दौड विजेताले नगद १५, १० र ७ हजार रुपैयाँ प्राप्त गर्ने छन। दौड पोखरा रंगशालाबाट शुरु भई बजार परिक्रमा गरेर पोखरा रंगशालामै पुगेर टुंगिने छ।  

प्रकाशित: ४ फाल्गुन २०७९ ०९:०१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App