२१ आश्विन २०८१ सोमबार
image/svg+xml
खेल

भारतीयको सहयोगमा हेल्प उत्साही

काठमाडौं- चार भारतीय खेलाडीको साथमा एनभिए कप राष्ट्रिय महिला तथा पुरुष भलिबलको तेस्रो संस्करण खेलिरहेको हेल्प नेपाल स्पोर्टस क्लबलमाथि त्रिभुवन आर्मी क्लबले कठिन जित पाएको छ। आर्मीले हेल्प नेपाललाई १९–२५, ३२–३०, २५–१७, २५–१९ ले हरायो। सुरुआती सेट हेल्प नेपालले सहजै जित्यो। भारतीय खेलाडी सुबे सिंह, विकास कुमार, नवीन बलियन र शुभम चौधरीले नेपाली समर्थक उत्साही पार्ने प्रदर्शन गरेतर उनीहरूले टोलीलाई जित दिलाउन सकेनन्।

स्पाइकमा बलियो प्रदर्शन गरे पनि हेल्पको डिफेन्स र टिम समन्वय सुरुआत मिल्न सकेन, जुन हारको मुख्य कारण बन्यो। आर्मीको डिफेन्स र टिम स्पिरिट बलियो थियो। तर आर्मीको खेलाडीले कोर्टमा खुलेर खेल्न सकेका थिएनन्। भारतीय खेलाडीको ब्लकलाई उछिन्न नसकेपछि आर्मी टोली नर्भस भएको थियो। तर दोस्रो सेटमा भने आर्मी खेलमा फर्कियो।

१ सय रुपैयाँको टिकट काटेर खेल हेर्न कभर्ड हल पुगेको दर्शकले रोचकसँग दोस्रो सेट हेर्न पाए। आर्मीले दोस्रो सेट जित्न ३२–३० सम्म कुर्नुपरेको थियो।उक्त सेट जारी प्रतियोगिताकै एकदमै प्रतिस्पर्धात्मक बन्न पुग्यो।

हेल्प नेपालले भारतीय खेलाडीलाई हवाई टिकटको सुविधा दिँदै नेपाली भलिबलको क्लब च्याम्पियनसिप खेल्न बोलाएको हो। हेल्प नेपालका व्यवस्थापक अरुण श्रेष्ठले खेल हारेपनि टोलीले उत्कृष्ट प्रदर्शन गरेको बताए। उनले भने, 'लिबेरो नर्भस हुँदा रिसिभ र डिफेन्समा समस्या भयो। हामी स्पाइक र ब्लकमा उत्कृष्ट छौं। तर नेपाली खेलाडी र विदेशीको समन्वय मिल्न सकिरहेको छैन।'

आगामी खेलमा हेल्प नेपालबाट खेल्नका लागि स्पाइकर राम श्रेष्ठ आउने व्यवस्थापक श्रेष्ठले बताए। उनले थपे, 'राम उत्कृष्ट ओपन स्पाइकर हो। उनी आएपछि हाम्रो टोली थप बलियो हुन्छ। अझै हाम्रो सम्भावना बाँकी छ फाइनल पुग्न। हामी फाइनल पुग्ने लक्ष्यसहित खेलिरहेका छौं।'

हेल्प नेपालले अब क्वार्टरफाइनलमा नेपाल पुलिस क्लबसँग खेल्नेछ। आर्मीले मणिमुकुन्द क्लबसँग खेल्नेछ। आर्मीका प्रशिक्षक जगदीश भट्टले हेल्प नेपालविरुद्धको खेल फाइनलसरह भएको बताए। उनले भने, 'उनीहरू व्यक्तिगत खेलमा उत्कृष्ट हुन्। तर टिम समन्वय थिएन। त्यसैले हामीलाई खेल जित्न सहज भयो।'

भट्टले थपे, 'भलिबलमा सबै खेलाडीको भूमिका बराबरी हुन्छ तर उनीहरूको एउटै खेलाडीलाई धेरै भार थियो। त्यस्तो अवस्थामा हामीले चलाखीपूर्ण रूपमा खेल्यो।' आर्मीका कप्तान हरिहजुर थापाले जितबाट टोलीको मनोबल बढेको बताए।

अन्य खेलमा अन्य विभागीय टोली नेपाल पुलिस क्लब र एपिएफले पनि जित हात पारे। क्वार्टरफाइनलमा पुगेको एपिएफले लिगको अन्तिम खेलमा बुढानीलकण्ठ भलिबल क्लबलाई २५–२०, २५–१८, २५–१६ ले हरायो।

पुलिसले बुटवलको मणिमुकुन्द क्लबलाई २५–२०,२५–२२,२५–१८ ले हरायो। पश्चिमाञ्चलले नयाँबजार भलिबल संघलाई २५–२१, २५–१७, २६–२४ ले हराउँदै क्वार्टरफाइनलमा पुगेको छ।

महिलातर्फ क्वार्टरफाइनलमा पुगेको आर्मीले प्रगतिशील युथ क्लबलाई २५–६,२५–९,२५–८ ले हरायो।

प्रकाशित: ३१ भाद्र २०७३ ०२:३३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App