१९ असार २०८१ बुधबार
image/svg+xml
खेल

बजाज युथ सेमिफाइनलमा

फाइल तस्वीर

सुनसरीको फूलबारी क्रिकेट क्लबलाई हराउँदै सप्तरीको बजाज युथ एकेडेमी चौथो संस्करणको मिथिला कप ट्वान्टी–२० क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ।

यसअघि कलैया क्रिकेट क्लबले सेमिफाइनलमा स्थान बनाइसकेको छ। राजविराज विष्णुपुरस्थित महेन्द्र विन्देश्वरी बहुमुखी कलेजको मैदानमा शुक्रबार भएको दोस्रो क्वार्टरफाइनलमा १ सय ३० रनको लक्ष्य पछ्याएको फूलबारीले निर्धारित २० ओभरमा आठ विकेटको क्षतिमा १ सय २१ रन मात्र जोडेपछि बजाज युथले साँघुरो जितसहित सेमिफाइनलमा स्थान बनायो। फूलबारीको लागि राकेश सोनीले सर्वाधिक २७ रन, रविन मण्डलले २२ तथा समीर तिम्सिनाले अविजित २० रन बनाए पनि जित पर्याप्त भएन।

बजाज युथका बलर मिकु मण्डलले सर्वाधिक तीन विकेट लिए। उनले चार ओभरमा २५ रन खर्चिए। नीतेश यादवले दुई तथा मोहम्मद हुसेन र विपिन खत्रीले १/१ विकेट लिए। त्यसअघि टस जितेर ब्याटिङ रोजेको बजाज युथले २० ओभर ब्याटिङ गर्दै सात विकेटको क्षतिमा १ सय २९ रनको मध्यम योगफल बनायो। बजाज युथका लागि प्लेयर अफ द म्याच घोषित विराट डाँगीले सर्वाधिक ४१ रन जोडे। उनले ३३ बलमा एक चौका र तीन छक्का प्रहार गरे। पप्पु यादवले २७ बलमा तीन छक्कासहित अविजित २७ रन बनाए।

५४/६ को अवस्थामा डाँगी र यादवले सातौं विकेटको लागि ६१ रनको साझेदारी गरे। त्यसअघि ओपनर विशाल यादवले २९ रन जोडे। फूलबारीको बलिङमा सोनु मण्डल, समीर तिम्सिना, सिभान यादव, आशिष मण्डल र प्रकाश कार्कीले समान एक विकेट लिए।

शनिबार हुने एक मात्र खेलमा सप्तरीको एसके स्पोर्ट्स र सर्लाहीको जेवाइसीबीच प्रतिस्पर्धा हुनेछ। युवा शक्ति क्लबद्वारा आयोजित नकआउट प्रतियोगितामा १६ टोली सहभागी छन्। प्रतियोगिताको विजेताले एक लाख रूपैयाँ प्राप्त गर्नेछ ।

प्रकाशित: २१ माघ २०७९ ०१:२७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App