१९ पुस २०८२ शनिबार
image/svg+xml
खेल

नेपालद्वारा एकदिवसीय क्रिकेटकै ठूलो लक्ष्य पूरा

नेपालले नामिबियामाथि दुई विकेटको ऐतिहासिक जित निकाल्दा घरेलु मैदानमा सुरु त्रिकोणात्मक एकदिवसीय शृंखलामा पनि सुखद सुरुआत गरेको छ।

ओपनर कुशल भुर्तेलको शतक प्रेरणामा नेपालले आफ्नो एकदिवसीय क्रिकेटकै ठूलो लक्ष्य पूरा गर्ने क्रममा नामिबियालाई दुई विकेट हराएको हो। कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय (टियु) क्रिकेट मैदानमा नेपालले २ सय ८६ रनको लक्ष्य १४ बल बाँकी छँदा नै आठ विकेट गुमाएर पूरा ग¥यो र एकदिवसीय क्रिकेट इतिहासमा अहिलेसम्मकै ठूलो लक्ष्य भेट्टाउँदा घरेलु समर्थकलाई खुसी दियो। विश्वकप लिग–२ अन्तर्गत घरेलु मैदानमा नेपालले नामिबिया र स्कटल्यान्डको आतिथ्यता गर्दा सबैका लागि यो शृंखला बहुप्रतीक्षित थियो। सबैको चासो थियो पूर्वकप्तान सन्दीप लामिछानेको प्रदर्शन कस्तो रहला ?

किनकि बलात्कारको आरोपमा सन्दीपविरुद्ध मुद्दा विचाराधीन छ भने उनी ९९ दिन जेलजीवन बिताएर मैदान फर्किएका थिए। त्यसैले धरौटीमा छुटेका सन्दीपको प्रदर्शन कस्तो रहला भन्ने चासो हुनु स्वाभाविक रह्यो। यसबाहेक नेपाल एकदिवसीय मान्यता जोगाउन पनि संघर्ष गरिरहेको छ। एकदिवसीय मान्यता जोगाउन यस शृंखलामा सुखद नतिजा निकाल्न नेपालमाथि दबाब थियो। समर्थकका लागि मुख्य चासो रहेको दुई पक्ष नेपाल र सन्दीपको सुखद सुरुआत भयो। नेपालले ऐतिहासिक जित निकाल्दा १० ओभर बलिङ गरेका सन्दीपले तीन विकेट लिए।

सन्दीपले ११औं ओभरमा बलिङ गर्ने अवसर पाए। टियु मैदानमा उपस्थित समर्थकले हुटिङ गर्दै सन्दीपको समर्थन गरेका थिए। समर्थकको राम्रो साथ पाएका सन्दीपले दोस्रो बलमा नै विकेट लिँदै सुखद सुरुआत गरे। उनले नामिबियाका ओपनर कार्ल बिर्केनस्टकलाई १३ रनमा आउट गरे। तर, ब्याटिङ पिच देखिएको खेलमा नामिबियाका ब्याटर पूर्ण हाबी हुँदा सन्दीप महँगा साबित भइरहेका थिए। नामिबियाका ब्याटर हाबी भइरहँदा सन्दीपले ४९औं ओभरमा पुनः बलिङ गर्ने अवसर पाए।  

यो ओभरमा सन्दीपले दुई विकेट लिँदै कठिन परिस्थितिमा पनि सुखद नतिजा आत्मसात् गरे। करण केसीले सर्वाधिक पाँच विकेट तथा कुशल मल्ल र सोमपाल कामीले १÷१ विकेट लिए पनि नामिबियाले घरेलु टोलीसामु २ सय ८६ रनको चुनौतीपूर्ण लक्ष्य प्रस्तुत गर्यो। नामिबियाका माइकल भानले १ सय ३३ रनको यादगार शतकीय इनिङ खेले। ४७औं ओभरको अन्तिम बलमा करणद्वारा आउट भएका उनले १३७ बलमा ९ चौका र पाँच छक्का हिर्काए। नामिबियाका कप्तान जेरार्ड इराजमसले ५६ रन जोड्दै माइकललाई साथ दिए।  

त्यसपछि मध्यक्रमका जेन ग्रिनले ३४ रनको आक्रामक इनिङ खेल्दै नामिबियालाई विशाल योगफलतर्फ अग्रसर गराए। विशाल लक्ष्य पछ्याएको नेपालको सुरुआत राम्रो हुन सकेन। पहिलो ओभरमा तीन वाइडबाट खाता खोलेको नेपालले दोस्रो ओभरको पाँचौं बलमा ओपनर आसिफ सेखलाई शून्यमा नै गुमाउनपुग्यो। त्यसपछि भने नेपाली ब्याटरले धैर्यतापूर्वक ब्याटिङ गरे। अर्का ओपनर कुशल भुर्तेलले इनिङको अन्त्यसम्म ब्याटिङ गर्दै नेपाललाई जिततर्पm अग्रसर गराए। नेपालका कप्तान रोहित पौडेलले ७२ रनको इनिङ खेल्दै कुशललाई दरिलो साथ दिए।  

यस क्रममा रोहित नेपालको तर्फबाट एक हजार रन पूरा गर्ने पहिलो ब्याटर बने। रोहित र कुशलले तेस्रो विकेटका लागि १ सय ३३ रनको साझेदारी गरे। जुन नेपालका लागि अहिलेसम्मकै ठूलो साझेदारी पनि हो। रोहित तेस्रो विकेटका रूपमा ३४औं ओभरमा आउट भएका थिए। नेपाललाई जितका लागि तीन रन आवश्यक हुँदा कुशल ४८औं ओभरमा आउट भए। यस क्रममा कुशलले १ सय १३ रन जोड्दा १० चौका र तीन छक्का हिर्काए। त्यसअघि सन्दीप जोराले २८ रन र करणले २० रनको आक्रामक इनिङ खेल्दै नेपालको इनिङमा दरिलो साथ दिए।  

नटआउट रहेका करणले १२ बलमा एक चौका र दुई छक्का हिर्काए। यो जितसँगै नेपालले २५ खेलमा २० अंक जोड्यो। सात टोली रहेको लिग–२ मा नेपाल छैटौं स्थानमा यथावत् छ। पराजित नामिबिया भने ३१ खेलमा ३७ अंकसहित तेस्रो स्थानमा यथावत् छ। लिग ‘टु’ मा स्कटल्यान्ड ३२ खेलमा ४६ अंकसहित शीर्ष स्थानमा छ। ३६ खेलमा ४४ अंकसहित ओमान दोस्रो स्थानमा छ।  

अमेरिका ३६ खेलमा ३५ अंकसहित चौथो स्थानमा, युएई २६ खेलमा २७ अंकसहित पाँचौं स्थानमा छन्। पपुवा न्युगिनी २८ खेलमा ५ अंक बटुल्दै सातौं स्थानमा छ। नेपालले अब १२ खेल खेल्न बाँकी छ र त्यसमध्ये कम्तीमा ९ खेल जितेमा एकदिवसीय मान्यता जोगाउन सक्छ। नेपालले आगामी शुक्रबार शृंखलाको दोस्रो खेलमा शीर्ष टोली स्कटल्यान्डको सामना गर्नेछ।  

प्रकाशित: ३ फाल्गुन २०७९ ००:२२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App